Sunday, May 3, 2026
spot_img
spot_img

‘ग्रे लिस्ट’मा पर्दैमा ‘सर्वश्व सकियो’, ‘बर्बादै भयो’ भन्ने खालको चर्चा गर्नु जरुरी छैन

spot_img
spot_img

मनोज ज्ञवाली

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणको काम हेर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेपछि विभिन्न खालका विचारहरु आइरहेका छन् । यसमा मेरो ‘सिम्पल’ धारणा छ, यो भनेको ‘वाच लिस्ट’मा राखिएको हो, यसको अर्थ विशेष निगरानी हुने भन्ने मात्रै हो । तर, ‘अब सर्वश्व सकियो’, ‘बार्बादै भयो’ भन्ने आशयका हल्ला गर्नु जरुरी छैन ।

सन् २००८/०९ देखि ६ वर्षसम्म पनि नेपाल ग्रे लिस्टमा परेको हो । हामीले त्यो बेलाको अवस्थालाई फर्केर हेरौँ न त ! के सबै सकिएकै थियो त ? थिएन । यसकारण ग्रे लिस्टमा पर्दैमा त्यति साह्रो प्रभाव पर्छ भन्ने होइन ।

दोस्रो कुरा, कसरी ग्रे लिस्टमा पर्‍यो भनेर हेर्नुपर्ने हुन्छ । यसका पछाडी जे जे अड्कलबाजी भएपनि सहकारीमा भएको ‘स्क्याम’कै कारण प्रश्न उठ्यो भन्ने मेरो बुझाई हो । फाइनान्सिङ भनेको त बैंकमा मात्रै सिमित छैन, फाइनान्सिङको काम त सहकारीहरुले पनि गरिरहेका छन् । लगभग कुल फाइनान्सिङको १०/१५ प्रतिशत त सहकारीबाट भइरहेको छ । यति ठूलो कारोबार भइरहेको क्षेत्रमा ‘ट्रान्परेन्सी’ देखिएन, यहाँबाट गएको पैसा अपलचन भएको देखियो भन्ने आएपछि यसको पनि अन्तर्राष्ट्रिय निकायबाट कहीँ न कहीँ मूल्याङ्कन भयो नै ।

अहिले नेपाल र लाओस् ग्रे लिस्टमा थपिए । यसअघिसम्म ग्रे लिस्टमा रहेको फिलिपिन्स निस्कियो । फिलिपिन्स पनि अस्तिसम्म त ग्रे लिस्टमै थियो, के त्यहाँ विदेशी लगानी रोकिएको थियो त ? थिएन । यसो भन्दै गर्दा, ग्रे लिस्टमा पर्नु राम्रो चाहिँ पक्कै पनि होइन । आजको दिनमा भियतनाम पनि ग्रे लिस्टमै छ । सरसर्ती हेर्दा नाइजेरिया, सिरिया, नामिबिया जस्ता देशकै र्‍याङ्कमा पर्दा अन्तर्राष्ट्रिय स्तरमा अलिकति मुलुकप्रति हेर्ने दृष्टिकोणमा केही असर गर्ला । तर, नेपाल जस्तो देशलाई ठूलो असर हुन्छ भनेर होहल्ला गर्नुपर्ने कारण छैन ।

अब विदेशी लगानी घट्छ भनेको पन सुनिन्छ । ग्रे लिस्ट होस्, ह्वाईट लिस्ट होस्, जे जे लिस्ट भनेपनि हिजो र आजसम्मको विदेशी लगानीको तथ्याङ्क हेरौँ त कति छ ? जति हामीले फूर्तिफार्ति गरेपनि प्रतिवद्धता अनुसारको विदेशी लगानी आउँदा पनि आउँदैन । नेपालमा विदेशी लगानी नआउनुको प्रमुख कारण ग्रे लिस्ट, ह्वाइट लिस्ट भन्नु भन्दा पनि यहाँका कानुनी झमेला र न्यायिक प्रणाली नै हो । हाम्रो सामाजिक मनोविज्ञान पनि विदेशी लगानी ल्याउनले यहाँबाट लुटेर खाएर हिड्छन् भन्ने खालको छ ।

आजको दिनमा एनसेल (एक्जियटा)ले कस्तो अनुभव बोकेर बसेको छ ? स्ट्याण्डर्ड चार्टड जस्तो बैंकबाट चाहिने नचाहिने कर उठाउनु भनेर महालेखाले भनेपछि अर्थ मन्त्रालयले कसरी उठायो ? अदालतले पनि कस्तो खालको फैसला गर्‍यो ? यस्ता अनुभवहरुले एफडीआई आउन रोकिरहेको छ । यसकारणले नेपालमा एफडीआई प्रोत्साहन हुन सकिरहेको छैन । हामीले यतातर्फ बढी ध्यान दिनुपर्छ ।

अर्को कुरा, ग्रे लिस्टमा परेपछि एलसी खोल्न समस्या हुन्छ, आयात नै ठप्प हुन्छ भन्ने खालका कुराहरु आइरहेका छन् । जुन सत्य होइन । तर, करेशपोन्डेन्ट बैंकिङमा हाम्रा बैंकहरुले सहजै एलसी खोल्न पाउँथे भने अब कतिपय अवस्थामा थप कम्फर्मेशन माग्न सक्छन् । कतिपय अवस्थामा बैंक ब्यालेन्स राख् भन्लान् । हाम्रो लिमिटमा रिभ्यू गर्न सक्लान् । करेशपोन्डेन्ट बैंकिङमा हामीले काम गर्ने बेला उनीहरुले बढी प्रश्न सोध्ने, हामीले बढी जवाफ दिनुपर्ने हुन सक्छ । तर, एलसीको कारोबार नै हुँदैन कि भन्ने होइन ।

रेमिट्यान्सको हकमा पनि आउटवार्ड रेमिट्यान्स रेस्टिक्टेड छ, यसमा मतलबै भएन । इनवार्ड रेमिट्यान्सको हकमा पनि हाम्रो देशमा वर्कर्स रेमिट्यान्स आउने हो । नेपालीहरु विदेशमा हाइ प्रोफइल जब होल्डर कमै छन् । जति छन्, ति सबै श्रमिक र शारीरिक श्रम गर्नेहरु छन् । वर्कर्स रेमिट्यान्स आउने भएकाले यसमा पनि ठूलो असर पर्छ भन्ने देखिँदैन ।

एफडीआईको हकमा चाहिँ बरु एक लेभलको बढी स्क्रिनिङ हुन सक्छ । एलसी खोल्दा पनि हाम्रा बैंकहरुको एक लेभल बढी स्क्रिनिङ हुन सक्छ । एक लेभलको बढी कन्फरमेशन थप गर्नुपर्ने हुन चाहिँ सक्छ ।

विदेशी ऋण र अनुदानका कुरामा पनि त्यति ठूलो असर हुन्छ भन्ने देखिँदैन । अनुदान त घट्दा घट्दा सकिन लागिसक्यो, झन् अहिले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि भएका कार्यक्रम पनि कटौती भएका छन् । यसैपनि हामीकहाँ विदेशी अनुदान र विदेशी ऋणको परिमाण एकदमै कम हो ।

नेपालले बजेटमा विदेशी ऋण भनेपनि विदेशी अनुदानलाई नै बढी प्राथमिकता दिन्छ । ऋणको हकमा विदेशी भन्दा आन्तरिक ऋण नै बढी उठाउँछ । आउने ऋणमध्ये पनि विश्व बैंक र आईएमएफबाट बढी आउने भएकाले यसमा पनि खासै असर पर्छ जस्तो लाग्दैन ।

यसो भन्दैगर्दा ग्रे लिस्टमा पर्नु राम्रो समाचार चाहिँ होइन । र, पर्दैमा केही फरक पर्दैन भन्ने पनि होइन । मुलुकको साखमा कहीँकतै असर गर्छ । हामीले आफूलाई सुधार अवश्य गर्नुपर्छ ।

हिजो कन्ट्री रेटिङको नतिजाले उत्साहित थियौँ, के एफडीआई ब्यापक मात्रामा आयो त ? आएको छैन । आज ग्रे लिस्टमा पर्दा अब सबै सकियो, बर्बादै भयो भनिरहेका छौँ । सानो सानो कुरामा चाँडै खुशी हुने र स–साना विषयमा आत्तिहाल्ने हाम्रो स्वभाव छ ।

तर, आजको दिनमा ग्रे लिस्टमा परेको विषयभन्दा हामीले छलफल गर्नुपर्ने अरु विषय महत्वपूर्ण छन् । बैंकमा साढे ७ खर्ब तरलता थुप्रिएर बसेको छ, बजारमा पैसा छैन, ब्यापार व्यवसायको बिक्री घटिरहेको छ, कारोबार घटिरहेको छ, सरकारले राजस्व संकलन गर्न सकिरहेको छैन, विकास बजेट खर्चको अवस्था दयनीय छ । यी बढी चुनौतिपूर्ण कुरा हन्, यी विषयमा छलफल हुनुपर्छ । म त भन्छु, यो ग्रे लिस्टका विषयमा अहिले जसरी चर्चा भइरहेको छ, यो चर्चा गर्न जरुरी नै छैन ।

मनोज ज्ञवाली नबिल बैंकका सिनियर डेपुटी सीईओ हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोज ज्ञवाली
मनोज ज्ञवालीhttps://businesspana.com
सिनियर डेपुटी सीईओ, नबिल बैंक
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img