Saturday, April 19, 2025
spot_img

विकास बजेट खर्च गर्ने र पूर्वाधार विकासमा केन्द्रित हुने भनेको सरकारले नै हो (अन्तर्वार्ता)

अहिले बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम भएपनि कर्जाको माग कम छ । बजारमा माग वृद्धि नहुँदा वस्तुको उत्पादनमा कमी आईरहेको उद्यमीहरुको तर्क छ । कतिपय उद्योगहरुले क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेको गुनासो पनि छ ।

बजार मागभन्दा उत्पादन क्षमता बढी भएको कारणले पनि कतिपय उद्योगलाई असर गरेको देखिन्छ । उदाहरणका लागि फलामे डण्डी निर्माण गर्ने उद्योगहरुसँग वार्षिक ५० लाख टन उत्पादन क्षमता छ । जबकि, गत वर्षको तथ्याङ्क अनुसार साढे ९ लाख टन टीएमटी फलामे छड खपत भएको छ ।

बिजनेश पाना म्यागेजिनको यस अङ्कमा हामीले स्टिल तथा डण्डी उद्योगहरुमा भएको लगानी, तिनको उत्पादन क्षमता र बजारको मागमा केन्द्रित रहेर पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक उज्वल श्रेष्ठसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

अहिले नेपालमा २ दर्जन जति फलामे डण्डी उद्योग छन् । एउटा उद्योगको लागत कति पर्छ ? र, अहिले स्टिल उद्योगमा कुल लगानी कति छ ?

डण्डी उत्पादनको क्षमता अनुसार उद्योगको लगानी निर्धारण हुन्छ । मेल्टिङ मात्रै राख्दा पनि २० करोडदेखि १०० करोडसम्म लगानी जानसक्छ । लगानी उद्योगको उत्पादन क्षमतामा भर पर्छ । कतिपयले लगानी थप्दैथप्दै गएका पनि हुन्छन् । अहिलेको समयमा एउटा डण्डी उद्योग लगाउँदा ८० देखि १५० करोड रुपैयाँसम्म लगानी गरिन्छ । यसमा जग्गादेखि भवनसम्म पर्छ ।

अर्कोतर्फ, नेपालको डण्डी उद्योगमा थप लगानी गर्नेभन्दा पनि अहिले धेरै उद्योगहरु नै बिक्रीमा छन् । बजारबाट पैसा उठेको छैन, नयाँ माग छैन, उत्पादन कटौती गर्नुपरिरहेको छ, साँवा ब्याज तिर्नु परिहाल्यो, कर्मचारीको तलब भत्ता दिनु परिहाल्यो । यसकारण ३०औँ अर्ब लगानीमा बनेका उद्योगहरुमध्ये धेरै डण्डी उद्योगहरु अहिले बिक्रीमा छन् ।

उद्योग नै बिक्रीमा राख्नुपर्ने अवस्था किन आयो ? एकदुई वर्ष व्यापार नहुँदा नै यो स्थिति आउनुमा उद्योगीहरुको योजनामा पनि त्रुटी हो कि ?

बजार मागभन्दा उत्पादन क्षमता बढी छ । आवश्यकता भन्दा ५ गुणा बढी उत्पादन क्षमता भएपछि सबैको बिक्री घट्ने नै हो । अहिले माग कम हुनुको अर्काे कारणसरकारले पूर्वाधार विकासमा ठूलो खर्च गर्न नसक्नु हो । विकास बजेट खर्च भएको छैन, निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भूक्तानी पाइरहेका छैनन् । एक हिसाबले भन्ने हो भने निर्माणको चक्र नै बिग्रिएको अवस्था छ । यस्तो अवस्थामा उद्योग कहिल्यै पनि फस्टाउँदैनन् ।

जहाँसम्म उद्योगीको योजनाको कुरा छ, यसमाचाहिँ मार्जिन देखेपछि लगानी गर्ने सबैको चाहना हुन्छ । हिजो भूकम्पपछि बजारमा माग राम्रो थियो, उद्योगहरु पनि थपिए । अहिले त्यसमा संकुचन आएको छ, उद्योगहरुलाई गाह्रो भइरहेको छ । मुख्य कुरा, विकास बजेट खर्च गर्ने र पूर्वाधार विकासमा केन्द्रित हुने भनेको सरकारले नै हो । यदि त्यसो हुन सकेको खण्डमा उद्योगहरु राम्रोसँग चल्न सक्छन् र अर्थतन्त्र पनि राम्रो हुन थालिहाल्छ ।

अहिले नेपालका स्टिल उद्योगहरुको वार्षिक उत्पादन क्षमता र खपतबीच कति ‘ग्याप’ छ ?

नेपालमा भएका डण्डी उद्योगहरुमा ५० लाख टन उत्पादन क्षमता हुँदा गत २ वर्षको खपतको आँकडा हेर्दा १० लाख टन हाराहारी मात्रै भइरहेको छ । यसलाई आधार मानेर हिसाब गर्दा त उद्योगहरु क्षमताको २० प्रतिशतमा मात्रै चलेका छन् भन्ने प्रष्ट देखिन्छ ।

यद्यपि, कुनै कुनै उद्योगहरु ४० प्रतिशतमा पनि चल्न थालेका छन्, कोही २५ प्रतिशतको आसपास मात्रै चलिरहेका पनि छन् । पञ्चकन्याको हकमा कुरा गर्दा हामी क्षमताको ४५ प्रतिशतभन्दा माथि पुगेका छौँ, ५० प्रतिशत छुन खोजिरहेका छौँ । हाम्रो उत्पादन क्षमता वर्षमा डेढलाख टन मात्रै हो । जबकि अरु उद्योगहरुको उत्पादन क्षमता २ लाख टन, ३ लाख टन पनि छ । औसतमा प्रति उद्योग उत्पादन क्षमता २ लाख टन छ ।

अहिले उद्योगहरु औसतमा आफ्नो क्षमताको २५ देखि ३० प्रतिशतमा मात्रै चलेका छन् । उत्पादन क्षमता र खपतको तुलना गर्दा क्षमताको निकै सानो अंशमात्रै खपत भइरहेको छ । यसलाई बढाउन पूर्वाधार विकासमा केन्द्रित हुनुको विकल्प छैन ।

अहिले बैंकको ब्याजदर कम छ, तरलता प्रशस्त छ तरपनि उत्पादनमूलक उद्योगमा लगानी बढ्न सकिरहेको छैन । लामो इतिहास बोकेको र उत्पादनमूलक उद्योगमै केन्द्रित रहेको औद्योगिक घरानाको प्रतिनिधिका रुपमा तपाईले यसका पछाडि के–कस्ता कारणहरु देख्नुभएको छ ?

लगानीकर्ताहरुले उच्च मनोबलका साथ लगानी गर्न नसकिरहेको यथार्थ हो । सुरुमा राष्ट्र बैंकले कसिलो नीति (चालु पूँजी कर्जा मार्गदर्शन लगायतका) अख्तियारी गर्दा त्यसको प्रभाव प¥यो, जबकि त्यो नीति चाहिने खालकै नीति थियो । मात्रै अलिक असजिलो बेलामा आयो । कोभिडले प्रभावित बनेको निजी क्षेत्रले व्यवसाय जोगाउन संघर्ष गरिरहेको थियो, त्यस्तो असजिलो बेलामा राष्ट्र बैंकले १०० करोडको कारोबार गर्नुहुन्छ भने २५ करोडमात्रै चालु पूँजी पाउने भनिदियो । यसमा पनि ट्रेडिङ होस् वा उद्योग होस्, एउटै नीति लागू गरियो । ट्रेडिङमै त पैसा उठ्न समय लाग्छ भने, उद्योगमा त कच्चा पदार्थ ल्याउनुप¥यो, सामान बनाउनुप¥यो, बेच्नुप¥यो, पैसा उठाउनुप¥यो अनि बल्ल बैंकलाई दिने हो । यसकारण कारोबारको २५ प्रतिशतमात्रै चालु पूँजी पाउने भन्ने प्रावधान व्यावहारिक भएन ।

केन्द्रीय बैंकले राम्रो नियतले त्यो नीति ल्याएको थियो होला, तर समय ठिक परेन । यद्यपि, उक्त नीतिका कारण बैंकिङ क्षेत्रमा राम्रो पनि भएको छ । ‘एक्सेस लोन’ राम्रो भएको छ, तरलता बढेको छ ।

अहिलको आर्थिक मन्दी नेपालमा मात्रै देखिएको होइन, विश्वव्यापी नै हो । एशियाका अरु धेरै देशमा पनि लगानी थप भएको देखिँदैन भने भएको कर्जालाई पनि लगानीकर्ताहरुले उपयोग गर्न सकिरहेका छैनन् । विश्वभरी नै लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा छन् ।

सँगै, नयाँ उद्योग राख्न प्रोत्साहन गर्न खोजिएपनि त्यो वातावरण बनिरहेको छैन । ब्याजदरमा त तलमाथि हुन्थ्यो नै, सरकारको नीतिमा पनि चाँडोचाँडो तलमाथि हुने रैछ भन्ने डरले पनि मान्छेहरु उद्योगतर्फ खासै आकर्षित भएका छैनन् । उनीहरुको आत्मविश्वास बढ्न सकिरहेको छैन । उद्योग खोल्ने भन्ने कुरा सामान्य होइन, भोलि चलाउन नसक्दा कम्तीमा घाटै खाएर पनि बेच्न सक्नुप¥यो । त्यो पनि सम्भावना नदेखेपछि अहिले थप लगानी बढ्न नसकिरहेको हो ।

अहिले उद्यमी व्यवसायीहरु कर्जा थप गर्ने भन्दापनि बजारमा फसेको पैसा उठाउने र बैंकलाई कर्जाको साँवा, ब्याज तिर्ने रणनीतिमा छन् । पैसा उठाउनै धौधौ भइरहेको छ । तथापि, सन् २०२५÷०२६ देखि केही सुधार हुन्छ कि भन्ने आशा विश्वभरी नै देखिन्छ ।

उत्पादनमूलक उद्योगमा लगानी नबढी रोजगारी र राजस्व बढ्ैन भन्ने सबैले महशुस गरिरहेकै कुरा हो । लगानी बढाउँदै रोजगारी र राजस्व वृद्धि गर्न सरकारले के–कस्ता नीतिगत सहजीकरण गरिदिनुपर्ने देख्नुहुन्छ ?

मेरो व्यक्तिगत धारणा भन्नुहुन्छ भने, म हाम्रो परिवारको औद्योगिक, व्यावसायिक यात्राको तेस्रो पुस्ता हुँ । आजको दिनमा मेरो निचोड के हो भने, जबसम्म सरकार बलियो र निजी क्षेत्रमैत्री हुँदैन, तबसम्म हाम्रो पुस्ताले लगानी बढाउने, उद्योग खोल्ने आँट गर्न गाह्रो छ । हामीले आँट गर्ने भनेको सानोसानो क्षमताका उद्योगमा मात्रै हो, ठूला उद्योग खोल्ने आँट हाम्रो जेनेरेशनले गर्नसक्दैन ।

म पञ्चकन्यामा बसेको २ दशक भइसक्यो । यो अवधिमा मैले के देखेको छु भने, सरकार बलियो भएको बेला पूर्वाधार बन्थे, निर्माणको काम हुन्थ्यो, श्रमिकले काम पाउँथे, बजारमा माग बढ्थ्यो । तर, यो अवस्था एकदमै छोटो समयमात्रै रहनु हाम्रो दुर्भाग्य रहँदै आएको छ ।

पञ्चकन्याले जहिल्यै पनि उत्पादनमूलक क्षेत्रमा ध्यान दिँदै आएको छ, हाम्रो चाहना भविष्यमा पनि उत्पादन नै हो । तर, अब ‘लार्ज स्केल’मा नभई ‘स्मल स्केल’मा केन्द्रित हुनुपर्ने बाध्यता देखिएको छ ।

अहिलेको सरकारले पनि स्थिरताको कुरा गरिरहेको छ । यसर्थ, उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन गर्न सबैभन्दा पहिलो र मुख्य कुरा नै स्थिर सरकार वा राजनीतिक स्थिरता हो भन्ने लाग्छ । बाँकी कुराहरु त स्थिरता भएपछि समयक्रममा मिल्दै जान्छन् ।

कर्पोरेट हाउसहरुले लगानी विविधिकरण गरिरहेको देखिन्छ । पछिल्लो समय एउटा क्षेत्रमा सफलता हासिल गरेका ग्रुपहरु फरक क्षेत्रमा प्रवेश गरिरहेका छन् । यसको सन्देश के हुनसक्छ ?

एउटा लगानीकर्ताले जहिल्यै पनि लगानी बढाउने, नाफा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने र राजस्व तिर्ने कुरा नै सोच्ने गर्दछ । एउटा बिजनेश सुरु गरेर त्यसलाई राम्रो बनाएपछि भएकोलाई जोगाउँदै अब फरक के गर्ने भन्ने सोच्दछ । यसर्थ, उद्योगीहरुको लगानी कहिल्यै पनि रोकिँदैन ।

उत्पादनमूलक उद्योगमा केन्द्रित रहेका ग्रुपहरुले के वस्तु धेरै आयात भइरहेको छ ? र, त्यो स्वदेशमै उत्पादन गर्न सम्भव छ कि छैन भनेर हेर्ने गर्दछन् । विश्वभरी नै कुनै कम्पनी सफल भएपछि उसले कि प्रोडक्ट थप्छ, कि अर्को क्षेत्रमा लगानी फैलाउँछ । यसर्थ, एउटा क्षेत्रमा सफलता हासिल गरेका ग्रुपहरु फरक क्षेत्रमा पनि प्रवेशलाई सकारात्मक रुपमा लिनुपर्छ । यो ‘इन्टरप्रेनरशीप’को ट्रेण्ड नै हो ।

पञ्चकन्या पनि स्टिल डण्डीको विकल्पका रुपमा बजारमा के के उत्पादन आइरहेका छन् भनेर हेरेर त्यस अनुसार आफूलाई तयार गर्दैछ । हामी प्लास्टिकमा गयौँ, अरु नयाँ प्रोडक्टहरु पनि ल्याउँदैछौँ । उद्यमीहरु फरक क्षेत्रमा प्रवेश गर्ने कुरालाई हामीले सकारात्मक रुपमा नै लिनुपर्छ ।

(बिजनेशपाना म्यागेजिनको फागुन अंकबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img