Tuesday, February 10, 2026
spot_img

पूँजीबजार र सामुहिक लगानी कोष

spot_img
spot_img

सचिन्द्र ढुङ्गाना

निरन्तर ओरालो लागेर न्यून बिन्दुमा पुगेको शेयर बजार पछिल्लो केही महिनामा बिस्तारै माथि बढ्दै छ । बजारमा चहलपहल बढेको छ र कारोबार रकम, कारोबार कित्ता र लगानीकर्ताको सहभागिता पनि बढ्दैछ । यसअघि बैंक र वित्तीय संस्थाको बाहुल्यता रहेको पूँजीबजारमा बिस्तारै अन्य क्षेत्रका कम्पनी पनि आएका छन्, उत्पादनमुलक क्षेत्रका कम्पनी क्रमशः आउँदै छन् । पूँजीबजारको फाइदा के रहेछ भन्नेबारे व्यवसायी, उद्योगी, अन्य कम्पनी र आम जनमानसहरुले पनि बुझ्दै गएका छन् । बजारमा नयाँनयाँ कम्पनीहरु आउँदै गर्दा धेरै राम्रो कम्पनीदेखि धेरै खराब कम्पनीहरु पनि आउँछन् । सबै खालको कम्पनी आएपछि बल्ल खराब र राम्रो कम्पनी छुट्टिन्छन् । यो राम्रो संकेत हो । तर, लगानीकर्ताले भने अझै छुट्याउन नसकिरहेको अवस्था छ । उनीहरु एकपटक डुबेपछि बल्ल अध्ययन गर्छन्, गल्ती सुधार गर्छन् । यसरी लगानीकर्ता परिपक्व भएपछि बजार पनि परिपक्व हुँदै जान्छ ।

बजेट र लगानीकर्ता
लगानीकर्ताले यो वर्षको बजेटमा पनि पूँजीगत लाभकर घटाउनुपर्ने सुझाव दिएका थिए । सबैको अपेक्षा पूँजीगत लाभकर घटोस् भन्ने थियो । तर, बजेटले त्यसलाई सम्बोधन गरेन । पूँजीगत लाभकर घट्दैमा तात्विक फरक पर्दैनजस्तो लाग्दैन । लाभ भईसकेपछि लाभ भएको व्यक्तिलाई एकदुई प्रतिशत बढी कर तिर्न अप्ठेरो हुँदैन, तथापि यो घटाएको भए लगानीकर्ताको कन्फिडेन्स बढ्ने थियो, बजारमा सकारात्मक सेन्टिमेन्ट आउने थियो ।

शेयरको दोस्रो बजारमा लगानी गर्ने लगानीकर्तालाई थोरै भएपनि केही छुट, सुविधा प्रदान भएको भए राम्रो हुन्थ्यो । यसले पूँजी सिजनामा पनि सहयोग गर्ने थियो ।

त्यस्तै सहजरुपमा वैदेशिक लगानी आउने व्यवस्था गरेको भए त्यसले बजारलाई नयाँ उचाईमा पुग्न सहज हुन्थ्यो । अहिले विदेशी लगानी ल्याउनमात्र नभई कुनै कम्पनीमा थोरैमात्र वैदेशिक लगानी रहेछ भनेपनि त्यस्ता कम्पनीको आईपीओ आउनको लागि धेरै झन्झटिलो नियम छ । यसमा सहजीकरण आवश्यक छ ।

कतिपय अवस्थामा सरकारले उद्योग र व्यवसायलाई दिन्छु भनेर सम्झौता भईसकेको रकम, सेवा, सुविधा पनि नपाएको अवस्था छ । घोषणा भईसकेका सरकारी प्रतिबद्धता पूरा गर्नुपर्छ । यदि नसकिने भए यो कारणले सकेनौ भनिदिए यो विषय टुङ्गो लाग्छ । कतिपय अवस्थामा यस्तो रकमले कम्पनीको वासलातलाई पनि असर गरिरहेको हन्छ । पैसा आउँछ भन्ने आशामा वित्तीय विवरणमा देखाईएको हुन्छ, जुन वास्तविक नहुन सक्छ ।

यस वर्षको बजेटमा निश्चित चुक्ता पूँजी तोकेर त्यस्ता कम्पनीलाई आईपीओ जारी गर्न अनिवार्य पार्ने भनिएको छ । कम्पनीलाई प्रोत्साहन गर्न सकिन्छ, तर धेरै पूँजी भएकै कारण आईपीओ अनिवार्य गरिनु उचित हुँदैन । जुन कम्पनीको नगद प्रवाह उच्च छ, उसलाई आईपीओमा जान आवश्यक नै छैन । अनिवार्य नै गर्ने भए पब्लिकको फण्ड लिएर चल्ने सरकारी कम्पनी र संस्थानलाई आईपीओ अनिवार्य गर्नु उपयुक्त हुन्छ । आईपीओ निष्काशन गर्ने वा नगर्ने भन्ने निर्णय सम्बन्धित कम्पनीको लगानीकर्तालाई छोड्नु उचित हुन्छ ।

मौद्रिक नीतिसँग अपेक्षा
खासमा मौद्रिक नीति आउने मुद्रा बजारको लागि हो । यसले पूँजीबजारलाई छुनु नै हुँदैन । तर, नेपालको हकमा मौद्रिक नीतिमा केही सामान्य परिमार्जन गर्दा पूँजीबजारलाई असर गरिरहेको छ । मौद्रिक नीति सबै समस्याको समाधान होइन, सर्वेसर्वा होइन भन्ने विषय पूँजीबजारका लगानीकर्तादेखि राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका नियामकले पनि प्रष्टरुपमा बुझ्नुपर्छ ।

राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरिरहेको छ, त्यसक्रममा कुनै नीतिले पूँजीबजारलाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले हाम्रो बजार कति कमजोर छ भन्नेपनि देखाउँछ । यस्तो अवस्थामा धितोपत्र बोर्डलेसजग भएर पूँजीबजारलाई प्रभाव पार्ने दीर्घकालीन नीति आफुमार्फत् ल्याउनुपर्छ । उदाहरणको लागि धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङको व्यवस्था ब्रोकर मार्फत नै हुने गरी नीति ल्याएको भए राष्ट्र बैंकको नीतिले पूँजीबजारलाई असर नै गर्ने थिएन । हाम्रो बजारमा बैंकको हिस्सा ठूलो रहेकोले मौद्रिक नीतिले बजारलाई प्रभाव पार्छ नै तर, धेरै असर नगर्ने गरी काम गरिनुपर्छ ।

म्युचुअल फण्ड र शेयर बजार
म्युचुअल फण्ड एउटा संस्थागत लगानीकर्तामात्र हो । कतिपयले मार्केट मेकर भनेपनि म्युचुअल फण्डको भूमिका लगानीकर्ताको मात्र हो । इकाई धनीहरुलाई उच्चतम प्रतिफल दिने दायित्वमात्र म्युचुअल फण्डसँग हुन्छ । अरु लगानीकर्ताको हितलाई हेरेर म्युचुअल फण्डले काम गर्दैन । नाफा हुँदा बेच्ने नै हो र घाटा हुँदा कसरी नाफामा जान सकिन्छ भनेर रणनीति बनाउने हो । मार्केट मेकर भनेको स्टक डिलर हुन् ।

बजारमा म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण नदेखिएको भने सत्य हो । म्युचुअल फण्डमा शेयरको जस्तो पूँजीगत लाभ नहुने भएरै लगानीकर्ताले शेयरजस्तो नरुचाएका हुन् । म्युचुअल फण्ड कम जोखिम लिन चाहने, बजारको गतिविधिलाई दैनिकरुपमा हेर्न नभ्याउने, बजारबारे ज्ञान नहुने लगानीकर्ताको लागि लक्षित हो । कुनै एकवर्षको मात्र प्रतिफल नहेरी दीर्घकालमा म्युचुअल फण्डले बैंक निक्षेपभन्दा धेरै राम्रो प्रतिफल दिइरहेको हुन्छ ।

सामुहिक लगानी कोष व्यवस्थापकको कोणबाट हेर्दा भने बजारमा अहिले धेरै चुनौतीहरु देखिएका छन् । सामुहिक लगानी कोषहरुले आफ्नो अधिकांश हिस्सा बैंक र बीमा कम्पनीमा लगानी गरेका छन् । प्रत्यक्ष नियमनकारी निकाय भएको र आक्रामक रुपमा शेयर खरिद बिक्री पनि गर्न नमिल्ने भएकोले सामुहिक लगानी कोषले यी क्षेत्र चयन गरेका थिए । तर, पछिल्लो समय बजारमा यीबाहेकका क्षेत्र चलायामन भएका छन् । यीबाहेक क्षेत्रमा बढी प्रतिफल आएको देखिएको छ । यसले सामुहिक लगानी कोषले प्रदान गर्ने प्रतिफलमा पनि असर गरेको छ ।

त्यस्तै अहिले बजारमा ट्रेडरहरु हाबी भएका छन् । लगानीको क्षेत्र छिटोछिटो परिवर्तन भईरहेको छ । शेयर खरिद गरेर बिक्री गर्ने बेलासम्म सो क्षेत्रबाट ट्रेडरहरु ‘सिफ्ट’ गरेर अर्को क्षेत्रमा पुगेका छन् । यसो हुँदा म्युचुअल फण्डहरुले गरेको लगानी नै ट्रयाप हुने जोखिम छ । यसले ‘भ्यालु इन्भेष्टमेन्ट’ को अवधारणा नै गुम्ने अवस्था छ । जुन बजारको लागि र अर्थतन्त्रको लागि पनि राम्रो संकेत होइन ।

बजारलाई के चाहिन्छ ?
अब बजारलाई वैदेशिक लगानी आवश्यक पर्दछ । गैरआवासीय नेपालीहरु लगानी गर्न तत्पर छन् तर अनेकौँ नीतिगत समस्या छन् । अहिले प्रहरी, सेना, सशस्त्र, विभिन्न कोष तथा संस्थानसँग भएका रकमलाई पूँजीबजारमा ल्याउनुपर्छ भन्ने माग बढ्दो छ । पूँजीबजार भनेको जोखिम भएको क्षेत्र हो । लगानी गरिसकेपछि निश्चित प्रतिफलको अपेक्षा हुन्छ । उनीहरुले जोखिम नै लिन नचाहेकोले पूँजीबजारमा लगानी नआएको हुनसक्छ । त्यसमाथि पनि प्रहरी, सेना, सशस्त्रसँग भएको रकम रगतको कमाई हो भन्ने गरिएको छ । नीतिगत व्यवस्था गरेर निश्चित प्रतिफल दिने ऋणपत्रजस्ता औजारहरुमा यस्तो रकम परिचालन गर्न सकिन्छ । साथै पूँजीबजारको फाइदा बुझाएमा उनीहरु आफै पूँजीबजारमा लगानीको लागि आउन सक्छन् ।

त्यस्तै राम्राराम्रा कम्पनीहरुको आईपीओ बुक विल्डिङ विधिमार्फत् ल्याउनुपर्छ । यी विधिमा कुनै एउटा व्यक्ति वा संस्थाले नभई दर्जनौ संस्थाले मूल्य निर्धारण गर्ने हुँदा कम्पनीको शेयरको उपयुक्त मूल्य निर्धारण हुन्छ । प्रिमियममा भन्दा बढी जोड बुक विल्डिङको आईपीओलाई दिनुपर्छ ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज आउँदा पनि बजारलाई राम्रो हुने अनुमान गर्न सकिन्छ । सर्ट सेलिङ र इन्ट्रा डे ट्रेडिङ जस्ता लगानीका औजार पनि ल्याउन सकिन्छ । तर, यसको लागि प्रविधि र पूर्वाधार तयार पार्नुपर्छ ।
समग्रमा दीर्घकालमा पूँजीबजार बढ्ने नै हो । अबको ५ वर्षभित्रमा अहिलेको शेयर बजार परिसूचक बढेर ५ हजारदेखि १० हजारको हाराहारीसम्म पुग्नसक्छ । नीतिगत सुधार, र प्रविधिमैत्री प्रणाली भएको खण्डमा त्यो लक्ष्य झन् छिटो भेटिनसक्छ ।

सचिन्द्र ढुङ्गाना एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक हुन् । यो लेख बिजनेश पाना त्रैमासिक म्यागेजिनको पहिलो अङ्कबाट साभार गरिएको हो । 

spot_img
spot_img
सचिन्द्र ढुङ्गाना
सचिन्द्र ढुङ्गानाhttps://businesspana.com
महाप्रबन्धक, एनआईएमबी एस क्यापिटल
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img