Sunday, May 3, 2026
spot_img
spot_img

देश विकासको नयाँ आयाम – सौर्य ऊर्जा

spot_img
spot_img

सञ्जिव न्यौपाने 

नेपाल जलस्रोतको मात्रै नभई सौर्य विकिरण (रेडिएसन) को पनि धनी देश हो । वर्षको झन्डै तीन सय दिन घाम लाग्ने नेपालमा सौर्य ऊर्जाको विकासले मुलुकको समग्र विकासमा नयाँ आयाम थप्न सक्छ । पछिल्लो दशकमा भएको जलविद्युत् उत्पादनले नेपाललाई लोडसेडिङमुक्त बनायो भने भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सघायो ।

तर, सुक्खायाममा नेपालले भारतबाट चर्को मूल्यमा बिजुली आयात गरिरहेको छ । जलविद्युत्‌मा मात्रै केन्द्रित रहेको नेपालको ऊर्जा क्षेत्रमा सौर्य ऊर्जा दिगो र भरपर्दो ऊर्जा आपूर्तिको माध्यम बन्नेछ । ग्रामीण विद्युतीकरणदेखि औद्योगिक विकास र कृषि क्षेत्रको आधुनिकीकरणदेखि वातावरण संरक्षणसम्म सौर्य ऊर्जाले बहुआयामिक रूपमा भूमिका खेलिरहेको छ ।

नेपालमा सौर्य ऊर्जाको इतिहास हेर्दा वि.सं. २०५० मा तनहुँ जिल्लाको पुलिमर्याङमा ५४ वटा घरधुरीबाट घरेलु सौर्य ऊर्जाको सुरूवात भएको पाइन्छ । राष्ट्रिय प्रसारण लाइन नभएको समयमा दुई-चार बत्ती बाल्ने गरी गुजारामुखी ऊर्जाको स्रोत सौर्य ऊर्जा थियो । तर, पछिल्लो तीन दशकमा सौर्य ऊर्जाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले मिश्रित ऊर्जा प्रणालीअन्तर्गत सौर्य ऊर्जालाई उपयुक्त विकल्पका रुपमा विकास र प्रवर्द्धन गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म सौर्य ऊर्जाबाट ९७०४ मेगावाट विद्युत् उत्पादन भएको छ, जुन कुल जडित विद्युत् क्षमताको ४७ प्रतिशत हो । प्राधिकरणले हालै ९६० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि सार्वजनिक बोलकबोलमार्फत निर्माण ठेक्का दिइसकेको छ । यी परियोजना सञ्चालनमा आएपछि राष्ट्रिय ग्रिडमा जडित सौर्य ऊर्जाको हिस्सा बढ्दै जानेछ । यसबाट सुक्खायाममा विद्युत्का लागि भारतमा भर पर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गरी विद्युत् आयातमा बाहिरिने रकमको बचत गर्नेछ ।

सुक्खायाममा जलविद्युत् उत्पादन कम हुँदा विद्युत्को उच्च माग पूरा गर्ने भरपर्दो विकल्पका रूपमा सौर्य ऊर्जालाई लिन सकिन्छ । बर्खामा -नदी तथा खोलानालामा प्रशस्त पानी हुने भएकाले जलविद्युत् उत्पादन धेरै हुन्छ । औद्योगिक क्षेत्रको माग धान्न समस्या हुँदैन तर सुक्खायाममा नदीनाला सुक्ने भएकाले विद्युत् उत्पादन घट्न जान्छ । विद्युत् उत्पादन घंट्यो भनेर मांग घट्दैन । यस्तो अवस्थामा विद्युत् माग पूर्ति गर्न सौर्य ऊर्जा भरपर्दो वैकल्पिक ऊर्जाका रूपमा स्थापित भइरहेको छ ।

लगानी बोर्ड नेपालले सार्वजनिक गरेको ‘इनर्जी प्रतिवेदनअनुसार नेपालमा एक वर्गमिटरमा ३.६ देखि ६२ युनिटसम्म विद्युत् उत्पादनको सम्भाव्यता दर्शाएको छ । प्रतिवेदनअनुसार एक किलोवाट सोलार पीभी जडान गर्दा जोमसोममा औसत १८५ मेगावाट घण्टा, काठमाडौमा १५३ मेगावाट घण्टा र नेपालगन्जमा १४५ मेगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ । यस तथ्यांकलाई आधार मान्दा नेपालमा सौर्य ऊर्जा उत्पादनको कुल प्राविधिक सम्भाव्यता चार लाख ३२ हजार मेगावाट अनुमान गरिएको छ । नेपालमा जलविद्युत् उत्पादनको आर्थिक तथा प्राविधिक सम्भाव्यता ४३ हजार मेगावाट रहेको छ भने सौर्य ऊर्जा उत्पादनको सम्भावना जलविद्युत्‌को तुलनामा १० गुणा धेरै छ । त्यसैले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेर प्रवर्द्धन गरेमा मुलुकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

ऊर्जाका विषयमा महत्त्वपूर्ण र पेचिलो विषय भनेको जलवायु परिवर्तन हो । नेपाल जलवायु परिवर्तनबाट प्रभावित हुने विश्वका शीर्ष देशको सूचीमा पर्छ । गत असोज ११ र १२ गतेको भारी वर्षाले कैयौं जलविद्युतका परियोजना बगाएको छ । अर्वौ रूपैयाँको क्षति भएको छ । तुलनात्मक रुपमा सौर्य ऊर्जाका परियोजना कम प्रभावित भएका छन् । यसरी सौर्य ऊर्जामा गरिएको लगानी सुरक्षित भएको सन्देश दिएको छ । साथै सौर्य उत्पादनका लागि काम सुरू गरेको ( टेन्डर अवार्ड भएको ) ४-६ महिनाभित्रमा सोलार आयोजनाबाट विद्युत् उत्पादन गर्न सकिन्छ । जलविद्युत् परियोजनाको निर्माण सम्पन्न गर्न नै न्यूनतम ३-४ वर्ष लाग्छ । छिटो र सस्तोमै उत्पादन गर्न सकिने भएपछि प्राधिकरणले पनि सौर्य ऊर्जाको प्रवर्धनलाई प्राथमिकतामा राखेको देखिन्छ ।

सौर्य ऊर्जा क्षेत्रका समस्या र समाधानका उपाय

सौर्य ऊर्जा उत्पादनको पनि सबैभन्दा ठूलो समस्या पीपीए (विद्युत् खरिद-बिक्री सम्झौता) दर हो । प्राधिकरणले घटाघट विधिबाट परियोजनाको बोलपत्र आह्वान गर्ने गरेको छ । हालै ठेक्का लागेको ९ सय ६० मेगावाटको टेन्डरमा औसत् पिपिए दर पाँच रूपैयाँ ५० पैसा तोकिएको छ र परियोजना अवधिभर (३० वर्ष) सम्म सोही दर कायम रहन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता छ । ब्याजदर एकल अंकमा झरेको छ र सोलार प्यानलको मूल्य पनि पछिल्लो वर्षमा घट्दै जाँदा व्यवसायीले पाँच रूपैयाँ ५० पैसामा विद्युत् उत्पादन गरेर प्राधिकरणलाई बिक्री गर्न सक्नेछन् । तर, सधै यही अवस्था रहन्छ भन्ने ग्यारेन्टी छैन । त्यसमाथि दिनानुदिन मुद्रास्फीति बढ्दै छ । ३० वर्षसम्मका लागि पीपीए दर कायमै रहने प्रावधानले दीर्घकालमा व्यवसायीहरु मारमा पर्छन् । तसर्थ पीपीए दरलाई समय-समयमा समीक्षा गरी मुद्रास्फीति दरअनुसार समायोजन गरेर जानुपर्छ । यदि एउटै दर ३० वर्षसम्म कायम रहने हो भने यो विद्युत् खरिद-बिक्री सम्झौता नभई करार (कन्ट्रयाक्ट) हुन जान्छ । जसले प्राधिकरण र सरकारलाई मात्रै फाइदा दिन्छ ।

सौर्य ऊर्जाका कारण आएको एउटा ठूलो समस्या हो- सोलार परियोजनाका कारण मासिंदै गएको खेतीयोग्य जमिन । राज्यले कृषि उत्पादकत्व बढाउने नीति अघि सारिरहँदा तराईको उर्वर भूमिमा क्षमतावान्‌ले सोलार प्यानल राखेका छन् । अरु कतिपयले जग्गा प्लटिङ गर्दै खेतीयोग्य जमिन मासिरहेका छन् । खेतीयोग्य जमिन र सौर्य ऊर्जा एक- अर्कोमा बाझिँदा दीर्घकालमा ठुलो समस्या निम्त्याउने देखिन्छ । हामीले अहिले आफ्नो मलिलो जग्गा मासेर आयातित चामल, तेलको प्रयोग गरिरहेका छौ । यसतर्फ पनि सरकार र प्राधिकरणले ध्यान दिन आवश्यक छ । टेन्डर आह्वान गर्दा सब-स्टेसननजिक पर्ने पहाडको भूभागमा सोलार प्यानल राख्नुपर्छ । छिमेकी भारतकै उदाहरण हेर्दा राजस्थान, हरियाणा, गुजरात र पन्जाबका सुक्खा (बन्जर) भूमिमा सोलार प्यानल राखेको पाइन्छ । प्यानल राख्दा कृषि क्षेत्रलाई असर नपुग्ने गरी पूर्ण अध्ययन गरेर भारतकै मोडालिटी अपनाउन सकिन्छ ।

त्यस्तै, पहाडमा सोलार प्यानल राख्दा पकेट क्षेत्रको स्थापना गर्न सकेमा एउटै प्रसारण लाइनमा धेरै परियोजनाको विद्युत् जडान गर्न सकिन्छ र प्रसारण लाइन विस्तारको काम माकुराको जालोजस्तो देखिँदैन । अर्थात् कृषि र सोलार परियोजनालाई एकीकृत ढङ्गबाट अघि बढाउन सकिन्छ । सोलार प्यानलको स्ट्यान्ड अग्लो बनाएर प्यानलमुनि बदाम, जिरा, बेसार, सागजस्ता बाली लगाउन सकिन्छ । भारतको बैङ्ग्लोर, कर्नाटकमा सोलार प्यानलमुनि पोल्ट्री फार्म गरिरहेका छन् । विद्युत् उत्पादन पनि हुने र कृषि उत्पादनमा पनि टेवा पुग्न गई रोजगारी वृद्धिमा समेत सहयोग गर्छ । त्यसैले सोलार क्षेत्रको विस्तारले कृषि क्षेत्रलाई पनि टेवा पुयाउन सक्छ । उर्वरभूमि बाँझो हुँदैन ।

सौर्य ऊर्जाको अर्को समस्या प्राविधिक विकासलाई अनुसरण गर्न नसक्नु हो । विश्वमा नयाँनयाँ इन्नोभेसन भइरहेको छ । सोलार प्यानलको क्षमता दिनानुदिन बढ्दै गएको छ । अपी पावर कम्पनीले सौर्य ऊर्जा उत्पादन सुरू गर्दा प्यानलको इफिसेन्सी ३५० वाट पिक थियो अहिले ६५० वाट पिक क्षमताका सोलार प्यानल चीनमा प्रयोग भइरहेको छ । त्यसैले विश्वव्यापी रूपमा विकसित प्रविधि अँगाल्न पनि पछि पर्नु हुँदैन । उच्च क्षमता भएका गुणस्तरीय प्यानलको प्रयोग गर्दा थोरै जग्गामा पनि अधिकतम बिजुली उत्पादन गर्न सकिन्छ । यस्तै रोबोटले सोलार प्यानल सफा गर्ने प्रविधि विकसित देशहरुमा छ । कम पानीको प्रयोग गरेर मानव आँखा देख्न नसक्ने फोहोरलाई पनि रोबोटको प्रयोग गरी सफा गरिएको छ । यस्ता प्रविधि नेपालमा पनि हस्तान्तरण (ट्रान्सफर) हुन आवश्यक छ । त्यसका लागि सरकारले व्यवसायीहरुलाई सचेत बनाउने र तालिम दिने काम गर्नुपर्छ । विज्ञान र प्रविधिको युगमा विकसित प्रविधिको प्रयोग गर्न सके धेरै फाइदा लिन सकिन्छ ।

पछिल्लो समय रूफटप सोलार प्यानलको प्रयोग विकसित देशहरुमा बढ्दै गएको छ । देशका मुख्य उद्योगहरुले आफ्नो छानामा सोलार प्यानल राखी विद्युत् उत्पादन गरेर आफूलाई चाहिँदा आफूले प्रयोग गर्ने र बढी भएको प्राधिकरणलाई बेचेर नेट मिटरिङको अवधारणा अवलम्बन गर्न सकिन्छ । व्यवस्थित अध्ययन गरी रूफटप प्रविधिलाई प्रयोगमा ल्याउन सकिए उद्योगहरुले भोगिरहेको विद्युत् कटौतीको समस्या पनि समाधान हुने देखिन्छ ।

नीतिगत सहजताको अपेक्षा

सौर्य ऊर्जा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । छोटो समयमा निर्माण सम्पन्न हुने, उत्पादन सुरु भएदेखि प्रतिफल दिने भएकाले लगानीका हिसाबमा पनि सहज र सुरक्षित छ । सहज किन भने सौर्य ऊर्जा उत्पादनको टेन्डर अवार्ड भइसकेपछि लाइसेन्सिङ जेनेरेसन लाइसेन्सिङ, रोयल्टी र वातावरणीय पक्ष (ईआईए) का लागि जलविद्युत् परियोजनाका लागि जस्तो धेरै विभाग धाउनु पर्दैन । तर, थप व्यवस्थित गर्दै एकद्वार प्रणाली भने, निर्माण गर्नुपर्छ ।

त्यस्तै, सौर्य ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चाहे लगानी सुनिश्चितता सरकारले गरिदिनुपर्छ । साथै लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रियालाई सहज र सरलीकृत गरिदिनुपर्छ । यसले विदेशी लगानीकर्तामा आकर्षण बढ्छ । त्यसैगरी १५ वर्षसम्म दिइएको आयकर छुट परियोजना अवधिभर लागु गरे व्यवसायीहरु थप आकर्षित हुन सक्छन् ।

सौर्य ऊर्जा विस्तारलाई दिगो बनाउन टेन्डर आह्वानका क्रममा घटाघट विधि अपनाइरहँदा गुणस्तर र दीर्घकालीन प्रभावलाई पनि ध्यानमा राख्नुपर्छ । पीपीए दरको समीक्षा गरी संशोधन गर्नुपर्छ । सस्तो बिजुली मात्रै होइन विद्युत्‌को माग, आपूर्ति र सब-स्टेसनको क्षमतालाई हेरेर पहाडमा पनि सोलार प्यानल राख्नुपर्छ । पूर्ण अध्ययन गरेर तराई र पहाडका लागि फरक-फरक टेन्डर आह्वान गर्नुपर्छ किनकि मूल्यमा मात्रै जोड दिँदा सोलार परियोजना तराईकेन्द्रित भइरहेका छन् ।

निष्कर्ष

सरकारले कृषियोग्य जमिनको संरक्षण र सौर्य ऊर्जाको विकासबीच सन्तुलन कायम गरी विद्युत् खरिद दरलाई समयानुकूल समायोजन, नवीनतम प्रविधिको प्रयोग र नीतिगत सहजीकरण गरिदिए सौर्य ऊर्जाले नेपालको विकासमा नयाँ आयाम थप्नेछ । सौर्य ऊर्जा र कृषि क्षेत्रको एकीकृत विकास गर्दै आधुनिक प्रविधिको प्रयोग र वैदेशिक लगानी आकर्षण गर्न सके नेपालले छोटो समयमै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सक्छ । यसका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाहरुको समन्वय आवश्यक छ । सौर्य ऊर्जाका क्षेत्रमा देखिएका समस्याहरुको समाधान गरी प्रचुर सम्भावना बोकेको सौर्य ऊर्जाको विकास र प्रवर्धनले देशको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुऱ्याउनेछ ।

( न्यौपाने अपी पावर कम्पनीका प्रबन्ध निर्देशक हुन्। यो लेख नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल अर्थचित्र २०८१ बाट साभार गरिएको हो।)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सञ्जिव न्यौपाने
सञ्जिव न्यौपानेhttps://businesspana.com
प्रबन्धक निर्देशक, अपि पावर कम्पनी
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img