विदूषी राणा
नेपालमा संख्यात्मक रुपमा हेर्ने हो भने जुत्ता चप्पल उद्योग विगतको तुलनामा बढेका छन् । अहिले साना, मझौला र ठूला गरेर १२ सयदेखि १५ सय वटा जुत्ता चप्पल उद्योग छन् भन्ने गरिन्छ। यद्यपि, वास्तविक तथ्याङ्क भने छैन ।
उद्योग स्थापना हुनु, उद्योगको संख्या बढ्नु सकारात्मक पक्ष हो । अहिले जति पनि जुत्ता चप्पल उद्योग बढिरहेका छन् भनिन्छ, तर साँच्चै रोजगारी र राजस्वमा त्यसको नतिजा देखिएको छ त ? हामीले हेर्नुपर्ने विषय यो हो जस्तो लाग्छ ।
गोल्डस्टारको कुरा गर्ने हो भने आजको दिनमा पनि ३ हजार जनाले रोजगारी पाइरहेका छन्। ५० प्रतिशतभन्दा माथिको ‘भ्यालू एड’ गरिरहेका छौँ । जुत्ता चप्पल बन्न ६० देखि ७० प्रकारका ‘कम्पोनेन्ट’ चाहिन्छ । जुत्ता हेर्दा कपडा वा छालाबाट बनेको सामान्य देखिएपनि त्यसमा थरीथरीका ‘कम्पोनेन्ट’ चाहिन्छ, सबै कच्चा पदार्थ स्वदेशमा उपलब्ध हुँदैन, बाहिरबाट ल्याउनुपर्छ । यसरी हामीले ५४ वर्षदेखि गोल्डस्टार जुत्ता उत्पादन गरिरहेका छौँ ।
उत्पादन भनेको मुलुकको मेरुदण्ड हो । मुलुकमा उत्पादन नै हुँदैन भने त्यो देशको आर्थिक अवस्था राम्रो हुँदैन । हाम्रो देशमा पनि उत्पादन खास प्राथमिकतामा परेको देखिँदैन । नेपालको कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान हेर्ने हो भने जम्मा ५ प्रतिशत हाराहारी मात्रै छ । यो नकारात्मक संकेत हो ।
आजको दिनमा विदेशी मुद्रा आर्जनको स्रोत भनेकै रेमिट्यान्स मात्रै देखिएको छ । विदेशमा गएका नेपाली दाजुभाई दिदीबहिनीले दुःख गरेर पैसा कमाएर पठाउँछन्, यहाँ बसेका परिवारले ‘ट्रेडिङ’का सामान किन्छन्, र त्यो पैसा विदेशतिरै गइरहेको छ । नेपालमा उत्पादन निकै कम भएकाले यो बाध्यता पनि छ । विदेशबाट आएको रेमिट्यान्स उपभोगका सामान किन्दा उतै गइरहेको छ, यहाँ बसेको छैन । यस्तो तरिकाले त हामी कहिले पनि उँभो लाग्न सक्दैनौँ ।
अमेरिकाजस्तो सेवा क्षेत्रमा उचाईमा पुगिसकेको देशले अहिले उत्पादनमा फर्किने कुरा गरिरहेको छ । जबकि, अमेरिकामा जमिन र जनशक्ति निकै महँगो छ । हामी त अझैपनि उत्पादनमा जान सक्ने ठाउँ त बाँकी छ नि ! उत्पादनमा केन्द्रित भएर काम गर्न थाल्ने हो भने विदेशमा रहेका नेपाली युवाहरुलाई फर्काउन सकिन्छ, जानबाट रोक्न सकिन्छ । आज देश रित्तिन थालिसक्यो, यो क्रमलाई रोक्नुपर्ने चुनौती छ ।
अर्को कुरा, मुलुकमा उद्योग कलकारखाना खुल्दा मान्छेहरुमा सीप विकास हुन्छ, बैंक तथा वित्तीय संस्थाबाट लगानी बढ्छ, रोजगारी बढ्छ र अन्ततः सरकारको राजस्व पनि बढ्छ । नेपाल ‘ल्याण्ड लक्ड कन्ट्री’ हो, हामीलाई यसैपनि अरु देशसँग निर्भर हुनु परिरहेको छ । उद्योग कलकारखाना खोल्ने हो भने यो क्रम रोकिँदै जान्छ ।
अब जुत्ता चप्पल उद्योगको कुरा गर्दा, संख्या धेरै भएपनि धेरै कम उद्योगले मात्रै माथि भनिए जसरी काम गरिरहेका छन् अर्थात् ‘ब्राण्ड क्रियट’ गरिरहेका छन् । तर, चोरी पैठारीले ब्राण्ड क्रियट गरेर काम गरिरहेका ती थोरै उद्योगमाथि पनि यति प्रहार भइरहेको छ कि, पलायन हुने खतरा बढिरहेको छ । विश्वस्तरीय ब्राण्डका नाममा नक्कली जुत्ता चप्पल आयात त हुन्थे नै, त्यस्तो गिरोहले अहिले नेपालमै बनाउन समेत थालेका छन् भन्ने सुन्नमा आइसक्यो । नाईकी, एडिडास, पुमा जस्ता ब्राण्डका जुत्ता चोरी पैठारीबाट आउने र नेपालमै पनि यी ब्राण्डको लोगो टाँसेर बनाईएका नक्कली जुत्ता बजारभरि आउँदा हाम्रोजस्तो उद्योग कसरी चल्न सक्छ ? उत्पादनमा लागेकाहरुलाई सरकारबाट कुनै संरक्षण छैन, राजस्व छलेर आएका वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि किन उद्योग गर्ने ? किन उत्पादनमा लाग्ने भन्ने प्रश्न त स्वाभाविक रुपमा उठ्छ नि ।
यसको अर्थ ‘ट्रेडिङ’ गर्नु हुँदैन भन्ने होइन, ट्रेडिङ पनि गर्नुपर्छ । तर, सही बाटोबाट गर्नुपर्छ, नेपालमा एडिडास, पुमा, नाइकी ब्राण्डका जुत्ता चप्पलको माग छ भने वैध बाटोबाट ल्याएर बेचे भइहाल्छ । अहिले चोरी पैठारीबाट आउँदा यहाँका उद्योगहरुले उत्पादन गरेका जुत्ता चप्पलले मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, कर तथा राजस्व नतिरी आएका जुत्ता चप्पलभन्दा हामीले उत्पादन गरेका जुत्ता चप्पल महँगो हुने भइहाले । अर्कोतर्फ, सरकारले पनि राजस्व गुमाइरहेको छ । यसकारण सरकारले आफ्नो संयन्त्र परिचालन गरेर चोरी पैठारी रोक्नुपर्छ ।
सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र
आजको दिनमा कृषि क्षेत्रपछि सबैभन्दा ठूलो रोजगारी गार्मेन्ट र जुत्ता चप्पल उद्योगबाटै सिर्जना भइरहेको छ । यसकारण सरकारले यस्ता क्षेत्रहरु पहिचान गरेर संरक्षणको नीति लिनुपर्छ ।
सरकारले पनि आत्मनिर्भर भइसकेको क्षेत्रलाई संरक्षण गर्न कम्तीमा २ हजार २५ सय सम्मका जुत्ता चप्पल आयात नै गर्न नपाउने भनेर रोक लगाइदिने हो भने उद्योग पनि बढ्ने थिए र भएका उद्योग पनि राम्रोसँग चल्ने थिए । यदि, चोरी पैठारी नियन्त्रण नगर्ने हो भने ब्राण्ड क्रियट गरेर चलिरहेका ४÷५ वटा उद्योगहरु पनि चल्न नसक्ने अवस्था आउँछ ।
जुनैपनि देशले आफ्नो उत्पादनलाई संरक्षण गर्छ । ठूलाठूला बहुराष्ट्रिय कम्पनीहरु त्यसै बनेका होइनन्, उनीहरुको देशले संरक्षण गरेका कारण आज ती कम्पनीका उत्पादनहरु विश्व बजारमा फैलिएका छन् । नेपालले पनि सम्भावना भएका क्षेत्र पहिचान गरेर संरक्षणको नीति लिनु आवश्यक छ । यो कुरा त सरकारले आफै बुझ्नुपर्ने हो, हामी माग्न जानुपर्ने कुरै होइन ।
उद्योग गर्नेहरु संरक्षण गरिदेउ, चोरी पैठारी रोकिदेउ, नक्कली सामानको उत्पादन रोकिदेउ भनेर रोइकराई गर्नुपर्ने अवस्था आउनु नै दुःखद हो । यो त सरकार आफैले बुझेर गर्नुपर्ने काम हो । उद्योग चलाउनेहरुले निर्धक्कसँग काम गर्न पाउने हो भने नयाँनयाँ प्रविधि ल्याएर, नयाँनयाँ उत्पादन गरेर बजारमा पठाउन सक्थे ।
अहिले त यस्तो भएको छ कि, उद्योग गर्नु भनेको नदुखेको टाउको डोरी बाँधेर दुखाउनु भनेको जस्तो हालत छ । यसलाई सरकारले समयमै बुझिदेओस् भन्ने हाम्रो चाहना छ ।
हामीले के भन्दै आएका छौँ भने, नेपाल भविष्यमा साँच्चै उत्पादनमुखी अर्थतन्त्र भएको मुलुक बन्ने हो र दीर्घकालिन रुपमा आफ्नो देशमा उत्पादन भएको जनशक्तिलाई स्वदेशकै श्रम बजारमा खपत गराउने हो भने गोल्डस्टार जस्ता अरु धेरै उद्योगहरु आउनुपर्छ ।
४ हजार करोडको बजार, ४० प्रतिशत चोरी पैठारी
नेपालको जुत्ता चप्पलको बजार वार्षिक ४ करोड हजारको छ । स्वदेशी जुत्ता चप्पल उद्योगहरु माग अनुसारको जुत्ता चप्पल उत्पादन गर्न सक्षम छन् । अहिले ४० प्रतिशत बजारचाहिँ चोरी पैठारीबाट आएका जुत्ता चप्पले ओगटिरहेका छन् भन्ने देखिन्छ । यद्यपि, यकिन तथ्याङ्क भने छैन । बाँकी रहेको ६० प्रतिशतमध्ये ३० प्रतिशत स्वदेशी उत्पादनले धानिरहेको छ भने ३० प्रतिशत आयातित जुत्ता चप्पलले ओगटेका छन् । यो ३० प्रतिशतचाहिँ भन्सार तिरेर (कर राजस्व तिरेर) आएका जुत्ता चप्पलको बजार हो भन्ने गरिन्छ ।
भारतसँगको खुला सीमानाका कारण पनि चोरी पैठारी बढेको छ । सीमानामा पर्खाल नै लगाउनुपर्छ भनेर हामी पनि भन्दैनौँ, भारतसँग हाम्रो फरक खालको सम्बन्ध छ भन्ने कुरा हामीले पनि बुझेका छौँ । तर, सीमानामा तैनाथ हुने सुरक्षा निकायलाई चोरी पैठारी नियन्त्रण गर्नका लागि सक्षम त बनाउन सकिन्छ नि । हामीले यतिमात्रै भनेका हौँ ।
चुनौती र सम्भावना
अहिले बजार निकै प्रतिस्पर्धी छ । अरु देशको तुलनामा हाम्रो लागत नै महँगो हुँदा जुत्ता महँगो छ । बंगलादेशमा बन्ने जुत्ता, भियतनाममा बन्ने जुत्ता र म्यानमारमा बन्ने जुत्ता भन्दा नेपाली जुत्ता महँगो छ । नेपालमा श्रमिक ज्याला महँगो छ । ज्यालाको तुलनामा ‘प्रोडक्टीभिटी’ कम छ । मान्छेहरु ल्यायो, काम सिकायो, उनीहरुलाई विदेश जान हतार हुन्छ ।
अर्को कुरा, बैंकको ब्याजदर पनि महँगो छ । ट्रेडिङ र उत्पादनमूलक उद्योगलाई फरक फरक दरको ब्याज हुनुपर्छ । उद्योगले ट्रेडिङको तुलनामा सस्तो ब्याजदरमा कर्जा पाउनुपर्छ, तबमात्रै मुलुकमा उद्योगको विकास हुन्छ ।
सँगसँगै उद्योग चलाउन जग्गा चाहिन्छ, अहिले नेपालमा जग्गाको भाउ निकै महँगो छ । जग्गा किनेर उद्योग चलाउनसक्ने अवस्था छैन । सरकारले विशेष आर्थिक क्षेत्र भनेर बनाएको छ, त्यहाँ पनि उद्योग खोल्न सहुलियतको अनुभूति लगानीकर्ताले गर्न सकिरहेका छैनन् ।
बिजुली पनि महँगो छ, श्रमिक ज्याला पनि महँगो छ । उत्पादकत्व कम हुँदा ज्याला महँगो हुन गएको छ । सीपयुक्त जनशक्ति पनि कम छ र आर्थिक विकासका लागि सबैभन्दा चाहिने महत्वपूर्ण कुरा राजनीतिक स्थिरता हो, जुन हाम्रो मुलुकमा छैन ।
सरकारले निर्यातमा नगद अनुदान कार्यक्रम भनेर ल्यायो, उद्योगीहरु खुशी भएर आफ्ना उत्पादन अनुदान बापतको रकमलाई मूल्यमा घटाएर निकासी गर्न थाले । तर, सरकारले अहिलेसम्म यो अनुदान रकम दिएको छैन । सरकारले यसरी नागरिक र उद्यमीहरुलाई झुक्याउन मिल्छ ?
यद्यपी, अहिले उद्योगमन्त्री (दामोदर भण्डारी) सकारात्मक हुनुहुन्छ । उहाँले धेरै पहल कदमी लिइरहनु पनि भएको छ । आत्मनिर्भर भएका र आत्मनिर्भर उन्मुख नेपाली उत्पादनलाई संरक्षण गर्नुपर्छ भन्नेमा उहाँ केन्द्रित हुनुहुन्छ भन्ने देखिएको छ ।
अहिले जुत्ता चप्पल उद्योगलाई मात्रै नभई सबै खालका उत्पादनमूलक उद्योगहरुका लागि सहयोगी हुने केही कदमहरु सरकारले चाल्नुपर्छ भन्ने देखिन्छ ।
क) कच्चा पदार्थको मूल्य घटाउने (बिजुलीको समेत)
ख) उत्पादनमूलक उद्योग र ट्रेटिङ व्यवसायका लागि बैंकको ब्याजदर फरकफरक गर्ने
ग) निर्यातमा नगद अनुदान प्रदान गर्ने (घोषित कार्यक्रम नै हो, उद्योगीले नपाएका मात्रै हुन्)
घ) चोरी पैठारी नियन्त्रण गर्ने
यी मुख्य कुराहरुमा ध्यान दिएर सरकारले कदम चाल्ने हो भने औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्छ । मुख्य कुरा नै, सरकारले उद्योगलाई प्रोत्साहन गर्नुपर्छ ।
नेपाली जुत्ता चप्पल उद्योगले चोरी पैठारी भई आएका र नक्कली उत्पादनसँग प्रतिस्पर्धा गर्नु परिरहेको अवस्थामा यो समस्या समाधान हुनासाथ नेपालका जुत्ता चप्पल उद्योगले राहतको अनुभव गर्नसक्थे । लगानी बढ्थ्यो र थप उद्योगहरु आउँथे । यही समस्या कायम रहेसम्म चाहिँ नयाँ उद्योग आउने सम्भावना त कम छ नै, भएका उद्योग पनि बन्द हुने जोखिम छ ।
गोल्डस्टारः विश्व बजारमा पुगेको नेपाली ब्राण्ड
सन् १९७० बाट गोल्डस्टार जुत्ताको उत्पादन सुरु भएको हो । गोल्डस्टार ५४ वर्षसम्म उपभोक्ताको रोजाईमा पर्नुमा गुणस्तरीय र सस्तो भएरै हो । आम मान्छेमा पनि यो विश्वास कायम राख्दै हामी यहाँसम्म आइपुगेका छौँ । अहिले गोल्डस्टारमा काम गर्ने ३ हजार कर्मचारीमध्ये ७० प्रतिशत महिला हुनुहुन्छ । हामीसँग डिजाइनर मात्रै १२ जना जति हुनुहुन्छ ।
३०औँ वर्षदेखि गोल्डस्टार भारतमा गइरहेको छ । उत्तर प्रदेश र बिहार क्षेत्रमा गोल्डस्टार जुत्ता पठाइरहेका छौँ, त्यहाँ पनि भरपर्दो र सस्तो भन्ने छाप छ । नेपाली डायस्पोरा जहाँजहाँ हुनुहुन्छ, ती देशमा पनि गोल्डस्टार पुगेको छ । अमेरिका, जापान, बेलायत, भुटान, मलेसिया, कतार सबैतिर गोल्डस्टार जुत्ता पुगेको छ । अष्ट्रेलिया, बहराइन, कतारमा फ्रेन्चाइज स्टोर खोलेका छौँ । भुटानको प्रहरीलाई पनि जुत्ता दिँदैछौँ । सबैतिर नेपाली ब्राण्ड गोल्डस्टार पु¥याउन सकौँ भन्ने हाम्रो लक्ष्य छ ।
अहिले काठमाडौँमा बालाजु र धुम्बाराहीसहित काठमाडौँ बाहिर भैरहवाबाट गोल्डस्टार जुत्ता उत्पादन भइरहेको छ । दिनको १ लाख जोर जुत्ता उत्पादन गर्नसक्ने क्षमता भएपनि अहिले क्षमताको ३० प्रतिशत मात्रै उत्पादन भइरहेको छ ।
विदूषी राणा किरण सुज म्यानुफ्याक्चर्सकी प्रबन्ध निर्देशक हुन् । यो सामग्री बिजनेशपाना म्यागेजिनको फागुन अंकबाट साभार गरिएको हो)