बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य मात्रामा बढेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सुनिल जङ्गका अनुसार हालसम्म करिब ८ लाख मानिसले काठमाडौँ उपत्यका छाडिसकेका छन् ।
मानिसहरु गृह जिल्ला फर्किएका कारण काठमाडौँका सडक सुनसान देखिएका छन् । उपत्यकाभित्र सार्वजनिक सवारी साधन पनि निकै कम मात्रामा चलेका छन् ।
चुनावको अघिल्लो दिन बुधबारसम्म मात्रै सार्वजनिक बसहरु चल्ने छन् । चुनावका दिन भने बिहानैबाट बसहरु चल्ने छैनन् । सुरक्षा र व्यवस्थापनलाई दृष्टिगत गर्दै बुधबार रातीदेखि नै उपत्यकामा सवारी साधन सञ्चालनमा रोक लगाइनेछ ।
निर्वाचन आयोगले जारी गरेको मापदण्ड बमोजिमका सवारी साधनबाहेक निजी तथा सार्वजनिक सवारी साधनहरू चुनावका दिन पूर्ण रूपमा बन्द रहनेछन् ।
हालसम्म काठमाडौँ उपत्यकामा अवस्था शान्तिपूर्ण नै रहेको प्रहरीले जनाएको छ ।












