सुनको भाउमा अचाक्ली वृद्धि हुँदा नेपालीहरु सुन किन्न नसक्ने अवस्थामा पुगेका छन् । सुनको भाउ नेपालीहरुको औसत आम्दानीभन्दा निकै माथि पुगेपछि किन्नेभन्दा पूरानै गरगहनाबाट काम चलाउनेहरु बढेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
पछिल्लो समय अमेरिकाले लिएका अन्तर्राष्ट्रिय नीतिहरुका कारण सुनको भाउ अचाक्ली बढ्न थालेको छ । इरान र ग्रिनल्याण्डसँग अमेरिकी तनाव बाँकी नै रहेकाले अहिले सुनको भाउ आकाशिएको लगानीकर्ताहरु बताउँछन् । ‘ग्रिनल्याण्डको इस्यूबाट अमेरिका फिर्ता भएका समाचार त आइरहेका छन्, तर उसले कर चाहिँ निकै बढाउने भनेपछि युरोपका देशहरुले त्यहाँको लगानी फिर्ता लैजाने भनिरहेका छन्’ सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य भन्छन्, ‘यसले पनि लगानीकर्ताहरुलाई सुनमा आकिर्षत गरेको छ । अन्य क्षेत्रमा लगानीका अवसर नपाएपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सुनमा लगानी गर्न थाल्छन् ।’
विश्वब्यापी रुपमा सुनको माग बढिरहेकाले भाउ पनि अकाशिएको छ । नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । यो भनेको हालसम्मकै उच्च मूल्य हो ।
सुनको भाउ यसरी उकालो लाग्यो की, प्रतिव्यक्ति आय कम भएका नेपाल जस्ता मुलुकका उपभोक्ताहरु सुन किन्नै नसक्ने अवस्थामा पुगेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार अहिले एक तोला सुन किन्न ३ लाखभन्दा बढी खर्च गर्नुपर्ने भएपछि सुन किन्ने ग्राहक घटेका छन् ।
महासंघका वष्ठि उपाध्यक्ष शाक्य पनि अहिले नयाँ सुन किन्न नसक्ने भएपछि मान्छेहरु आफू र आफन्तसँग भएका पूरानै सुनका गहनाबाट काम चलाउने अवस्थामा पुगिसकेको बताए । ‘नेपालीहरुको आम्दानीको तुलनामा सुनको भाउ धेरै नै बढेको छ । अहिले वर्षभरी कमाएको पैसा अलिअलि बचत गर्दा औसत आम्दानी हुनेले डेढ लाख रुपैयाँसम्म तोलामा सुन किन्न सक्छ’ उनी भन्छन्, ‘तर, अहिले तोलाकै ३ लाख नाघिसक्यो । यो भनेको नेपालीहरुको क्रयशक्ति भन्दा धेरै माथि हो । क्षमताभन्दा दोब्बर नै महँगो भएपछि किन्न सक्ने अवस्था भएन ।’
सुनको भाउ बढ्दा व्यवसायीहरु समेत कारोबार नहुँदा निराश भएका छन् । भाउ बढेपछि खरिदकर्ता भन्दा पनि बेच्नेहरु बढि आउन थालेको व्यवसायीहरु बताउँछन् ।













