Saturday, May 9, 2026
spot_img

‘सडकमा कालोपत्रेको सट्टा कंक्रिट ढलान गर्दा ३०औँ वर्षलाई ढुक्क हुन्छ, मर्मत पनि गर्नु पर्दैन’

spot_img
spot_img

आगामी आर्थिक वर्षको बजेटमार्फत सडकमा कंक्रिट ढलानको अवधारणामा जाने विषय समावेश भएर आएको छ । हुन त, यसअघिका बजेटमा पनि यो विषय समावेश नभएको होइन, तर व्यवहारिक कार्यान्वयन भने हुन सकेको थिएन । यसपटक पनि बजेटमार्फत विषय समावेश भएकाले सिमेन्ट तथा डण्डी उद्योगीहरु केही हर्षित चाहिँ भएका छन् ।

विभिन्न समयमा भए गरेका अध्ययनले कंक्रिट सडकको अवधारणामा जानु उपर्युक्त हुने निष्कर्ष निकालेको छ । कालोपत्रे गर्दा बिटुमिन र डिजेल आयात गर्नुपर्ने भएकाले ‘सेतोपत्रे’ (कंक्रिट ढलान) गर्दा स्वदेशी सिमेन्ट तथा डण्डीको प्रयोग हुने र टिकाउ पनि वर्षौसम्म हुने भएकाले सेतोपत्रे सडकको बहस सुरु भएको हो । तर, नेपालमा हालसम्म पनि केही स–साना सडक र पुलबाहेक अन्यत्र कंक्रिट प्रयोग भएको छैन ।

यस सन्दर्भमा बिजनेश पानाले कंक्रिट सडक बनाउँदा हुने फाइदा लगायतका विषयमा सिवम् सिमेन्ट लिमिटेडका प्रबन्ध निर्देशकसमेत रहेका नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघु नन्दन मारुसँग कुराकानी गरेको छ ।

नेपालमा कंक्रिट सडकको बहस सुरु भएको यत्तिका वर्ष भइसक्यो तर, अझै पनि सडक पूर्वाधारमा कंक्रिटको प्रयोग बढ्न नसक्नुको कारण के होला ?

हामीले लामो समयदेखि सडकमा कालोपत्रे पीच गर्नुको सट्टा कंक्रिट बिच्छ्याएर ढलान गर्ने अवधारणामा जानुपर्छ भन्दै आएका छौँ । विगतदेखि नै बजेटमा यो विषय समावेश पनि हुँदै आएको छ । तर, सोचे जति काम हुन सकेको छैन ।

पहिलो कुरा, सडक पूर्वाधारमा कंक्रिटको एसेप्टेशन हुन बाँकी नै छ । यद्यपी, क्रमश: बढ्दो क्रममा छ । जहाँ जहाँ टर्निङ छ, त्यहाँ ढलान गर्न थालिएको छ ।

अर्को चाहिँ, बिटुमिन राखेर गरिने कालोपत्रेको तुलनामा लागत बढी हुन्छ भनेर पनि अहिले कंक्रिट रोडमा गइहाल्नका लागि हिचकिचाइएको हो कि भन्ने लाग्छ ।

कालोपत्रे गर्दा भन्दा कंक्रिट राखेर ढलान गर्दा लागत कत्तिको महँगो पर्न जाने देखिन्छ ?

सुरुवाती लागत तुलनात्मक रुपमा ३० देखि ४० प्रतिशत महँगो पर्न जान्छ । तर, यो मात्रै हेर्नु भएन, टिकाउपन पनि हेर्नुपर्ने हुन्छ । कालोपत्रे गरेका सडक हेर्ने हो भने २ वर्ष ३ वर्षमा भत्किएको हामीले देख्दै आएका छौँ, तर कंक्रिट ढलान गर्दा ३०औँ वर्ष टिकाउ हुन्छ ।

यसकारण सुरुमा पर्ने लागत मात्रै हेरिनु हुँदैन । पिच सडक दुइ/दुइ वर्षमा भत्किँदा त्यसलाई मर्मत सम्भारमा लाग्ने खर्च पनि हेर्नुपर्ने हुन्छ । कंक्रिट ढलान गर्दा कम्तीमा ४०/५० वर्ष ढुक्क हुन्छ । बीचमा मर्मत सम्भारमा खर्च गरिरहनु परेन, स्वदेशी उद्योगको माग बढ्ने भयो । त्यसले रोजगारी र राजस्वमा दिने योगदान पनि बढ्ने भयो । यी कुरा महत्वपूर्ण हुन् नि ।

देशको भू–वनोटका आधारमा पनि कंक्रिट सडक उपर्युक्त हुन्छ भन्ने तपाइहरुको तर्क रहँदै आएको छ । यसबारे प्रष्ट पार्दिनुहोस् न ?

हाम्रो देश नेपाल पहाडी भू–भाग बढी भएको देश हो । पहाडमा पक्की सडक बनाउन समय पनि धेरै लाग्छ, तराईको तुलनामा निकै असजिलो पनि छ । यस्तो भौगोलिक अवस्था बढी भएको हुनाले पनि नेपालमा कंक्रिट सडकको अवधारणामा जाँदा त्यसले हित गर्छ भनेर हामीले भन्दै आएका हौँ, विभिन्न अध्ययनले पनि यो कुरा नै देखाएका छन् ।

तपाई हामीले गत असोज महिनामा ठूलो बाढी पहिरोले क्षति गरेको देख्यौँ । त्यसबेला भत्किएका रोडहरु हेर्ने हो भने कंक्रिट ढलान गरिएका रोडहरुमा कम मात्रामा क्षति भएको छ । जहाँ जहाँ कंक्रिट ढलान गरिएको छ, त्यो सडक बाँकी छ, अरु सबै बगाएको छ । यसबाट पनि हाम्रो जस्तो भू–वनोट भएको देशमा सडकमा कंक्रिट ढलान आवश्यक छ भन्ने कुराको पुष्टि हुन्छ ।

अर्को कुरा, नेपालमा ४० टन, ५० टनका मालबाहक गाडीहरु आउँछन् । तर, हाम्रो सडक पूर्वाधारका कारण दुर्घटनाको जोखिम भइरहेको हुन्छ । कालोपत्रे सडक केही दिनमै लच्किएर भासिने हुन्छ । ठूला ठूला लोड बोकेका गाडीलाई भन्सार पास दिएर प्रवेश अनुमति दिने तर, सडक पूर्वाधार चाहिँ कमजोर बनाउने भन्ने कुरा पनि राम्रो हुँदैन । यदि कंक्रिट रोड बनाउने हो भने सडक टिकाउ पनि हुन्छ, त्यस्ता मालबाहक गाडी पनि सहजै आवतजावत गर्न सक्छन् । यसकारण सरकारले यस अवधारणालाई चाँडै लागू गर्नुपर्ने आवश्यकता छ ।

कंक्रिट ढलान गरेर सडक बनाएका अन्तर्राष्ट्रिय उदाहरणहरु पनि हेर्नु भएको छ ?

धेरै टाढा जानै पर्दैन, छिमेकी देश भारत नै काफी छ । भारतमा ८ लेनका राजमार्गहरु पनि कंक्रिट ढलान गरिएका छन् । उनीहरुले ५०/५५ वर्ष पहिला नगर स्तरका रोडहरुबाट कंक्रिट ढलान सुरु गरे, अहिले ठूला राजमार्गहरुमा यहीँ अवधारणा अनुसार काम गरिरहेका छन् । विगतमा दिल्लीका रोडहरु कंक्रिट ढलान गरिएका थिए, त्यसबाट उनीहरुले मर्मत सम्भार खर्च बच्दोरहेछ भन्ने थाहा पाएर अहिले राष्ट्रिय राजमार्गमै कंक्रिट ढलान गर्न थालेका छन् ।

अन्य देशहरुमा पनि कंक्रिट ढलान गरेर सडक बनाउने अभ्यास बढिरहेको छ । चीनमै पनि त्यस्ता सडकहरु प्रशस्त छन् ।

कंक्रिट सडक बनाउन समय पनि धेरै लाग्छ भन्ने सुनिन्छ । यो कत्तिको सत्य हो ?

समय धेरै लाग्छ भन्ने भ्रम हो । अहिले एडभान्स प्रविधि आएको छ, त्यसको प्रयोग गरेर छोटो समयमै धेरै काम गर्न सकिन्छ । फलानो देशले २४ घण्टामै दशौँ किलोमिटर पक्की सडक बनायो भनेर हामी सुनिरहेका हुन्छौँ, हामीले पनि चाहेको खण्डमा त्यो काम गर्न नसक्ने भन्ने हुँदैन । केवल इच्छाशक्ति चाहिँ हुनुपर्‍यो ।

बजेटमा घोषणा हुने तर, कार्यान्वयन नहुने विगतको भोगाइ छ । यसपटक चाहिँ कार्यान्वयन हुन्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

हामी उद्योगी व्यवसायी आशावादी नै हुन्छौँ । अहिले नेपालको सिमेन्ट उद्योगमा ३० हजार करोड लगानी छ । तर, माग नहुँदा क्षमता अनुसारको उत्पादन हुन सकिरहेको छैन । यदि कंक्रिट सडकको अवधारणामा गएर काम सुरु हुने हो भने सिमेन्ट, डण्डी, गिट्टी, बालुवा सबै आफ्नै देशको प्रयोग हुन्थ्यो । बिटुमिन आयात गर्नु पर्ने थिएन । गत वर्ष मात्रै ९ अर्बको बिटुमिन आयात भएको छ, त्यो पैसा स्वदेशमै रहन्थ्यो ।

यसकारण पटक पटकको हाम्रो अनुरोध स्वीकार गरेर सरकारले बजेटमा यी विषय ल्याउन थालेको छ । ‘अर्बन एरिया’का सडकबाट कंक्रिट ढलान गर्दै क्रमश: हाइवेमा समेत विस्तार गर्दै जान सकिन्छ भन्ने हाम्रो कुरा छ । मलाई विश्वास छ, आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु हुँदा कंक्रिट रोडको कुरा पनि कार्यान्वयनमा जान्छ ।

अन्तिममा, निर्माण सामग्रीको खपत बढ्न विकास बजेट खर्च गर्ने सरकारको क्षमता पनि बढ्नुपर्ने हुन्छ । यसमा हाम्रो विगत त्यति सन्तोषजनक छैन । यस सन्दर्भमा के भन्नुहुन्छ ?

उदारवादी अर्थतन्त्र भन्ने तर, संकुचित नीति लिइनु हुँदैन । हाम्रो जस्तो विकासशील देशले जतिसक्दो धेरै भौतिक विकास गर्नुपर्छ । यसका लागि सरकार र निजी क्षेत्र दूबैले लगानी बढाउनुपर्ने हुन्छ । म त भन्छु, यस विषयमा खनाल आयोग (उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग)को प्रतिवेदन कार्यान्वयन गर्ने हो भने धेरै कुरा मिल्दै जान्छ ।

मूल कुरा इच्छाशक्ति हो र राजनीतिक स्थिरता पनि हो । नेपाल अपार सम्भावना भएको देश हुँदाहुँदै पनि हामी पछि परिरहेका छौँ । आजभन्दा १२/१३ वर्ष अगाडीसम्म भारतकै अर्थतन्त्र पनि त्यति सबल थिएन, अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनिसक्यो, चाँडै तेस्रो हुँदैछ ।

हामी भने हाम्रा सम्भावनाका क्षेत्र पहिल्याएर काम गर्न खोज्दा अझै पनि रोकेर बसिरहेका छौँ । सरकारले गिट्टी-बालुवा बेच्ने भन्दा मुद्दा हाल्ने काम हुन्छ । जबकी, आज पनि गिट्टी बालुवा बगेर गइरहेको छ, त्यसलाई प्रशोधन गरेर बेच्ने भन्दा मुद्दा मामिला सुरु हुन्छ । यो हाम्रा लागि दुर्भाग्य हो ।

जोसँग जे छ त्यहीँ बेच्ने हो । अरबका देशले पेट्रोलियम पदार्थ उत्खनन् गरेर बेचेर धनी भएका छन् । उनीहरुले पनि हामीले गिट्टी बालुवा लगायतका वस्तु उत्खनन् गर्न दिनु हुँदैन भनेको जस्तै पेट्रोलियम पदार्थ उत्खनन् गर्नु हुँदैन भनेर बसेको भए आज खाडीका देशले त्यति ठूलो उन्नति गर्न सक्थे ? सक्दैनथे नि । त्यसकारण जे छ त्यो बिक्री गर्ने हो, यसका लागि नागरिक पनि जागरुक हुन जरुरी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img