Tuesday, December 10, 2024

मौद्रिक नीतिमार्फत नियामकीय प्रावधान सच्चिने पर्खाइमा पूँजीबजार

तुलसीराम ढकाल

नेपालको शेयर बजार परिसूचक नेप्से ३२ सय अङ्कको उच्च बिन्दुमा पुगेको अवस्थामा विभिन्न नियामकीय प्रहार बजारमा भयो । त्यसपछि ओरालो लाग्न लागेको बजार अहिले २ हजारदेखि २ हजार २ सयको आसपासमा चलिरहेको छ । तर, ३५ महिनाको यो अवधिमा बजारमा धेरै पूँजी थपिएको छ र बजारमा नयाँनयाँ कम्पनीको आईपीओ, कम्पनीको हकप्रद र बोनस शेयर थपिएका छन् । यसकारण अहिलेको वास्तविक सूचक अहिले देखिएको भन्दा धेरै नै कम छ । नयाँ आएका आईपीओ, हकप्रद , बोनस लगायत घटाएर हेर्ने हो भने अहिलेको बजारको सूचक १ हजारको बिन्दुभन्दा पनि तल छ । बजार अहिले एकदमै तल्लो बिन्दुमा छ । यद्यपि केहि नीतिगत परिवर्तन भएमा, नियामकले विगतमा लिएका नीतिमा सुधार गरे, बजारलाई प्रविधिमैत्री बनाएमा र बजारलाई आफ्नो गतिमा छोडिदिएमा बजार पहिलेको उच्च बिन्दु रहेको ३२ सयबाट धेरैमाथि जानसक्ने छ । साथै दिनकै ५० अर्ब हाराहारीको कारोबार सम्भव छ ।

बजेटमा पूँजीबजार
पूँजीबजारका सरोकारवाला र खासगरी लगानीकर्ताले बजेट मार्फत पूँजीगत लाभकर घटोस् भन्ने चाहेका थिए । अहिले रहेको दीर्घकालीन कारोबारीको लागि पूँजीगत लाभकर ५ प्रतिशत र अल्पकालीन कारोबारको लागि पूँजीगत लाभकर ७.५ प्रतिशत बढी छ, यो घट्नुपर्छ भन्ने लगानीकर्ताको माग थियो । अहिलेको दरलाई घटाएर दीर्घकालीन पूँजीगत लाभकर ३ प्रतिशत र अल्पकालीन पूँजीगत लाभकर ५ प्रतिशत कायम गर्नुपर्छ भन्ने हाम्रो माग हो । यसो हुँदा पूँजीबजारमा लगानीकर्ताको सहभागिता अझै बढ्ने थियो, दैनिक कारोबार रकम बढेर सरकारलाई प्राप्त हुने राजस्व बढ्ने थियो भने आम लगानीकर्तामा विश्वासको वातावरण बन्ने थियो ।

अर्को विषय पूँजीगत लाभकर अन्तिम होकि होइन भन्ने प्रष्ट पारिनुपर्छ भन्ने हाम्रो माग थियो, र छ पनि । हरेक वर्ष पूँजीगत लाभकरबारे हाउगुजी बनाईन्छ । यो विषय जुनसुकै बेला बजेटमा केही न केहीसँग जोडेर आउनसक्ने अवस्था छ । बजेटमा लाभकर अन्तिम कर होइन भन्ने आशयको विषय आएपछि लगानीकर्ताले पटकपटक आन्दोलन गरेको र कारोबार नै ठप्प पारेको विगत पनि छ । अर्थ मन्त्रालयमा अर्थमन्त्रीको रोहबरमा मन्त्रालयले पूँजीगत लाभकर अन्तिम कर हो भन्ने पत्र दिएको अवस्था छ तर तो विषय प्रष्टरुपमा ऐनमा नै उल्लेख गरिनुपर्छ । कुनै मन्त्री वा सचिवको तजबिजमा यसलाई छोड्नु हुँदैन भन्ने हाम्रो माग हो ।

बजेटमा पूँजीबजारका नियामकको क्षमता अभिवृद्धि गर्ने, नेप्से र सिडीएसको पुनर्संरचना गर्ने विषय समावेश गरिएका छन् । यसबाट सरकारले पूँजीबजारलाई प्राथमिकता दिएको अनुभूति गर्न सकिन्छ ।

साथै हामीले अहिलेको स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउनुपर्ने र क्षमता अभिवृद्धि गरी दैनिक ५० अर्बसम्मको कारोबार सहज हुने गरी सफ्टवेयर र हार्डवेयर जडान गर्नुपर्ने भन्दै आएका छौँ । यी विषय अहिलेको बजेटमा समावेश नभएपनि कुनै न कुनैरुपमा सम्बोधन हुनैपर्छ ।

अहिले बजेटमा निश्चित पूँजी भएका कम्पनीलाई अनिवार्य आईपीओ निष्काशन गर्ने उल्लेख गरेको छ । ठूला कम्पनी पूँजीबजारमा आउनुपर्छ । तर, यसरी जबर्जस्ती गर्ने होइन । ठूला कम्पनीलाई पूँजीबजारमा ल्याउनको लागि सरकारले प्रोत्साहन गर्नुपर्छ । केही छुट, केही थप सेवा सुविधा दिएमा उनीहरु आफै बजारमा आउने छन् ।

मौद्रिक नीतिबाट अपेक्षा
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा शेयर लगानीकर्ताका केही अपेक्षा छन् । राष्ट्र बैंकले २०७८ साउन २९ गते ल्याएको मौद्रिक नीति र त्यसलाई कार्यान्वयन गर्न २०७८ भदौ ८ गते ल्याएको एकीकृत निर्देशनले पूँजीबजारमाथि प्रहार गरेको थियो । आगामी मौद्रिक नीतिबाट त्यो सच्चिनुपर्छ । प्राकृतिक व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोडको सीमा पूर्णरुपमा खारेज हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा अधिकतम आफ्नो कोर क्यापिटलको ४० प्रतिशतसम्म कर्जा दिनसक्ने राष्ट्र बैंककै नियम छ । अहिले बैंकहरुको क्षमताभन्दा एक तिहाईमात्रै कर्जा प्रवाह भएको छ । १५–२० करोडको सीमाको कुनै औचित्य छैन । यो पूर्णरुपमा हट्नुपर्छ । पूँजीबजार भनेको पूँजी निर्माण गर्ने थलो हो, लगानीकर्ताको पूँजीले मात्र बजार दिगो हुन सक्दैन । बजारको विकास हुन सक्दैन, पूँजीबजार उद्योगको रुपमा विकास हुन सक्दैन । तसर्थ, बैंकमार्फत् लगानीकर्ताले प्राप्त गर्ने कर्जा रोक्नु हुदैन ।

त्यस्तै शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमै कायम गरिनुपर्छ । बैंक आफैमा पनि ब्यापारी हो । उसलाई कहाँ कति ऋण दिने, जोखिम भार कति कायम गर्ने भनिरहनै पर्दैन । उसले आफ्नो लगानीको प्रतिफल आउने गरी अवस्था हेरेर कर्जा प्रवाह गर्छ । शेयर धितो कर्जामा दिइएको ऋण फस्ने नै हुँदैन । आजसम्म बैंकले शेयर धितोमा दिएको कुनैपनि कर्जा डुबेको छैन, यो बैंकको सुरक्षित ब्यापार हो, यसमा १२५ प्रतिशत जोखिमभार आवश्यक नै छैन ।

अहिलेको स्टक एक्सचेन्जले राम्रोसँग काम गरेको भए, लगानीकर्ताले विभिन्न सेवा सुविधा पाएको भए, प्रविधिमैत्री हुँदै गएको भए नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्ने बहस नै सुरु हुँदैन थियो ।

शेयर कर्जा बैंकले होइन, ब्रोकरले दिनुपर्छ भन्ने बहस पनि चलिरहेको छ । तर, अहिलेसम्म यो लागु नै हुनसकेन, अर्को कुरा यो व्यावहारिक पनि छैन । ब्रोकरको पूँजी एकदमै कम छ । उसका हजारौँ ग्राहक छन्, उसले ग्राहकको मागअनुसार कर्जा नै दिनसक्दैन, लगानीकर्ताले ऋण पाउने सुनिश्चितता हुँदैन । त्यस्तै ब्रोकरबाट कर्जा लिँदा लगानीकर्ताको लागत बढ्छ । ब्रोकरसँग यसको लागि आवश्यक पर्ने सबै जनशक्ति नहुन सक्छ । यदि कर्जा उठ्न नसकेमा के गर्ने भन्ने स्पष्ट नीति छैन । यी कारणले ब्रोकरमार्फत् कर्जाको व्यवस्था गर्न अहिलेकै अवस्थामा कठिनाई छ । तर, ब्रोकर मार्फत शेयर कर्जाको व्यवस्था गरिनु राम्रो हो, गर्नुपर्छ । ब्रोकरले सुरु गरेपछि बैंकले दिने कर्जा रोक्नुहँुदैन । दुवैमार्फत् कर्जा दिनुपर्छ, लगानीकर्ताले आफ्नो इच्छा, अवस्था, पहुँच, लागतअनुसार निर्णय गर्ने अवसर पाउनुपर्छ । त्यस्तै अहिले बैंक तथा वित्तीय संस्था अप्ठेरो अवस्थामा छन्, उनीहरुलाई सहजीकरण गर्ने नीति पनि राष्ट्र बैंकले ल्याउनुपर्छ ।

नयाँ स्टकको प्रसङ्ग
नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ भन्ने हामी शेयर लगानीकर्ताको माग हो । अहिलेको स्टक एक्सचेन्जले राम्रोसँग काम गरेको भए, लगानीकर्ताले विभिन्न सेवा सुविधा पाएको भए, प्रविधिमैत्री हुँदै गएको भए नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्ने बहस नै सुरु हुँदैन थियो । अहिले हरेक वर्ष सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना गर्ने भन्छ । तर, काम केहीपनि नभएको अवस्था छ । नेप्सेमा जबसम्म सरकारको बहुमत लगानी रहन्छ, तबसम्म नेप्सेबाट सुधारको अपेक्षा गर्न सकिँदैन । एउटा सफ्टवेयर खरिद गर्नु परेपनि टिप्पणी उठाएर माथि लानुपर्ने, अनुमति लिनुपर्ने, स्वीकृति लिनुपर्ने लगायतका काम गर्न नै वर्षौँ लाग्छ । यस्तो झन्झटिलो अवस्थामा लगानीकर्ताले कसरी सहज र सुलभ सेवा पाउने ? यहि कारण निजी क्षेत्रको लगानीको नयाँ स्टकको आवश्यकता महसुस भएको हो ।

हामीले नेप्सेलाई मासेर नयाँ स्टक ल्याउने भनेको होइन । नेप्सेमा सरकारको लगानी हटाएर वा घटाएर, रणनीतिक साझेदार ल्याएर, पुनर्संरचना गरेर विज्ञ सञ्चालक ल्याउनुपर्छ । त्यसपछि दुईवटा स्टक एक्सचेन्ज हुँदा प्रतिस्पर्धा हुन्छ, प्रविधिमैत्री सेवा उपलब्ध हुन्छ । नयाँ स्टक एक्सचेन्ज आउँदा अहिले भएको नेप्सेले अहिलेको भन्दा राम्रो लाभांश दिन्छ ।

धितोपत्र बोर्डसँग अपेक्षा
६ महिना भईसक्दासम्म सरकारले शेयर लगानीकर्ताको अभिभावकको रुपमा रहेको संस्था नेपाल धित्रोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न नसक्नु नै सरकारको लाचारीपन हो । यसले नै पूँजीबजारप्रति सरकारको दृष्टिकोण प्रष्ट भएको छ ।
अहिले शेयर लगानीकर्तालाई आफ्नो अभिभावक चाहिएको छ । तत्काल सरकारले धितोपत्र बोर्डमा योग्य र सक्षम अध्यक्ष नियुक्त गरेर पठाउनुपर्छ । नयाँ नियुक्त हुने अध्यक्षले पूँजीबजारमैत्री प्रविधिको विकास गर्नु पर्छ । जस्तै सर्ट सेलिङ, इन्ट्रा–डे ट्रेडिङजस्ता लगानीको औजार बजारमा ल्याउनको लागि सर्वप्रथम धितोपत्र बोर्डले नै स्पष्ट कानुनी व्यवस्था गरिदिनुपर्छ ।
अहिले भएको स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउनको लागि पनि धितोपत्र बोर्डले पहल गर्नुपर्छ, सिडीएसलाई पुनर्संरचना गर्ने तथा प्रविधिमैत्री बनाउन पनि बोर्डले आवश्यक नीति, नियम निर्माण गरिदिनु पर्छ । लगानीकर्ताको सुविधालाई ध्यानमा राख्दै ७७ वटै जिल्लामा पूँजीबजारको तालिमको व्यवस्था मिलाउनु पर्छ ।

अहिले बजारमा भएका सामुहिक लगानी कोष योजनाहरुले उदेश्यअनुरुपको काम गर्न सकेका छैनन् । यी योजनाहरुले बजार घटेको बेलामा शेयर खरिद गरेर र बजार बढेको बेलामा बिक्री गरेर बजारलाई एउटा लेभलमा राख्नु सक्नुपर्दछ । म्युचुअल फण्डहरुलाई मार्केट मेकर भनिन्छ, उनीहरुले त्यहीअनुसार काम गर्नुपर्छ । त्यसमा धितोपत्र बोर्डबाट निगरानी गर्नको लागि प्रष्ट कानुन बनाई सोहीमार्फत नियमन हुने व्यवस्था गर्नुपर्छ । अहिले धेरै म्युचुअल फण्डले बैंकमा पैसा राखेर ब्याज खाने गरेका छन्, त्यस्तो हुनुभएन । म्युचुअल फण्ड पनि लगानीको लागि दीर्घकालीन रुपमा एउटा आकर्षक प्रोडक्टको रुपमा विकास गरिनुपर्छ ।

अहिले भएका स्टक डिलरले पनि जुन परिकल्पना गरिएको थियो, त्यो अनुसार काम गर्नसकेको छैनन् । साथै कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष, विभिन्न बीमा कम्पनीमा ठूलो लगानीयोग्य रकम छ । यस्ता ठूला फण्डहरुलाई पूँजीबजारमा आकर्षित गर्नको लागि धितोपत्र बोर्डले भूमिका खेल्नु पर्छ । बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता छ । धितोपत्र बोर्डले रियल सेक्टरका कम्पनीहरुलाई बजारमा ल्याउनको लागि प्रोत्साहन गर्नुपर्छ । तर, वित्तीय विवरण तोडमोड गरेर प्रिमियममा आईपीओ ल्याउने, बुक बिल्डिङबाट आईपीओ ल्याउन अनुमति दिने काम भने बन्द गर्नुपर्छ । धितोपत्र बोर्ड यसमा सजग हुनु पर्छ ।

यसका अलावा धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई प्रशिक्षण दिनुपर्छ । जलविद्युतको आईपीओको कारण हाल ७७ वटै जिल्लामा शेयर लगानीकर्ता छन् । अहिले शेयर शिक्षा र शेयर बजारबारेको सचेतना न्यून छ । धितोपत्र बोर्डले शेयर शिक्षा र सचेतना बढाउनुपर्ने आवश्यकता छ ।

तुलसीराम ढकाल नेपाल ईन्भेष्टर फोरमका अध्यक्ष हुन् । यो लेख बिजनेश पाना त्रैमासिक म्यागेजिनको पहिलो अङ्कबाट साभार गरिएको हो । 

तुलसीराम ढकाल
तुलसीराम ढकालhttps://businesspana.com
अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

समृद्धि फाइनान्सको पुतलीसडक शाखाले निशुल्क आँखा परीक्षण र परामर्श...

राष्ट्र बैंकको दुई वटा विभाग थापाथली सर्दै

नेपाल राष्ट्र बैंकको दुई वटा विभाग थापथली सर्ने भएको...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो पहिलो नेपाली सीइओ, ४ वर्षको लागि राणा नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी...

विद्युत प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजना अनुगमन

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय...

सम्पत्ति शुद्धिकरण निवारणको लागि सात सदस्यीय कार्यदल गठन 

सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई...

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिताले जितिन् आईफोन १६  

काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिता...
spot_img