Saturday, May 9, 2026
spot_img

सरकारी भूक्तानी नपाउँदासम्म निर्माण क्षेत्रको चक्र सहज हुँदैन (उज्वल श्रेष्ठको अन्तर्वार्ता)

spot_img
spot_img

अहिले निर्माण क्षेत्र चलायमान हुने सिजन हो । दशैँ, तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्वहरु सकिएपछि निर्माण क्षेत्र चलायमान हुने आशा गरिन्छ । तर, यसपाली सरकारले गत वर्षकै भूक्तानी गर्न बाँकी रहेका कारण अपेक्षाकृत रुपमा निर्माण क्षेत्र चलायमान हुन सकेको छैन ।

यस सिजनमा तुलनात्मक रुपमा निर्माण सामग्रीहरुको ब्यापार पनि बढ्ने गर्दछ । सँगै, सिजनमै उद्योगीहरुले सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीहरुको मूल्य बढाउँछन् भन्ने आरोप पनि वर्षौदेखि लाग्दै आएको छ । हामीले यीनै सेरोफेरोमा केन्द्रित रहेर डण्डीको मागको अवस्था, उत्पादनको खपत र बजारीकरणको स्थिति लगायतका विषयमा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक उज्वल श्रेष्ठसँग कुराकानी गरेका छौँ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

अहिले निर्माण क्षेत्र चलायमान हुनुपर्ने सिजन हो, यस समयमा स्टिल, डण्डी उद्योगहरुको अवस्था कस्तो छ ?

जबसम्म सरकारबाट निर्माण व्यवसायीहरुको बाँकी बक्यौता भूक्तानी हुँदैन, तबसम्म निर्माण क्षेत्र सहज रुपमा चलयमान हुन सक्दैन । अर्थमन्त्री ज्यूले केही दिन अगाडी मात्रै पनि बाँकी भूक्तानी तत्कालै दिन्छौँ भन्नुभएको थियो, तर पनि निर्माण व्यवसायीहरुले अझै पनि भूक्तानी पाउन बाँकी नै छ । यसकारण निर्माण व्यवसायीहरुले सरकारी आयोजना बनाएको भूक्तानी नपाउँदासम्म निर्माण क्षेत्रको चक्र सहज रुपमा चल्दैन ।

अर्को कुरा, दशैँ लगत्तै निर्माण क्षेत्र चलमायन हुन्छ र निर्माण सामग्रीहरुको माग बढ्छ भन्ने अपेक्षा थियो । जस अनुसार मंसिर महिना चालु आर्थिक वर्षका ५ महिनामध्ये सबैभन्दा राम्रो महिना देखिएको छ । पहिला वर्षहरुको जस्तो नभएपनि गत वर्षको तुलनामा केही सुधार भएको छ । यद्यपी, यति मात्रै पर्याप्त छैन ।

मंसिरमा केही राम्रो देखिएपनि पौष महिना हिसाबकिताब बुझाउने, साधारणसभा गर्ने, त्रैमासिक भूक्तानी गर्ने महिना परेका केही कसिलो देखिन्छ । यसकारण माघदेखि अलिक राम्रो हुँदै जान्छ कि भन्ने आशा छ । सरकारले पनि निर्माण व्यवसायीहरुको भूक्तानी चाँडै दिन्छु भनेको हुनाले आशा गर्ने ठाउँ पनि छ । चाँडै भन्ने शब्दको सट्टा एउटा ‘टाइम बाउण्ड’ बनाएर भूक्तानी दिने अवस्था बनाए राम्रो हुन्थ्यो ।

अर्कोतर्फ, सिमेन्ट, डण्डी उद्योगहरुले सरकारले बनाउने ठूला ठूला परियोजनाकै लागि सामग्री उत्पादन गर्ने हुन् । निर्माण व्यवसायीहरुले उद्योगबाट सामान लैजाने हुन्, उनीहरु आफैँले भूक्तानी नपाएपछि उद्योगबाट सामान लगेको पैसा तिर्न उनीहरुलाई पनि गाह्रो छ । यसर्थ, सरकारबाट निर्माण व्यवसायीलाई दिन बाँकी पैसा भूक्तानी भएमा बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने थियो ।

निर्माणको सिजनमै उद्योगीहरुले सिमेन्ट र डण्डीको मूल्य बढाउँछन् भन्ने आरोप हरेक वर्ष लाग्ने गर्छ । यो कति सत्य हो ?

उद्योगी व्यवसायीको मुख्य उदेश्य भनेको नाफा आर्जन गर्नु हो । त्यसरी आर्जन भएको नाफालाई पुन: लगानी गर्ने चरित्र नै उद्योगी व्यवसायीको मुख्य उदेश्य हो । उत्पादन राम्रोसँग गर्न सक्छ, बिक्री राम्रोसँग गर्न सक्छ, भूक्तानी पनि राम्रोसँग भइरहेको छ भने नाफा आर्जन गर्न सहज नै हुन्छ ।

तर, नेपालको हकमा कुरा गर्दा सिमेन्ट उद्योग ६० भन्दा बढी छन् । क्लिङ्करमार्फत सिमेन्ट उत्पादन गर्ने उद्योगले विगतमा नाफा कमाएका पनि थिए । त्यहीँ देखेर सिमेन्ट उद्योगमा भूकम्पपछि लगानी बढ्यो । उद्योगको संख्या बढेपछि प्रतिस्पर्धा पनि बढ्यो । प्रतिस्पर्धा बढेपछि सबैको नाफा घट्दै गयो । उदाहरणका लागि आज एउटा निर्माण व्यवसायीले आफूले ठेक्का लिएको आयोजना बनाउँदा सिमेन्ट किन्नुपर्दा ६० वटा सिमेन्ट उद्योगमध्ये सस्तो जसले दिन्छ, त्यसैबाट किन्ने भयो ।
स्टिल उद्योगमा पनि यस्तै भयो । आजको दिनमा डण्डी उद्योगमा खपतभन्दा पनि उत्पादन क्षमता ५ गुणा बढी छ । गत वर्षको तथ्याङ्क हेर्ने हो भने ९.५ लाख टन टीएमटी छड खपत भएको छ, जबकी उत्पादन क्षमता ५० लाख टन छ । भूकम्प अगाडीसम्म १७ वटा स्टिल उद्योग थिए, त्यसपछि ३१ वटा पुगे । कोभिड पश्चात सरकारले केही नीति तलमाथि गरिदिँदा २४ वटामा सिमित भएको छ । यी उद्योगहरु मुस्किलले क्षमताको २५ देखि ३० प्रतिशतमा चलेका छन् ।

यसकारण एकातिर उत्पादन कम, अर्कातिर घाटा, ब्याज लगायतका समस्या विगत वर्षदेखि झेल्दै आएको अवस्थामा हाल अलिकति माग बढ्दा मूल्य पनि सोही अनुपातमा बढ्नु स्वभाविक हो । यो ‘इकोनोमी साइकल’ नै हो । यसको अर्थ कार्टेलिङ, एकाधिकार भन्ने हुँदै होइन । सबै उद्योगका आ–आफ्नै समस्या र बजारीकरणका आ–आफ्नै नीति छन् । आफूले ब्यहोरेको घाटा कहीँ न कहीँ ‘मेकअप’ गर्नुपर्ने बाध्यता सबैलाई परेको छ ।

साथै, सरकारको विकास बजेट खर्च हुन नसक्ने पूरानै समस्या छ । राष्ट्रिय योजनाहरुमा त्यहीँ अनुरुपको लगानी पनि भएको छैन । भूकम्पपछि सरकार पुन:निर्माणमा केन्द्रित थियो, दातृ निकायले पनि त्यसैका लागि सहयोग गर्थे, त्यहीँ भएर उद्योग थपिएका थिए । थपिएका उद्योगले अहिले ‘बिजेनश’ पाएनन् । यसका लागि सरकारले नै पूँजीगत खर्च बढाउने गरि काम गर्नुपर्ने हुन्छ ।

हामी भर्खर भर्खर भौतिक निर्माणको चरणमा प्रवेश गरेका छौँ, सुरुवाती चरणमै निर्माण सामग्रीको मागमा संकुचन आएको देखिन्छ । यस्तो अवस्थामा नेपालको भौतिक निर्माण क्षेत्रको भविष्य कस्तो होला ?

पूर्वाधार विकासमा एशियाकै अन्य देशहरुको तुलनामा हामी पछाडी नै छौँ । समग्र एशिया नहेरी भारतलाई मात्रै हेर्ने हो भने पनि हामी निकै पछाडी छौँ । हामीले भौतिक पूर्वाधार विकासको कुरा जति नै गरेपनि निर्माण सामग्रीको खपतको अवस्था हेर्दा हामी कहाँ छौँ भन्ने छर्लङ्ग हुन्छ । यसको अर्थ सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीहरुको जति खपत हुनुपर्ने हो, त्यति भएको छैन । यसर्थ, अहिले ढिलो भएपनि विकास त गर्नैछ । तसर्थ, मलाई नेपालको निर्माण क्षेत्रको भविष्य अत्यन्त सुन्दर भन्ने लाग्छ ।

आजभन्दा १० वर्ष अगाडीको तथ्याङ्क हेर्ने हो भने १३ लाख टन डण्डी खपत हुन्थ्यो । अहिले साढे ९ लाखदेखि १० लाख टनको हाराहारीमा मात्रै छौँ । कोभिडपछि १० लाख टन कटेकै छैन । यसका लागि मुख्य जिम्मेवार भनेको सरकारकै हुन्छ, सरकारले नै विकास बजेट खर्च गर्ने, ठूला ठूला पूर्वाधारमा लगानी बढाउने हो भने नेपालको निर्माण क्षेत्रले गति लिन्छ र यसको प्रभाव स्वरुप मुलुकै अर्थतन्त्र सबल बन्न सक्छ ।

बजेटपछि बिलेट आयात गरेर डण्डी बनाउने उद्योगले विगतको तुलनामा केही सहजताको अनुभूति गरेका छन् भन्ने थियो । यसबाट कत्तिको सहयोग पुग्यो ? र, अहिले कुनै त्यस्ता नीति छन्, जसले असजिलो बनाइरहेको छ ?

आजको दिनमा पनि आयातको आँकडा हेर्दा ‘टप ५’मा स्पञ्ज आइरन छ । यसमा बहस नगरौँ । जहाँसम्म स्पञ्ज र बिलेट आयातमा विगतमा नीतिगत रुपमा भएको विभेदलाई बजेटले आंशिक ‘करेक्शन’ गरेको छ । यसबाट बिलेटबाट डण्डी बनाउने उद्योगलाई कति राहत भएको छ भनेर हेर्ने हो भने खासै फरक परेको छैन, तर थोरै सहायता भने भएको छ ।
स्पञ्जबाट डण्डी बनाउनु आफैँमा सस्तो पर्छ, स्पञ्ज कच्चापदार्थ आफैँ सस्तो छ । अर्को कुरा, जसले अहिले स्पञ्ज ल्याएर डण्डी बनाइरहनु भएको छ, उहाँहरुले उच्च गुणस्तरको डण्डी बनाउन प्राइम बिलेट ल्याउनैपर्छ, ल्याइरहेका छन् । किनकी, स्पञ्ज ल्याएर डण्डी बनाउनेहरुलाई गुणस्तरमा धेरै प्रश्न आइरहेका छन् । यसबाट के भन्न सकिन्छ भने बिलेट नेपालमा जहिल्यै पनि आयात हुन्छ, यो रोकिने सम्भावना छैन । किनकी, गुणस्तरीय डण्डी बनाउन प्राइम बिलेट चाहिन्छ नै ।

अर्को कुरा, अहिले अस्वभाविक प्रतिस्पर्धा पनि बढिरहेको छ । एउटाले प्रतिकिलो ८० रुपैयाँ तोक्छ, अर्कोले ७५ मा दिन्छु भनिदिन्छ, अर्कोले ७२ मा दिन्छु भनिदिन्छ । कहिलेकहीँ त भारतमा भन्दा सस्तो पनि देखिन्छ । यो बाध्यता पनि छ, घाटा खाएरै भएपनि आफ्नो आर्थिक कारोबारको चक्र त कायम राख्नुपर्‍यो । अब अरु नीतिगत तहका कुराहरुमा नगई सरकार केवल पूर्वाधार क्षेत्रमा लगानी बढाउन केन्द्रित हुनुपर्छ ।

डण्डी उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योग भनिन्छ । डण्डीसँगै जोडिएर आउने सिमेन्टले निकासी सुरु गरेको अवस्थामा डण्डीको चाहिँ निर्यात सम्भव छ कि छैन ?

डण्डीमा नेपाल उत्पादनमा आत्मनिर्भर भएको छ । यसको अर्थ, भोलिका दिनमा आजको तुलनामा ३ गुणा, ४ गुणा माग बढेपनि नेपालका डण्डी उद्योगहरुले प्रशस्त मात्रामा उत्पादन गरेर दिन सक्छन्, बाहिरबाट ल्याउनु पर्दैन ।

तर, सिमेन्टको तुलनामा डण्डी उद्योगलाई आत्मनिर्भर भन्न मिल्दैन । किनकी, सिमेन्टका लागि क्लिङ्कर नेपालमै छ भने डण्डीका लागि बिलेट, स्पञ्ज, स्क््रयाप आयात गर्नुपर्ने बाध्यता छ । धेरैजसो स्टिल उद्योगमा श्रमिक पनि भारतीय छन् । अझ स्पञ्ज आइरनबाट डण्डी बनाउने उद्योगहरुमा कुल श्रमिकमध्ये ९० देखि ९५ प्रतिशत श्रमिक भारतीय नागरिक छन् । यसर्थ, डण्डीमा आत्मनिर्भर भन्न मिल्छ जस्तो लाग्दैन ।

अर्कोतर्फ, डण्डी उद्योगहरु १७ बाट ३१ वटा पुग्नुमा भूकम्पपछिको पुन:निर्माण र त्यसबेलाको माग नै मुख्य कारण हो । जहाँसम्म, नयाँ बजार खोज्ने सवाल छ, स्पञ्ज आइरनलाई शून्य प्रतिशत कर लगाउन सुरु गरिएको र सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने भन्ने भएपछि एउटा उद्योगले ६६ टन सीमापारी पुर्‍यायो । त्यसयता निर्यात शून्य छ । सबै चीज भारतबाट आउने, कच्चापदार्थदेखि श्रमिक पनि उतैबाट ल्याउने अनि, उसैलाई निर्यात गर्न थाल्यौँ भनेर हुन्छ ?

सँगै, बैंकको ब्याजदर पनि अस्थिर भइदिँदा उद्योगीहरुले वार्षिक योजनासमेत बनाउन नसक्ने अवस्था थियो । केन्द्रीय बैंकले निकै कसिलो नीति लियो, त्यसलाई खुकुलो बनाउन सुरु गर्दासम्म निकै ढिलो भइसकेको थियो । आज पनि उद्यमी व्यवसायीहरुमा ‘कन्फिडेन्स’ बढिरहेको छैन ।

तर, केही समय पछि यो वातावरण सकारात्मक हुँदै जाने र निर्माण क्षेत्र चलयमान हुने तथा सिमेन्ट डण्डी जस्ता निर्माण सामग्रीहरुको स्वदेशमै खपत बढ्ने आशा भने बाँकी नै छ ।

अन्तिममा, उत्पादनमूलक उद्योगहरु पब्लिक लिमिटेड कम्पनी बन्ने र सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने क्रम बढिरहेको छ । पञ्चकन्या आफैँमा लामो इतिहास भएको उत्पादनमूलक उद्योगमै केन्द्रित रहेको ग्रुप हो । पञ्चकन्याको चाहिँ आफ्ना कम्पनीलाई पब्लिक कम्पनी बनाउने र आईपीओ निष्काशन गर्ने योजना छ कि छैन ?

नीजि क्षेत्रका उद्योग व्यवसायहरु पनि आईपीओमा जाने क्रम अहिले बढिरहेकै छ । धेरै कम्पनीहरु पाइपलाइनमा छन् । सेबोनमा नयाँ अध्यक्ष आउनु भएको छ, अब झनै यो क्रम बढ्छ भन्ने नै देखिन्छ ।

उद्योगी व्यवसायीहरुले आफ्नो कम्पनीलाई पब्लिक कम्पनी बनाएर आईपीओ निष्काशन गर्नुमा २ वटा कारण हुन्छन् । पहिलो: लगानी बढाएर उत्पादन बढाउने । दोस्रो: कम्पनीलाई आर्थिक रुपमा असजिलो परेको भए त्यो असहज अवस्थालाई सहज बनाउने । संसारभरी नै यस्तै हो ।

जहाँसम्म पञ्चकन्याको सवाल छ, पूरानो उत्पादनमूलक उद्योग भएकाले पञ्चकन्याका उद्योग, कम्पनीहरु पनि पब्लिक कम्पनी बन्नुपर्‍यो भन्ने धेरै तिरबाट चासो र सुझाव आइरहेकै छ । अहिले हाम्रो ग्रुपको बोर्डले हालको वातावरण हेरेर कसरी अघि बढ्ने भन्ने अध्ययन गरिरहेको छ । भविष्यमा पञ्चकन्याका केही कम्पनीहरु पब्लिक कम्पनी बन्ने र आईपीओमा आउने सम्भावना छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...
spot_img