फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ निर्वाचन क्षेत्र सबैको ध्यानाकर्षणको केन्द्र बनेको छ। यो क्षेत्रमा प्रधानमन्त्री पदका प्रमुख दाबेदारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यहाँबाट चुनावी मैदानमा उत्रिएका छन्। ओलीको पुरानो गढ मानिने यो क्षेत्रमा बालेनले युवा मतदाताहरूमाझ लोकप्रियता कमाउँदै कडा चुनौती दिइरहेका छन्।
तर, यो निर्वाचनको रोचक पक्ष के छ भने यी दुवै हाई–प्रोफाइल उम्मेदवारले आफैंलाई मत दिन पाउने छैनन्। नेपालको निर्वाचन नियमअनुसार उम्मेदवार जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न सक्छन्, तर मतदान भने आफ्नो नाम मतदाता नामावलीमा दर्ता भएको क्षेत्रबाट मात्र गर्नुपर्छ। यसै कारण बालेन शाहको मतदाता नामावली काठमाडौंमा रहेकाले उनी काठमाडौंमै भोट हाल्नेछन्। त्यसैगरी, केपी शर्मा ओलीको नाम भक्तपुरको मतदाता सूचीमा भएकाले उनी भक्तपुरबाट मतदान गर्नेछन्।
यसैगरी, नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीबाट चुनाव लड्दैछन्, तर उनको मतदाता नामावली काठमाडौंमा नै छ, जसले गर्दा उनी पनि आफैंलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्, तर उनको नाम चितवनको मतदाता सूचीमा रहेकाले उनी पनि आफ्नो क्षेत्रबाट मत दिन पाउने छैनन्।
यी शीर्ष नेताहरू जस्तै अन्य दर्जनौं उम्मेदवारहरूले पनि आफ्नो निर्वाचन क्षेत्र छाडेर अन्यत्र चुनाव लडेका कारण आफैंलाई मत दिन नपाउने अवस्था आएको छ। यद्यपि उनीहरुले समानुपातिक तर्फ भने आफ्नो पार्टीलाई भोट दिन सक्ने छन् ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली स्थानीय स्तरमा आधारित हुने र उम्मेदवारले जुन क्षेत्रबाट लडे पनि आफ्नो दर्ता भएको ठाउँबाट मात्र मतदान गर्नुपर्ने प्रावधान छ। यसले गर्दा यस्ता उम्मेदवारहरूले आफ्नो मत आफ्नै पक्षमा प्रयोग गर्न नसक्ने भएका हुन्।
झापा–५ मा ओली र बालेनबीचको यो भिडन्तलाई ‘हट सिट’ का रूपमा हेरिएको छ। ओलीको लामो अनुभव र स्थानीय प्रभावका विरुद्ध बालेनको युवा ऊर्जा र ‘चेन्ज’ एजेन्डाले रोमाञ्चक प्रतिस्पर्धा सिर्जना गरेको छ। मतदाताहरूले कसलाई रोज्छन् भन्ने कुराले निर्वाचनको परिणाममा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।









