नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावको मिति नजिकिदै गर्दा अन्तराष्ट्रिय स्तरमा अनलाइन बेटिङ पनि बढिरहेको पाइएको छ। विश्व कै ठूलो प्रेडिक्सन् मार्केट ‘पोलीमार्केट’मा नेपालको चुनावबारे अनलाइन बेटिङ भईरहेको पाईएको हो ।
क्रिप्टोककरेन्सीमा आधारित विश्वको सबैभन्दा ठूलो भविष्यवाणी बजार प्लेटफर्म पोलिमार्केटमा नेपालको आगामी प्रतिनिधिसभा चुनावको विजेतालाई लिएर रोचक बजार सञ्चालन खुलेको हो। पोलिमार्केटमा विभिन्न ७ शिर्षकमा बेटीङ भईरहेको छ ।
पहिलो शिर्षक अबको प्रधानमन्त्री को बन्छ भन्ने रहेको छ। यसमा यो समाचार तयार पार्दामा ४ लाख १६ हजार डलर लगानी भएको छ ।
दोस्रो शिर्षक, प्रतिनिधिसभामा दोस्रो पार्टी कुन बन्छ भन्ने रहेको छ। यसमा हालसम्म ५३ हजार डलर लगानी भएको छ।
तेस्रो शिर्षकमा, प्रतिनिधिसभामा तेस्रो पार्टी कुन बन्छ भन्ने रहेको छ। यसमा हालसम्म ७२ सय डलर लगानी भएको छ।
चौथो शिर्षकमा, एमालेले प्रतिनिधिसभामा कति सिट जित्छ भन्ने रहेको छ। यसमा हालसम्म १ लाख ६० हजार डलर लगानी भएको छ।
पाँचौ शिर्षकमा, रास्वपाले प्रतिनिधिसभामा कति सिट जित्छ भन्ने रहेको छ। यसमा हालसम्म ७१५ डलर लगानी भएको छ।
छैठौ शिर्षकमा, प्रतिनिधिसभामा नेपाली कांग्रेसले कति सिट जित्छ भन्ने रहेको छ। यसमा हालसम्म १७ सय डलर लगानी रहेको छ।
सातौँ शिर्षकमा, प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कुन बन्छ भन्ने रहेको छ। यसमा हालसम्म ३ लाख ८६ हजार डलर लगानी भएको छ।
यसरी ७ वटा शिर्षकमा हालसम्म १० लाख २४ हजार डलर बढी लगानी भईसकेको छ। जुन नेपाली रुपैयाँमा १५ करोड रुपैयाँ बढी हो। रकम लगानी हुने क्रम अहिले पनि जारी छ ।
पोलिमार्केटले फागुन २१ मा हुने भनिएको चुनावमा विभिन्न शिर्षकमा भविष्यवाणी गर्न अनुमति दिने गरेको छ। यी बजार चुनावको मतदान सुरु हुनु भन्दा अगाडीसम्म चल्ने छन्। बजारको समाप्ति नेपालको निर्वाचन आयोगको आधिकारिक नतिजामा आधारित हुने भनिएको छ। यदि सिटहरू बराबर भएमा, पार्टीको संक्षिप्त नामको वर्णमाला क्रमअनुसार निर्णय गरिने उल्लेख छ।
कसरी काम गर्छ ?
पोलिमार्केट एउटा विकेन्द्रीकृत प्लेटफर्म हो, जसमा प्रयोगकर्ताहरूले वास्तविक घटनाहरूको नतिजामा पैसा लगानी गरेर भविष्यवाणी गर्छन्। यो नेपाल चुनाव बजारमा विभिन्न पार्टीहरू जस्तै रास्वपा (RSP), नेपाली कांग्रेस (NC), नेकपा एमाले (CPN-UML), नेकपा एकीकृत समाजवादी (NCP), राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP), लोकतान्त्रिक समाजवादी पार्टी (LSP) र राष्ट्रिय जनमुक्ति पार्टी (RJM) को विकल्पहरू छन्।
प्रयोगकर्ताहरूले “हो” (Yes) वा “होइन” (No) शेयरहरू किन्न सक्छन्। उदाहरणका लागि, यदि कसैलाई RSP ले सबैभन्दा बढी सिट जित्छ भन्ने लाग्छ भने “हो” शेयर खरिद गर्न सक्छन् । हाल शेयरहरूको मूल्य ०.०१ डलर देखि ०.९९ डलरसम्म रहेको छ ।
यो समाचार तयारपार्दासम्म हाल RSP को सम्भाव्यता ८४ % प्रेडिक्ट गरिएको छ , र हो भन्ने शेयर खरिद गर्न ८५ सेन्ट पर्ने भानिएको छ। त्यस्तै NC को ९ % (हो को शेयर मूल्य १० सेन्ट), CPN-UML को १.२ सेन्ट र NCP को ०.५ सेन्ट रहँदा अन्य पार्टीको भने ०.५ प्रतिशत भन्दा पनि कम छ ।
लगानी USDC (एक स्थिर क्रिप्टोकरेंसी) मार्फत पोलिगन ब्लकचेनमा गर्नु पर्ने उल्लेख छ। यो प्लेटफर्मले परम्परागत बुकीहरूको सट्टा भीडको सामूहिक बुद्धिमत्तालाई प्रयोग गर्ने बताईएको छ। कति जना प्रयोगकर्ताहरूले लगानी गरेका छन् भन्ने सङ्ख्या उपलब्ध छैन । यो बजारमा लगानी गर्नेहरू मुख्यतया क्रिप्टो कारोबारी रहेको बताईएको छ।
मानिसहरूले कसरी कमाउँछन् ?
यो भविष्यवाणी बजारलाई जुवाको रूपमा लिन सकिन्छ, किनकि प्रयोगकर्ताहरूले क्रिप्टोकरेंसी प्रयोग गरेर घटनाको नतिजामा दाउँ लगाउँछन्। तर यो सामान्य जुवाभन्दा फरक छ, किनकि यसले सूचना सङ्कलन र पूर्वानुमानलाई प्रोत्साहन गर्छ।
यदि कसैले सही विकल्पको शेयर किने भने, घटना समाप्त हुँदा सही शेयरले १ डलर प्रतिशेयर भुक्तानी दिन्छ, गलतले शुन्य डलर। उदाहरण: यदि कसैले RSP को “हो” शेयर ७२ सेन्टमा किने र RSP जित्यो भने, प्रतिशेयर २८ सेन्ट नाफा हुन्छ। नतिजा नआउदै शेयर मूल्य बढ्यो भने शेयरहरू बेचेर पनि नाफा कमाउन सक्ने भनिएको छ।
यदि कम सम्भाव्यता भएको पार्टी जित्यो भने, कम मूल्यमा किनेको शेयरबाट ठूलो नाफा हुन सक्ने बताईएको छ (जस्तै १० सेन्टबाट १ डलर सम्म)। तर जोखिम पनि रहेको र गलत भविष्यवाणीले पूरै लगानी गुम्न सक्ने भनिएको छ।
कसले बनायो यो बजार ?
यी बजारको सिर्जनाकर्ता स्पष्ट रूपमा उल्लेख गरिएको छैन, तर यसलाई रिजोल्भर ठेगाना (जस्तै ०x२F५e३६८४c…) ले व्यवस्थापन गरेको भनिएको छ, जुन ब्लकचेनमा आधारित विकेन्द्रीकृत पहिचान हो। पोलिमार्केटमा जोकोहीले यस्ता बजार सिर्जना गर्न सक्छन् । नेपालमा भने यस प्रकारका अनलाइन बेटिङ र भविष्यवाणी कानूनले नै प्रतिबन्ध गरेको छ।
निर्वाचन आयोगले भने यस्ता गतिविधि निर्वाचन ऐन र निर्वाचन आचारसंहिता विपरित हुने जनाएको छ । तर पोलिमार्केट अन्तराष्ट्रिय संजालमा संचालित विकेन्द्रीकृत प्लेटफर्म भएकोले यसलाई नियन्त्रण गर्न कठिन भएको यस क्षेत्रका जानकारहरु बताउछन्।












