Tuesday, June 9, 2026
spot_img

सुस्ताएको अटो बजार र मौद्रिक नीतिप्रतिको अपेक्षा

spot_img
spot_img

आकाश गोल्छा 

अटोमोबाईल क्षेत्र विगत केही वर्षदेखि निकै सुस्ताएको छ । कोभिड–१९को कारणबाट सिर्जित समस्या र त्यसपछि विदेशी मुद्राको सञ्चितिमा दबाव आएको कारण देखाएर आयात रोकियो । त्यस यता अटोमोबाइल क्षेत्र पहिलाको अवस्थामा फर्किनसकेको छैन ।

यस्तो अवस्थामा हामीले गाडी तथा अटोमोबाइल कम्पोनेन्टहरुमा कर तथा राजस्व नबढाउन अपिल गरेका थियौँ । तर, सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट इलेक्ट्रिक भेहिकलमा १० प्रतिशत कर बढाईदियो । पेट्रोल डिजेल गाडीमा पहिले नै निकै धेरै कर थियो, अहिले फेरी सडक कर २ प्रतिशतले बढाईयो । यसअघि ठूलो गाडीमा १० प्रतिशत सडक कर थियो, अरुमा ८ प्रतिशत थियो । अहिले सबैमा १० प्रतिशत बनाईयो । यसै त गाडी बिक्री नभईरहेका बेला यो २ प्रतिशतले पनि निकै ठूलो प्रभाव पर्ने अवस्था बनेको छ ।

अहिले बजारमा माग पक्ष कमजोर छ । जबकि, अर्थतन्त्रलाई चलायमान बनाउन हरेक वस्तुको माग बढाउने अर्थात् किन्ने क्रम बढाउने खालको नीति चाहिन्छ । यसको अर्थ खर्च बढाउनुपर्छ । सरकारले खर्च गरेर जनताको हातमा पैसा पुग्ने वातावरण बनाएपछि जनताले पनि खर्च गर्छन् । यसका लागि सरकारले पूर्वाधार विकासका लागि विनियोजन गरेको बजेट पूर्ण खर्च हुनुपर्छ । अहिले विकास बजेट कम मात्रामा खर्च हुने समस्या छ । सँगै, तलब खुवाउनका लागि समेत राजस्वले नपुगेर ऋण लिनुपर्ने अवस्था आईपरेको छ ।

यसकारण अर्थतन्त्र चलायमान बनाउन सरकारले खर्च बढाउनुपर्छ । निर्माण क्षेत्रको काम धमाधम भएपछि मजदूरको हातमा पैसा, रड (छड), सिमेन्टजस्ता निर्माण सामग्रीहरुको बिक्री बढ्छ, ट्रकको बिक्री बढ्छ । अरु ‘कन्ट्रक्शन’ औजार, उपकरणहरुको बिक्री बढ्छ, टायर बिक्छ, लुब्रिकेन्ट्स बिक्छ, सबै कुराहरुको माग बढ्न जान्छ, मान्छेहरुले रोजगारी पाउँछन् । यी सबै हुँदा सरकारको राजस्व पनि बढ्छ ।

अटोमोबाइल क्षेत्र राजस्वमा सबैभन्दा धेरै योगदान गर्ने क्षेत्रमध्ये पर्दछ । अहिले अलिकति कर घटाएर भएपनि मान्छेले बढीभन्दा बढी गाडी किन्ने वातावरण बनाउनुपथ्र्यो । तर, सरकारले राजस्व लक्ष्य पूरा भएन भनेर झन्झन् बढाउने काम गरेको छ । कर बढ्दा सामान महँगो हुन्छ र बिक्री घट्छ । बरु केही सहुलियत दिएको भए माग बढ्थ्यो, कर पनि बढी आउँथ्यो । यतातर्फ ध्यान नदिई खाली कर बढाएपछि सरकारको राजस्व बढ्छ भन्ने हिसाबले मात्रै बजेट आयो ।

मौद्रिक नीतिमा सुझाव
अब राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदैछ । मौद्रिक नीतिमा वर्षौदेखि हामीले सुझाव दिँदै आएका छौँ । खासगरी अहिले आईसी इन्जिन गाडी बिक्रेताहरुका लागि निकै गाह्रो अवस्था छ । यसलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ ।

‘लोन टु भ्यालू रेसियो’ अहिले ५० प्रतिशत छ । कसैले १ सय रुपैयाँमा गाडी किन्छ भने उसले ५० रुपैयाँसम्म मात्रै फाइनान्सिङ सुविधा पाउँछ, जबकि पहिला ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा थियो । हामीले अधिकतम ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा हुनुपर्ने भन्दै आएका छौँ । ९० प्रतिशतसम्म दिनसक्ने भनेपछि बैङ्क आफैले ऋणी हेरेर, उसको स्टाटस हेरेर, उसले कतिसम्म किस्ता तिर्नसक्छ भन्ने हेरेर निर्णय गर्न दिइनुपर्छ । यसो गर्ने हो भने अटोमोबाइल क्षेत्र निकै चलायमान हुन्छ । अहिले आयातकर्ताहरु जसातसो बाँचिरहे पनि डिलरहरु निकै मर्कामा छन् । काठमाडौँ बाहिर हाम्रा डिलरहरु एकदमै बिजोग अवस्थामा छन् । शोरुम बनाएको छ, बिक्री छैन । बिक्री नभएपछि शोरुम बन्द गरिदिए भईहाल्छ नि भन्नेपनि लाग्दो हो । यति सजिलै शोरुम बन्द गर्न सकिँदैन । किनकि, शोरुम बनाउँदा खर्च भएको हुन्छ, ऋण हुन्छ, आफूले गाडी बेचेको ग्राहकलाई सेवा दिनुपर्छ । शोरुम बन्द गरेर हिँड्दा उसको व्यावसायिक प्रतिष्ठामाथि पनि आँच आउँछ । यस्ता कैयौँ कारणले हाम्रा डिलरहरु अहिले निकै मर्कामा हुनुहुन्छ । यसकारण ‘लोन टु भ्यालू रेसियो’ बढाउने हो भने यो समस्या क्रमशः समाधान हुँदै जान्छ ।

अर्को कुरा, हायर पर्चेज लोनमा आयको ५० प्रतिशतमात्रै किस्ता तिर्न मिल्ने गरी कर्जा पाउने व्यवस्था छ । मानौँ, कसैको मासिक कमाई १ लाख छ भने उसको किस्ता ५० हजार नाघ्नुभएन । बाँकी पैसाले अरु खर्चपनि चल्नुपर्छ भन्ने धारणा छ । तर, गाडी भनेको कसैले एक्लो कमाईले किन्दैन । परिवारले किन्ने कुरा हो । घरमा तपाईँ कमाउनुहुन्छ, तपाईकी श्रीमती कमाउनुहुन्छ, भाई कमाउनुहुन्छ, बुबा कमाउनुहुन्छ तर फाइनान्सिङमात्रै एक जनाको नाममा हुने हो । यस्तै प्रकृतिको घर कर्जामा ७० प्रतिशतसम्म फाइनान्सिङ छ । अटो लोनमा पनि कम्तीमा यतिसम्म हुनुपर्छ भन्ने हो ।

अर्को कुरा, अहिले बैङ्कमा तरलता थुप्रिएको छ । गाडीमा कर्जा प्रवाह बढ्ने गरी नीति बनाउने हो भने एकातिर कर्जा लगानी हुन्छ, अर्कातिर भन्सार पनि बढ्छ । मानौँ, कुनै बैङ्कले गाडीमा ७ वर्षको फाइनान्सिङ गर्छ भने उसले एकैपटक पैसा दिएर ७ वर्षसम्म केही नपाउने पनि होइन । हरेक महिना पैसा (किस्ता र ब्याज) आइरहन्छ, कर्जा घट्दै जान्छ । यतातर्फ पनि राष्ट्र बैङ्कले सोच्न आवश्यक छ ।

फेरि अटो लोनको ‘डिफल्ट’ अत्यन्त न्यून छ । अझ प्यासेन्जर कारमा त ‘डिफल्ट’ झनै कम छ । यसकारण प्यासेन्जर र कमर्सियल गाडीमा कति डिफल्ट छ भनेर छुट्याउनु पनि जरुरी छ ।

अर्को कुरा, अटो लोनको जोखिमभार अहिले १ सय प्रतिशत छ । राष्ट्र बैङ्कले केही वर्ष अगाडि १५० प्रतिशतसम्म बनाएको थियो, त्यसपछि क्रमशः १२५ हुँदै अहिले १ सय प्रतिशत छ । यसरी घटाउँदा केही सहुलियतचाहिँ भएको छ तर विगतमा ७५ प्रतिशत थियो । अहिले १ प्रतिशत रहेको जोखिमभारलाई ७५ प्रतिशतमा नै झार्नुपर्छ भन्ने हाम्रो छ । यसो भयो भने बैङ्कले सहजै अटोमोबाइलमा फाइनान्सिङ गर्छन् । बिक्री बढ्न थालेपछि पार्टस् लगायतका सबै कुराको बिक्री बढ्न थाल्छ ।

अर्को विषय, केही अगाडि राष्ट्र बैङ्कले चालू पूँजी कर्जा मार्गदर्शन ल्याएको थियो । पहिलोपटक आउँदाका प्रावधानमा अहिले धेरै सुधार भएका पनि छन् । तैपनि अहिलेसाना व्यवसायीहरुलाई गाह्रो नै छ । काठमाडौँमा हुने ठूला व्यवसायीहरु बुझ्नको लागि सिँधै बैङ्कको केन्द्रीय कार्यालयमा जान सक्छन्, राष्ट्र बैङ्कमै पनि जान सक्छन् । तर, साना व्यवसायीहरु जो राजधानी बाहिर हुनुहुन्छ, उहाँहरुले बुझ्नै पाउनुभएको छैन । बैङ्कहरुका शाखाले पनि बुझाउन सकेका छैनन् । सबैले कारोबारको २५ प्रतिशत चालु पूँजी पाइन्छ भनेर बुझेका छन् तर वास्तविकतामा त्योभन्दा बढी पाइन्छ । यो कुरा व्यवसायीलाई बुझाउने संयन्त्र नै भएन । राष्ट्र बैङ्कले यस्ता आफूले ल्याएका प्रावधानबारे आम उद्यमी व्यवसायी र सर्वसाधारणलाई बुझाउने कामपनि गर्नुपर्छ ।

आकाश गोल्छा नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष हुन् । यो लेख बिजनेश पाना त्रैमासिक म्यागेजिनको पहिलो अङ्कबाट साभार गरिएको हो । 

spot_img
spot_img
आकाश गोल्छा
आकाश गोल्छाhttps://businesspana.com
वरिष्ठ उपाध्यक्ष, नाडा
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img