सरकारले दोस्रो पटक ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ सुरु गर्ने भएको छ । मुलुकको आर्थिक अवस्था यकिन गरी सार्वजनिक गर्नका लागि सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको हो ।
राष्ट्रिय आर्थिक गणनाको तथ्यांक संकलन आउँदो असार सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको तथ्यांक कार्यालयले जनाएको छ । यसका लागि जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएनेछ । २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म देशैभर तथ्यांक संकलनको काम गरिनेछ ।
कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेका अनुसार गणनाबाट प्राप्त विवरणका आधारमा नयाँ आर्थिक वर्ष २०८३/०८४ को सुरुदेखि नै नतिजाहरू क्रमशः सार्वजनिक गरिने छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गरिने छ ।
सरकारले २०७५ सालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना सम्पन्न गरेको थियो । उक्त तथ्यांकअनुसार देशैभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसायहरू रहेको र तिनमा ३२ लाख २८ हजार ४५७ मानिसहरू संलग्न रहेको विवरण सार्वजनिक भएको थियो ।









