Sunday, June 14, 2026
spot_img

न्यून आय भएकालाई लघुबीमा

spot_img
spot_img

चिरायु भण्डारी

जुन हिसाबले बीमा क्षेत्र अघि बढ्नुपर्ने थियो, त्यो हिसाबले अघि बढ्न सकेको छैन । अर्थतन्त्रमा आएको शिथिलता, आर्थिक मन्दीले सबै क्षेत्र प्रभावित भएका छन् । सबै क्षेत्र प्रभावित हुँदा ती क्षेत्रको बीमा गर्ने बीमा क्षेत्र पनि स्वाभाविक रुपमा नै प्रभावित भएको छ । बीमाको दायरा पनि घट्दै गएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
अर्थतन्त्र शिथिल हुँदा आम मानिसको आय स्रोत घटेको छ, मानिसहरु वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा विदेश गईरहेका छन् । देशमा रहने मानिसहरु नै घट्ने भएपछि बीमा गर्नेको संख्या स्वतः घटेर बीमा व्यवसाय घट्छ । नेपालमै बसेर आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्नेहरु धेरै हुँदा, नयाँ उद्योग स्थापना हुँदा बीमा क्षेत्रको पनि व्यवसाय बढ्ने हो । अहिले यी दुवै अवस्था नरहेकोले बीमा बजारको गति बढ्न सकेको छैन । अर्थतन्त्र चलायमान भएपछि मात्र बीमा बजारले पनि गति लिने देखिन्छ ।

अर्थतन्त्र चलायमान हुन थाल्दैमा बीमाको दायरा भने बढ्दैन । हामीसँग जोखिम व्यवस्थापनको लागि पर्याप्त नीति र कानुन नै छैन । जोखिम व्यवस्थापनमा स्थानीय तहलाई पनि समावेश गर्नुपर्छ । बीमा गरेपछि जोखिम जति सबै बीमा कम्पनीले वहन गर्छ भनेर हुदैन । स्थानीय तहहरुले पनि संरचना बनाएर जोखिम न्यूनीकरणको लागि भूमिका खेल्यो भनेमात्र बीमा कार्यक्रम प्रभावकारी हुन्छ ।

अहिले सरकार नै बीमा नबुझेको अवस्था छ । सरकारलाई बीमा बुझाउन सकिएको छैन । खर्बौँ रकमको सम्पति छ तर ती सम्पतिको बीमा गरिएको छैन । वि.सं. २०७२ सालमा भूकम्प जाँदा देशको प्रशासनिक केन्द्र सिंहदरबार लगायत धेरै भवनहरुमा क्षति भयो । यदि बीमा गरेको भए बीमाबाट आउने रकमले केही न केही राहत हुन्थ्यो । यो कुरा अझैपनि बुझाउन सकिएको छैन ।

बजेट र बीमा
सरकारले आर्थिक वर्ष २०८१÷८२ को लागि लागि ल्याएको बजेटमा बीमालाई खासै प्राथमिकता दिएको देखिँदैन । न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आबद्ध गराउँदै लगिने उल्लेख छ । तर, यस्ता विषय कार्यान्वयन नै हुँदैन र यसमा सरकारी तवरबाट कुनै काम नै हँुदैन । यो कार्यान्वयनको लागि कहा–कहाँ सहुलियत दिने, कुन सरकारको भूमिका के हुने भन्ने प्रष्ट रुपमा आउनुपथ्र्यो । स्थानीय सरकारसँगको सहभागितामा मात्र लघुबीमा कार्यक्रम सफल हुन सक्छ । उदाहरणको लागि केही कारणले कसैको मृत्यु भयो भने सम्बन्धित पालिकाले मृतकको परिवारलाई क्षतिपूर्ति, किरिया खर्चलगायत शीर्षकमा केही रकम दिन्छ । तर, त्यसो नगरी यदि पालिकाले समन्वय गरेर ती व्यक्तिको बीमा गरेको भए त्योभन्दा कम रकममा बीमा हुन्थ्यो र मृतकले पालिकाले दिनेभन्दा बढी रकम पाउनुपथ्र्याे । लघुबीमालाई यो मोडलमा लैजान आवश्यक छ । यसको लागि बजेटमा पालिकाले गर्ने सहजीकरणबारे आउनुपर्ने थियो ।
नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने भनेर बजेटमा लेखिएको छ । यी विषय हरेकजसो बजेटमा हुन्छन्, तर कार्यान्वयन हँुदैनन् ।

बीमा दायरा बढाउन लघुबीमाको भूमिका
न्यून आय भएका व्यक्तिहरु, सीमान्तकृत, पिछडिएका र गरिबीको रेखामुनि रहेका वर्गलाई बीमा पहुँच पु¥याउन लघुबीमा अवधारणाको विकास गरिएको हो । हाल ३ वटा जीवन र ४ वटा निर्जीवन गरी जम्मा ७ वटा लघुबीमा कम्पनी संचालनमा छन् । यी ७ वटा लघुबीमा छुट्टाछुट्टै प्रदेशमा सञ्चालनमा छन् ।

लघुबीमाले न्यून बीमाशुल्कमा बढीभन्दा बढी सुविधा प्रदान गर्दछ । मजदूर, किसान जो आर्थिक रुपमा पिछडिएका छन् र बीमाको दायरामा पुग्न सकेका छैनन्, तिनिहरुका लागि लघुबीमा योजना ल्याईएको हो । सानो बीमाशुल्क तिरेर पनि उनीहरु बीमाको पहुँचमा पुग्न सक्छन् ।

अहिले हामीले देशभरका ७५३ वटै स्थानीय तहमा लघुबीमाको प्रकृति, हाम्रो काम र प्रभावकारिताबारे जनचेतना फैलाउने काम गर्दैछौँ । हामीले इमेलमार्फत, सामाजिक संजालमार्फत, र कतिपय स्थानमा आफै पुगेर बुझाउने काम गर्दैछौँ । त्यस्तै हामीले लघुवित्तको नेटवर्क, एनजीओ नेटवर्कमार्फत पनि विभिन्न कार्यक्रम गरिरहेका छौँ । नेपाल बीमा प्राधिकरणले पनि प्रादेशिक तहमा पुगेर विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको बेला हामीपनि सहभागी भएर काम गरिरहेका छाँै ।

अहिले दूर्गमभन्दा दूर्गम क्षेत्रमा पनि इन्टरनेटको पहुँच पुगेको अवस्था छ । त्यही कारण गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पूर्णरुपमा डिजिटल सिस्टम ल्याएको छ । जसमा बीमा गर्न चाहने व्यक्तिहरुले आफ्नो मोबाइलबाट केही मिनेटमै बीमा गर्न सकिने सुविधा छ । मोबाइल एपबाट जुनसुकै दिनमा, जुनसुकै समयमा अनलाइनबाट बीमा गर्न सकिन्छ । ल्याप्चे लगाउनु पर्दैन, हस्ताक्षर पनि पनि गर्नुपर्दैन । सबै कुरा डिजिटल माध्यमबाट नै हुन्छ । बीमकले अधिकतम ५ लाख रुपैयाँसम्म बीमांक रकमको मात्र बीमालेख जारी गर्नसक्छ । गार्डियनमा २९ लाख वर्षसम्मको व्यक्तिले वार्षिक १३१ रुपैयाँ प्रिमियममा १ लाखको बीमा गर्न सकिन्छ । अन्य लघुबीमा कम्पनीले पनि सस्तो प्रिमियममा बीमा योजना ल्याईरहेका छन् ।

बीमा बुझाउन कठिन विषय हो । त्यसमाथि पनि निम्न आयस्रोत भएकाहरुलाई बीमा बुझाउनु चुनौतीपूर्ण छ । त्यसैले सरकारले नै बीमा गर्न प्रोत्साहन गर्नुपर्छ । बीमा गर्दा यी सेवा सुविधा पाइन्छ, यस्तो खालको फाइदा हुन्छ, यस्तो छुट हुन्छ भनेर सरकारले नै क्रमशः बीमालाई अनिवार्य गर्दै लैजानु पर्छ । नेपालमा बीमा सुरु भएको ६० वर्ष भइसक्दासम्म आधा जनसंख्यामा पनि बीमाको पहुँच छैन । बीमा अनिवार्य नगरिए बीमाको पहुँच बढ्न कठिन छ । बीमा पहुँच बढाउन नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी, स्थानीय तह सबैको सामुहिक सहकार्य आवश्यक छ ।

बीमा अपराध
बीमा अपराध बढ्ने जनचेतनाकै अभावले हो । जुनसुकै देशमा यस्ता ‘इन्स्योरेन्स क्राइम’हरु भएको भेटिन्छ । तर, कति अनुपातमा यस्ता घटना भएका छन् भन्ने हेर्नुपर्छ । साथै त्यस्ता घटना कम गर्नको लागि विभिन्न कदमहरु चाल्नुपर्छ । बीमा अपराधको कारबाही गर्ने अधिकार बीमाकै नियामक अर्थात् नेपाल बीमा प्राधिकरणलाई दिएपनि केही हदसम्म यस्ता अपराध कम गर्न सकिन्छ । अहिले यस्तो अपराध गर्नेलाई फौजदारी मुद्दाअन्तर्गत नेपाल प्रहरीले हेर्ने हुँदा प्राधिकरणलाई कठिन भईरहेको छ ।

कम्पनीले आफ्नो व्यवसाय बढ्दै गएपछि त्यसैअनुरुप आवश्यकताको आधारमा पूँजी बढाउनुपर्छ । सबैलाई समान चुक्ता पूँजी अनिवार्य गरिनु हुँदैन ।

बीमाप्रतिको अविश्वास
अहिले बीमाप्रति अविश्वास बढ्दै गएको साँचो हो । तर, यसमा नेपाल सरकारकै कमजोरी छ । अहिले बीमा कम्पनीहरुले कृषि तथा पशुपंक्षी बीमा र कोरोना बीमा बापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । बीमा कम्पनीले नै नपाएपछि बीमितलाई दिन सकिएको छैन । यही कारणले नै बीमाप्रति अविश्वास बढेको हो । यदि सरकारले कृषि बीमामा उसले कबुल गरेको प्रिमियम बापतको रकम दिन सक्दैन भने अबदेखि सरकारले दिँदैन, शतप्रतिशत नै कृषकले बेहोर्नुपर्छ भनेर प्रष्टरुपमा भनिदिनु प¥यो । यसो हुँदा बीमा कम्पनीले शतप्रतिशत प्रिमियम लिएर बीमा गर्छन् र समस्या नै हुँदैन । यदि नेपाल सरकारले दिने हो भने समयमा दिनुप¥यो ।

त्यस्तै कोरोना बीमामा नेपाल सरकारकै कारण समस्या भएको छ । नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले हाल्नुपर्ने रकम हालिसके । अब सरकारले दिन्छु भनेर सम्झौता गरेको रकम नदिएर समस्या भएको हो । मुख्यतः यही दुई प्रकरणले आम जनमानसले बीमाप्रति अविश्वास देखाएको अवस्था छ । यो समस्या नै नेपाल सरकारले निकालेकोले समाधान पनि सरकारले नै निकाल्नुपर्छ ।
नेपालमा जीवन बीमा महँगो भयो पनि भनिन्छ । अहिले नेपालमा जीवन बीमा गर्नको लागि तय गरिएको दर सन् २००९ को औसत आयुको आधारमा निकालिएको दर हो, जुनबेला औसत आयु ६० वर्ष हाराहारी थियो । तर, अहिले औसत आयु बढेर ७२÷७३ वर्ष हाराहारी पुगेको छ । यसलाई पछिल्लो औसत आयुको आधारमा परिमार्जन गर्नुपर्ने बेला भएको छ । परिमार्जन गर्दा प्रिमियम दरहरु केही घट्ने सम्भावना रहन्छ ।

बीमाको चुक्ता पूँजी
पछिल्लो समय वाणिज्य बैंकहरु धेरै चुक्ता पूँजीले थलिए भन्ने गरिएको छ । अहिले बीमा प्राधिकरणले पनि जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीलाई पनि चुक्ता पूँजी बढाउ भनिरहेको अवस्था छ । पूँजी बढाउनु भनेको कम्पनीको ‘स्ट्रेन्थ’ बढाउनु हो । पूँजी बढाउनु बेठीक होइन तर प्रिमियमको हिसाबमा बढाउनुपर्ने थियो । बीमा कम्पनीको हकमा चुक्ता पूँजीको ५ गुणा प्रिमियम संकलन हुनुपर्ने अन्तराष्ट्रिय अभ्यास छ । तर, नेपालमा चुक्ता पुँजीको तुलनामा प्रिमियम संकलन २ गुणा पनि छैन । प्रिमियम संकलन नभईकन चुक्ता पूँजी बढाउँदै जानु उचित हँुदैन । अर्थात्, कम्पनीले आफ्नो व्यवसाय बढ्दै गएपछि त्यसैअनुरुप आवश्यकताको आधारमा पूँजी बढाउनुपर्छ । सबैलाई समान चुक्ता पूँजी अनिवार्य गरिनु हुँदैन । बीमा प्राधिकरणले ‘रिस्क बेस्ड क्यापिटल’ कार्यान्वयन गर्दैछ, त्यसले राम्रो गर्छ । अहिलेकै अवस्थामा नेपालको बजारलाई जीवन, निर्जीवन, पुनर्बीमा कुनैपनि थप कम्पनी आवश्यक छैन ।

चिरायु भण्डारी नेपाल लघुबीमक संघका अध्यक्ष तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।यो लेख बिजनेश पाना त्रैमासिक म्यागेजिनको पहिलो अङ्कबाट साभार गरिएको हो । 

spot_img
spot_img
चिरायु भण्डारी
चिरायु भण्डारीhttps://businesspana.com
अध्यक्ष, नेपाल लघुबीमक संघ
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img