निजी क्षेत्रका छाता संगठन मध्येको सबैभन्दा पूरानो संगठन नेपाल चेम्बर अफ कमर्सले हरेक वर्ष ‘नेपाल चेम्बर एक्स्पो’ आयोजना गर्दै आएको छ । चेम्बरका अन्तर्राष्ट्रिय संगठनबाट समेत प्रतिनिधित्व हुने उक्त एक्स्पोको यसपाली ८औँ संस्करण माघ १७ गतेदेखि २१ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
अहिले आर्थिक मन्दीबाट मुलुक क्रमशः सुधारको बाटोमा अघि बढिरहेको बताइन्छ । यस्तो समयमा चेम्बरले आयोजना गर्न लागेको ‘एक्स्पो’बाट अन्तर्राष्ट्रिय ‘बिजनेश कम्युनिटी’मा नेपालमा उत्पादनले बजारीकरणको मौका पाउने चेम्बरको विश्वास छ । यसै विषयमा केन्द्रित रहेर हामीले नेपाल चेम्बर अफ कमर्सका मेला समिति सभापति राष्ट्रभूषण चाकुवाजीसँग कुराकानी गरेका छौँ ।
८औँ संस्करणको चेम्बर एक्स्पोको तयारी कहाँ पुग्यो ?
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा हरेक वर्ष चेम्बर एक्स्पो हुँदै आएको छ । यसपाली ८औँ संकरणको चेम्बर एक्स्पो हुँदैछ । चेम्बरको मेला समिति र सिङ्गो चेम्बर अफ कमर्सको टिम यतिबेला यो मेलाको तयारीमा जुटेको छ ।
माघ १७ देखि २१ गतेसम्म आयोजना हुने एक्स्पोको प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ । अहिले स्वदेशीसहित विदेशी प्रतिनिधिहरुको सहभागीता कसरी बढाउने भन्नेमा नै हामी केन्द्रित छौँ । स्टल बुकिङ लिने काम भइरहेको छ ।
हामीलाई सरकारको तर्फबाट ‘ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’ (टीईपीसी) बाट सहयोग छ । हाम्रो एक्स्पोको साझेदारकै रुपमा टीईपीसी रहँदै आएको छ ।
चेम्बर एक्स्पोमा विदेशी कम्पनी र उत्पादनहरुका स्टलहरु पनि रहन्छन् । यसपाली कुन कुन देशबाट सहभागीता हुँदैछ ?
विगतदेखि नै चेम्बर एक्स्पोमा जापान, कोरिया, थाइल्याण्ड, म्यानमार, चीन, भारत, बंगलादेश, पाकिस्तान, मलेसिया, रसिया लगायतका देशबाट प्रतिनिधित्व हुँदै आएको छ । यसपाली पनि यीनै देशबाट सहभागीता हुनेछ ।
हामीले हरेक वर्ष एउटा देशलाई ‘कन्ट्री पार्टनर्स’का रुपमा प्रस्तुत गर्ने गरेका छौँ । यसपाली बंगलादेशलाई ‘कन्ट्री पार्टनर्स’का रुपमा प्रस्तुत गर्दैछौँ ।
विदेशी स्टल किन राख्नुपर्यो भनेर आलोचना पनि हुन्छ । यद्यपी, यो मधुरो स्वरमा मात्रै सुनिन्छ । खासमा चेम्बरले एक्स्पोमा किन विदेशीलाई पनि सहभागी गराउँदै हो ?
विदेशी उत्पादक, सेवा प्रदायक, विदेशस्थित चेम्बर अभियानका तर्फबाट हाम्रो एक्स्पोमा सहभागीता जनाउनु भनेको हाम्रा लागि पनि लाभदायक हुन्छ । विदेशी सहभागी हुनु भनेको हाम्रो लागि सिकाईको अवसर पनि हो, वार्ता छलफलको माध्यम पनि हो । यसले नेपाली उत्पादनको विश्वबजारमा बजारीकरणका लागि पनि सहयोग पुग्छ ।
अर्को कुरा, उनीहरुका उत्पादनको गुणस्तरबारे पनि हामीलाई थाहा हुन्छ । विदेशी उत्पादन विश्व बजारमा पुगिरहेका हुन्छन्, के कस्तो गुणस्तर कायम गर्न सकियो भने विश्व बजारमा वस्तु पठाउन सकिँदो रहेछ भन्ने जानकारी पनि नेपाली उत्पादक र सेवा प्रदायकलाई प्राप्त हुन्छ । यसकारण हामीले हरेक वर्ष सकेसम्म धेरै देशको सहभागीता गराउने प्रयास गर्दै आएका छौँ ।
यसपाली विदेशी कति र स्वदेशी कति स्टल रहन्छन् ?
हामीले स्टल शुल्क पनि स्वदेशी र विदेशीलाई फरक फरक गरेका छौँ । स्वदेशीलाई कम र विदेशीलाई अलिकति बढी शुल्क लिने गरेका छौँ ।
यसपाली हामीले १२५ वटा नेपाली र १०० वटा विदेशी स्टल राख्ने सोच बनाएका छौँ, यसै अनुसार तयारी पनि अघि बढाएका छौँ । तर, आर्थिक मन्दीका कारण खासगरि स्वदेशी उत्पादकहरुमा त्यति उत्साह देखिएको छैन । तैपनि सकेसम्म धेरैलाई सहभागी गराउने प्रयास कायमै छ ।
आर्थिक मन्दीले बजार मागमा शिथिलता ल्याएको बेला एक्स्पो आयोजना गरेर चेम्बरले दिन खोजेको सन्देश के हो ?
अझै पनि सबैतिर आर्थिक मन्दी भन्ने नै छ । यद्यपी, पछिल्लो समय सरकारले केही ऐन कानुनमा सुधार गरेर निजी क्षेत्रमैत्री देखिन खोजेको छ, यसको हामीले स्वागत गरेका छौँ ।
जहाँसम्म मन्दीका बेलामा एक्स्पो आयोजनाको विषय छ, हामीले बजार चलायमान गराउने र माग बढाउने पुलको रुपमा पनि एक्स्पो आयोजना हुने गरेको छ । अर्को कुरा, हामीले विगतमा आयोजना गर्दै आएका यस्तै एक्स्पोकै मद्दतले अहिले नेपाली वस्तुप्रति अन्तर्राष्ट्रिय समुदायको आकर्षण बढ्दो छ । यसलाई अझै बढाउन पनि यस्ता एक्स्पोहरु गरिरहनु पर्छ ।
विभिन्न देशबाट सहभागी हुने व्यवसायीहरुसँग नेपाली उद्यमी व्यवसायीहरुको परिचय हुन्छ, कुराकानी हुन्छ, सम्बन्ध स्थापित हुन्छ । विभिन्न देशका उत्पादक र व्यवसायीसँग नेपाली उद्यमी व्यवसायीहरुले छलफल र अनुभव आदानप्रदान गर्ने अवसर पनि पाउँछन् ।
यी सँगै, सकारात्मक सन्देश प्रवाह गर्ने चेम्बरको उदेश्य हो । जुन हरेक वर्ष एक्स्पोमार्फत चेम्बर एक्स्पोमार्फत हुँदै पनि आएको छ ।
अन्तिममा, तपाईहरुले एक्स्पो आयोजना गर्ने ठाउँ समाजकल्याण परिषदसँग भाडामा लिनुहुन्छ । समाजकल्याणले भाडा लिएपनि खासै सहयोग गर्दैन भन्ने अन्य मेला महोत्सव आयोजकहरुको गुनासो सुनिन्छ । तपाईहरुको विगतको अनुभव चाहिँ कस्तो छ ?
समाजकल्याण परिषदले सरसफाइ गरिदिए चाहिँ हुन्थ्यो । मुख्य हलको सिलिङ पनि हामी आफैँले मर्मत गर्नुपर्छ, बिजुलीको विकल्पमा जेनेरेटर पनि आफैँले तयार गर्नुपर्छ । कम्तीमा भाडामा लगाएपछि समाजकल्याण परिषदले यस्ता कुराहरु चाहिँ हेरिदिनुपर्ने हो, यसमा चाहिँ कमजोरी देख्छु ।