Tuesday, July 14, 2026
spot_img

घोषणापत्रः कांग्रेस नीतिगत सुधारमा केन्द्रित हुँदा रास्वपा उदारवादी, एमाले र नेकपा कता ?

spot_img

फागुन २१ को निर्वाचनका लागि दलहरुले आ–आफ्ना घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरेका छन् । कतिपय दलले विगतकै शैली र नारासहित घोषणापत्र सार्वजनिक गर्दा केही दलले भने नयाँपन र बद्लिँदो अवस्थालाई ध्यान दिएको छनक देखाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी घोषणापत्र हेर्दा अर्थतन्त्रसँग सम्बन्धित विषयहरु सबैले समेटेका छन् । तर, एमाले र नेकपाको घोषणापत्र विगतकै शैली र केवल नाराले मात्रै भरिएको छ ।

‘पैसा बाँड्ने’ कार्यक्रम एमालेको प्राथमिकतामा

नेकपा एमालेले रेल, पानी जहाज र घर घरमा ग्यासको पाइप जस्ता उडन्ते योजना यसपाली लेखेन । बरु, मत तान्ने हेतुले उसले पैसा बाँड्ने कार्यक्रमहरु घोषणा गरेको छ । युवालाई मासिक १० जिबी इन्टरनेट डाटा दिने, विदेश गएकाहरुको खातामा ५ हजार बचत गरिदिने, ऋण मिनाहा गरिदिने जस्ता राज्य कोषमा भार थप्ने कार्यक्रम एमालेले आफ्नो निर्वाचन घोषणापत्रमा समेटेको छ ।

यस्तै, २० हजार रुपैयाँ सुत्केरी भत्ता र घरदेखि अस्पतालसम्मको यातायात खर्च दोब्बर गरिने विषय पनि पैसा बाँड्ने घोषणा मात्रै हो ।

एमालेले सुन्दा सकारात्मक लाग्ने तर, कार्यान्वयन जटिल रहेका दुइ कार्यक्रम पनि घोषणा गरेको छ । विद्यार्थीलाई २० लाखसम्म र महिला उद्यमीलाई २० लाखसम्म बिना ब्याज ऋण । सर्टिफिकेट धितोमा ऋण दिने भनिएजस्तै यी दुबै कार्यक्रम कार्यान्वयन हुन जटिल छ ।

५ वर्षमा अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने, १० वर्षमा २०० खर्ब पुर्‍याउने, वार्षिक ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विषय भने विगतदेखि नै उठ्नै आएका विषय हुन् । विगतमा ७ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल भइसकेको हुनाले उक्त लक्ष्य सकारात्मक नै रहेको अर्थशास्त्रीहरु बताउँछन् ।

त्यस्तै, अर्थतन्त्रको उद्योग क्षेत्रको योगदान २० प्रतिशत पुर्‍याउने, सूचना प्रविधि क्षेत्रबाट १० रोजगारी सिर्जना गर्ने, गैरआवासीय नेपालीलाई मातृभूमीको विकासमा जोड्ने विषय सकारात्मक नै रहेको अर्थविद्हरुको टिप्पणी छ । ५ वर्षभित्र न्यूनतम् पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने विषय पनि स्वभाविका नै रहेको उनीहरुको तर्क छ । तर, त्यतिबेलासम्म हुने मूल्यवृद्धिको तुलनामा २५ हजार रुपैयाँ कम हुने उनीहरु बताउँछन् ।

नीतिगत सुधारमा केन्द्रित ‘कांग्रेस’

नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमा नीतिगत सुधारका विषयलाई केन्द्रित गरेको छ । १० वर्षसम्म करका दरहरु स्थिर राख्ने, क्राउड फण्डिङ र भेन्चर क्यापिटललाई कानूनी मान्यता प्रदान गर्ने, व्यक्तिगत आयकरको अधिकतम् सीमा २५ प्रतिशतमा सिमित राख्ने जस्ता विषयहरु महत्वपूर्ण नीतिगत सुधारका विषय हुन् । जबकी, अहिले व्यक्तिगत आयकरको अधिकतम् सीमा ३९ प्रतिशत छ ।

यस्तै, निर्यात बढाउँदै लैजाने र ५ वर्षभित्र निर्यात र आयातको अनुपात २०ः८० बनाउने भनेको छ । अहिले वैदेशिक ब्यापारमा निर्यात–आयात अनुपात १०ः९० प्रतिशत छ । कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा कुनै महत्वकांक्षी लक्ष्य नराखी अहिले तुलनामा निर्यात दोब्बर गर्ने भनेको छ । विश्व बैंककै अध्ययनले पनि नेपालले थोरै मात्रै पहल गर्दा हालको तुलनामा दोब्बर निर्यात सहजै गर्न सक्ने भनिसकेको छ ।

अर्कोतर्फ, नेपाली कांग्रेसले एमालेले भन्दा एक कदम अगाडि बढेर ५ वर्षमा अर्थतन्त्रको आकार ११५ खर्ब पुर्‍याउने भनेको छ । प्रतिव्यक्ति आय पनि २५ सय डलर कुनै महत्वकांक्षी लक्ष्य होइन । किनकी, अहिले नै १५ सय डलर पुगिसकेको छ । अबको ५ वर्षमा थप हजार डलर थप्ने लक्ष्य स्वभाविक नै रहेको अर्थतन्त्रका जानकारहरु बताउँछन् ।

बिना धितो वा बिना ब्याज भन्दा पनि कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धन गर्न परियोजना धितोमा ५ देखि ५० लाखसम्म ऋण दिने प्रावधान लागू गर्ने जनाएको छ । ऊर्जातर्फ, ५ वर्षभित्र विद्युतको जडित क्षमता १४ हजार मेगावाट पुर्‍याउने कांग्रेसको घोषणा छ ।

अर्थतन्त्र ‘प्रो प्राइभेट’, ‘प्रो ग्रोथ’ र ‘प्रो सोसियल जस्टिस’मा आधारित रहने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ । यसको आधारमा कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य जग मान्दै सरकार कानूनी र नीतिगत सहजकर्ता मात्रै भएको प्रष्ट सन्देश दिएको छ ।

उदारवादी पथमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले बाचापत्रमा आफूलाई पूर्णरुपमा उदारवादी अर्थतन्त्रको पक्षमा उभ्याएको छ । विगतमा ‘रास्वपाको आर्थिक नीति र दृष्टिकोण के हो ?’ भन्ने प्रश्न आउने गरेमा यसपटक भने रास्वपाले आफूलाई खुला बजार अर्थतन्त्रको पक्षपाती प्रमाणित गरेको छ ।

निजी क्षेत्रसँग समझदारी कायम गर्ने, निजी क्षेत्रले खारेज गर्न सुझाव दिएका २ दर्जन कानूनहरु खारेज गर्ने जस्ता विषय उसले बाचापत्रमा समावेश गरेको छ । वार्षिक ७ प्रतिशतको स्थिर आर्थिक वृद्धिहर हासिल गर्ने रास्वपाको लक्ष्य महत्वकांक्षी नभई स्वभाविक देखिन्छ ।

प्रतिव्यक्ति आय ५ वर्षभित्रमा ३ हजार डलर पुर्‍याउने, १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने, सूचना प्रविधिको निर्यातमार्फत १० वर्षमा ३० अर्ब डलर भित्र्याउने र सूचना प्रविधिबाट मात्रै ५ वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने उसले लक्ष्य लिएको छ ।

१० वर्षमा विद्युतको जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य भने निकै महत्वकांक्षी देखिएको छ । यस्तै, ५० करोड माथिको कारोबार गर्ने सहकारी संस्थालाई राष्ट्र बैंकको नियामन क्षेत्राधिकारमा राख्ने विषय पनि विगतदेखि उठ्दै आएका विषय हुन् ।

अलमिलएको नेकपा

नेपाली कम्युष्टि पार्टी (नेकपा)ले भने उद्यम, रोजगारी र निजी क्षेत्रको विकासबारे प्रतिवद्धता पत्रमा खासै उल्लेख गरेको छैन । बरु, उसले सिमित घरानाले मात्रै बैंकको पैसा चलाइरहेका छन् भन्दै मझौला र सना कर्जाको लक्ष्य तोक्ने उद्घोष गरेको छ ।

लगानी, उद्योगी र व्यवसायीको कुरा नगरे पनि नेकपाले १० प्रतिशत माथिको वार्षिक आर्थिक वृद्धिदर हासिल गर्ने भनेको छ ।

संघीय बजेटको ६० प्रतिशत रकम/कार्यक्रम प्रदेश र स्थानीय तहबाट परिचालन गर्ने, ५ वर्ष भित्रमा ३० प्रतिशत नयाँ कर्मचारी भर्ना गर्ने, गरिबीको दर २०.१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने नेकपाको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

जमिन, नदी, वन, खजि र जैविक स्रोतलाई उत्पादनमूलक प्रयोगमा ल्याई युवालाई रोजगारी दिने र २ वर्ष भित्रमा खाद्यान्नमा आत्मनिर्भर बन्ने नेकपाको प्रतिवद्धता छ । तर, उद्यमशीलता, व्यवसायिकता र रोजगारीका विषयमा खासै नबोलेको नेकपाले हिमाल समृद्धि कार्यक्रम र मधेशमा विशेष आर्थिक प्याकेज उपलब्ध गराउने घोषणा भने गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img