Friday, March 21, 2025
spot_img
spot_img

‘हामी ‘आईसीयू’मा थियौँ, अहिले ‘सीसीयू’मा ल्याइएको छ’

२०७८ सालमा प्रतिस्थापन विधेकमार्फत आएको बजेटले फलामे डण्डी उत्पादन गर्ने स्टिल उद्योगहरुले आयात गर्ने तयारी बिलेटमा ५ प्रतिशत भन्सार र प्रति मेट्रिक टन २५ सय रुपैयाँ अन्तःशुल्क लगाएको थियो । सोही बजेटले स्पञ्ज आइरन आयात गर्नेलाई १ प्रतिशत भन्सार लगाएर अन्तःशुल्क छुट दिएको थियो । उक्त बजेट पश्चात बिलेट आयात गर्ने उद्योगहरुले स्पञ्ज आइरन ल्याएर बिलेट बनाउँदै डण्डी बनाउने उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै आएका थिए ।

तर, आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले स्क्राप आयातमा १ प्रतिशत, स्पञ्ज आइरनको आयातमा २.५ प्रतिशत र बिलेट आयातमा ५ प्रतिशत भन्सार दर कायम गरेका छन् । यसलाई बिलेट आयात गर्ने उद्योगहरुले आफूहरु ‘आईसीयू’बाट ‘सीसीयू’मा आएको अर्थमा लिएका छन् ।

हामीले यो विषयमा साखः स्टिल उद्योगका सञ्चालकसमेत रहेका नेपाल फलामे छड उत्पादक संघका वरिष्ठ उपाध्यक्ष किरणप्रकाश साखःसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

बिलेटको आयातमा भन्सार दर र अन्तःशुल्क स्पञ्ज आइरन आयातको तुलनामा बढी हुँदा बिलेट आयात गर्ने उद्योगहरु विगत दुइ वर्षदेखि राम्रोसँग सञ्चालन हुन सकेका थिएनन् । यसपालीको बजेटले यसलाई केही हदसम्म ‘करेक्शन’ गरेको छ । बजेट पश्चात स्टिल उद्योगले राहत पाएको हो ?

२०७८/०७९ को बजेटमार्फत जुन प्रावधान आयो, त्यसले बिलेट आयात गर्ने उद्योगहरु प्रायः बन्द अवस्थामा थिए । कसैले सामान्य रुपमा सञ्चालन गरेका थिए पनि अधिकांश बन्द नै थिए । यसको मतलब हामी आईसीयूमा थियौँ । काम चाहिँ नगर्ने तर श्वास चाहिँ फेरिरहने ।

कुनै उद्योगले १ प्रतिशत भन्सारमा अन्तःशुल्क पूरै छुट पाउँदा अर्को समान उद्योगले आयात गर्ने कच्चा पदार्थमा ५ प्रतिशत भन्सार र सोही अनुसार अन्तःशुल्क पनि हुँदा प्रतिस्पर्धा गर्न सक्ने कुरा पनि भएन । २ वर्षसम्म यो संघर्ष जारी रह्यो । तर मैले के भन्दै आएको थिएँ भने यो प्रावधान करेक्शन चाहिँ पक्कै हुन्छ, कसको पालामा हुन्छ भन्ने मात्रै हो । हाम्रो जस्तो भन्सारमा आधारित अर्थतन्त्र भएको देशमा भन्सार र अन्तःशुल्क छुट दिने अनि वातावरण दुषित बनाउने खालको नीति लामो समय जाँदैन भन्नेमा हामी ढुक्क थियौँ । तर, २०७९ र २०८० मा पनि करेक्शन नभएपछि केही चिन्ता स्वभाविक रुपमा थियो । यद्यपी हामी निरन्तर प्रयासमा थियौँ ।

तर, अहिले बजेटमार्फत बिलेट आयात गर्नेहरुको हकमा ५ प्रतिशत यथावत नै राखेर स्पञ्ज आइरनको आयातमा १ प्रतिशतको भन्सार बढाएर २.५ प्रतिशत बनाइएको छ । यसले हिजो आईसीयूमा पुगेका बिलेट आयात गर्ने उद्योगहरु अहिले सीसीयूमा आउने वातावरण चाहिँ बनेको छ । तर, जनरल वार्डमा आउन अझै बाँकी छ । तर उद्योग सञ्चालन गर्न सक्ने अवस्था बनेको छ । विभेदकारी नीतिका कारण बन्द भएका पश्चिम क्षेत्रका ५ उद्योगहरु अब पुनः खुल्ने तयारीमा छन् । तर, हामीले चाहेको जस्तो अझै भएको छैन । किनकी अझै पनि खुला रुपमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनेको छैन । प्रतिस्पर्धा को सँग भन्दा वायुप्रदूषण गर्ने, वातावरण दूषित बनाउने, कम गुणस्तरका सामान बनाउने जस्तासँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ । तर, आफूले प्रयोग गर्ने वस्तुप्रति संवेदनशील रहने हाम्रा ग्राहकलाई सामान बेचेर अगाडी बढ्न सक्छौँ कि भन्ने आशा चाहिँ पलाएको छ ।

बजेटले स्पञ्ज आइरन आयातमा भन्सार दर २.५ प्रतिशत पु¥याएपछि विगतमा तपाइहरुले जस्तै अहिले स्पञ्ज आइरन आयात गर्ने उद्योगीहरु सरकारको विरोधमा हुनुहुन्छ । सरकारले तपाइहरुलाई न्याय गर्न खोज्दा स्पञ्ज ल्याउनेहरुमाथि अन्याय पो भएको हो कि ?

कसैलाई न्याय गर्दा कसैलाई अन्याय भएको हो कि भन्ने कुरै होइन । हामीलाई अझै न्याय पूरा भएको छैन भन्छु म त । अब स्पञ्ज आइरन ल्याउने साथीहरु किन रोइरहनु भएको छ मैले बुझेको छैन । किनकी, यो बजेटले जम्मा परिवर्तन गरेको १.५ प्रतिशत हो । स्पञ्ज आइरनको भाउ भनेको ३ देखि ३५० डलर हो प्रति टन । १.५ प्रतिशत भन्सार बढ्दा प्रतिकिलो ७२ पैसा बढ्ने हो । जबकी, आजको दिनमा पनि उहाँहरुको लागत हामी बिलेट ल्याएर डण्डी बनाउनेको तुलनामा प्रतिकिलो ६ देखि ८ रुपैयाँ सस्तो पर्छ । अनि उहाँहरु मर्माहत कसरी हुनुभयो ? कहाँ के भएर मर्माहत हुनुभएको हो ? यो कुरा बुझ्न सकिएन ।

मलाई लाग्छ उहाँहरुलाई किन दुःख लाग्यो भने, बिलेट आयात गर्नेहरु मर्न लागेका थिए, अब बाँच्ने भए भन्नेमा उहाँहरुलाई दुःख लागेको छ । आफूलाई घाउ लागेकोमा भन्दा पनि अरुलाई निको भएकोमा उहाँहरु दुःखी हुनु भएको छ । यो त मानवीय हो जस्तो लाग्दैन ।

उहाँहरु ३६ अर्ब लगानी डुब्ने जोखिम बढ्यो भनेर तालचाबी सरकारलाई बुझाउँछु भनेर किन भनिरहनु भएको छ त ? केही न केही असर त परेरै होला नि ?

प्रतिकिलो ७२ पैसा भन्सार थपिँदैमा तालाचाबी बुझाउनुपर्ने अवस्था आउँछ ? साँच्चै भन्ने हो तालासाँचो बुझाउनुपर्ने अवस्थामा त आज पनि हामी छौँ । जसले तालाचाबी बुझाउनु पर्ने अवस्था आयो भनिरहनु भएको छ, उहाँहरुको नजरमा हामीलाई निकै राम्रो र उहाँहरुलाई निकै गम्भीर असर परेको हो भने म के चुनौति दिन्छु भने मैले यति धेरै लगानी गरेको मेरो फ्याक्ट्री छ, म उहाँहरुलाई दिन्छु यसबापत मलाई एक पैसा पनि दिनुपर्दैन, बैङ्कको ब्याज मात्रै तिरिदिए पुग्छ । कति वर्षका लागि लिने हो, लिन आए हुन्छ । होइन भने उहाँहरुले यहीँ शर्तमा उहाँहरुको फ्याक्ट्री मलाई दिनुस्, म चलाउन तयार छु । बेकारमा जनमानसलाई झुक्याउने किसिमको अभिव्यक्ति दिँदै हिड्दा उहाँहरुलाई शरम लाग्नुपर्ने हो ।

उहाँहरु जुन ३६ अर्बको कुरा गर्दै हिड्नु भएको छ, त्यो पनि झुठो छ । एउटा आर्क फर्नेन्स लगाउँदा बढीमा ५० देखि ६० करोड लाग्छ । जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत यस्तो प्रावधान ल्याउनु अगाडी ७ वटा थियो, अहिले ७ वटा थपिएको छ । ल मानौँ, नयाँ आएका ७ वटाले सय करोड नै लगानी गर्दा पनि ७ अर्ब हुन्छ । ३६ अर्ब कहाँबाट आएको आँकडा हो ? म त्यो पनि देखाउन चुनौति दिन्छु । गलत तथ्यांक देखाएर झुक्याउने काम नगर्न पनि म अनुरोध गर्न चाहन्छु ।

अर्को कुरा, आज पनि ६ रुपैयाँ, ७ रुपैयाँ सस्तोमा उहाँहरुकै सामान बजारमा आउने अवस्था छ । अनि उहाँहरु कसरी समस्यामा हुनुहुन्छ ? समस्यामा त हामी छौँ । उहाँहरुले जे भनिरहनु भएको छ, यसको सोझो बुझाई के हो भने, उहाँहरु अरुलाई मार्ने कुरा गरिरहनु भएको छ । उहाँहरु बिलेटबाट डण्डी बनाउनेहरु निर्मुल भएर जाउन्, यिनीहरु सबै बन्द हुन्, यिनीहरु मुग्लान पसुन्, हामी मात्रै बसेर मनोपोली गरौँ, सबै आफैँ खाऔँ भन्ने सोच मात्रै देखाइरहनु भएको छ । हामी सनातन धर्ममा विश्वास मान्छौँ, यसकारण यस्तो सोच्नेहरुले गति चाहिँ पाउँदैनन् । आफूले कमाएर खाने हो, तर अरुलाई मारेर म खान्छु भन्ने सोच राख्नु कदापी राम्रो होइन ।

हाम्रा कतिपय प्रावधानका कारण उत्पादनमूलक उद्योगहरु संकुचनमा आउँदा समग्र निर्माण क्षेत्र नै प्रभावित बन्यो पनि भन्ने गरिन्छ । बजेटले केही प्रावधानहरुमा पुर्नविचार गर्दा अब अर्थतन्त्र शिथिलताबाट बाहिर निस्कने सम्भावना बढेको हो ?

समग्र अर्थतन्त्र लयमा आउछ कि आउँदैन अहिले नै भन्न गाह्रो छ । यसका लागि केही समय पनि लाग्ला । तर, अर्थतन्त्र संकुचनमा पर्दा निर्माण क्षेत्र दोहोरो मारमा परेको चाहिँ पक्कै हो । एउटा असर अर्थतन्त्रमा आएको संकुचनको असर भयो, अर्को मार चाहिँ उपभोक्ता नै रनभुल्लमा पर्दा पनि परेको हो । बजारमा कमसल खालको डण्डी छ भनिएको छ, कम गुणस्तरका निर्माण सामग्री आए भनिएको छ, जसका कारण जो उपभोक्ता हो, उसले पनि आफूले घर बनाउने, कम्प्लेक्श बनाउने जस्ता योजनाहरु अघि बढाएनन् । यस्तो अवस्थामा उपभोक्ताहरु ‘पर्ख र हेर’को रणनीतिमा गए ।

र, अर्को सरकारकै कारण पनि निर्माण क्षेत्र सुस्तायो । सरकारले निर्माण व्यवसायीहरुलाई अर्बौ रुपैयाँको भूक्तानी दिएको छैन । भूक्तानी नपाएपछि निर्माण व्यवसायीहरुले हामी जस्ता उद्योगीहरुबाट लगेको सामानको पैसा तिर्न सकेनन् । यसपछि बजारको चक्र (साइकल) नै घुमेन । मैले बुझेसम्म सरकारले पनि पैसा नै नभएर भूक्तानी नदिएको हो ।

यस्तो पैसा नभएको सरकारले, औषधि–खाद्यान्न–तरकारी–फलफूलमा पनि कर उठाउनुपर्ने सरकारले फलामजन्य कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार लगाउने र अन्तःशुल्क छुट दिने भनिदियो । यो कुनै पनि हालतमा जायज थिएन । यदि स्पञ्ज आइरनमा पनि पहिला जस्तै ५ प्रतिशत मात्रै भन्सार लगाएको हुन्थ्यो भने पनि लाखौँ मेट्रिक टन आयात हुँदा अर्बौ रुपैयाँ राजस्व आउँथ्यो । फलाम खाने चिज होइन, सबै गरिबले लगाउने चिज पनि होइन, नभई नहुने चिज पनि होइन । यस्तो अवस्थामा आज पनि स्क्रापमा १ प्रतिशत छ । यस्तो अवस्थामा राजस्व नभएर सरकार चल्न नसक्ने, यता अत्यन्त आवश्यक वस्तु जसरी राजस्व छुट दिने । उता अन्तराष्ट्रिय वातवरण सम्बन्धि सन्धीमा हस्ताक्षर गरेर आउने, यता आएर वातावरण दूषित बनाउनेलाई सहुलियत दिने । यसकारण सरकारको नीति पनि मिल्दोजुल्दो भइरहेको छैन । भन्ने एउटा र गर्ने अर्को जस्तो देखिएको छ ।

अन्तिममा, राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षकोमौद्रिक नीतिको तयारी गरिरहेको छ । बजेटले केही सहजता प्रदान गरेको अनुभूति भइरहेका बेला कस्तो मौद्रिक नीति आउनुपर्ला ?

मौद्रिक नीतिका विषयमा यो यो कुरा हुनुपर्छ भनेर भन्नका लागि हामी वित्तीय संस्था होइनौँ । तर, एउटा उद्योगी व्यवसायी भएका कारणले बैङ्किङ क्षेत्रसँग जोडिन्छौँ । आज सुन्दा मिठो लाग्ने मौद्रिक नीति आए पनि त्यसले भविष्यमा निरन्तरता पाउनेमा ढुक्क हुने अवस्था छैन । किनभने, म कृषिमा पनि संलग्न भएको हुनाले बैङ्कबाट ५ प्रतिशतमा कृषि कर्जा लियो, ६ महिनामै बैङ्कले फोन गरेर राष्ट्र बैंकले बन्द गरिदियो भनिदिन्छ । बैङकहरुले राष्ट्र बैङ्कसँग बुझ्दा सरकारबाट नपाएका कारण बन्द गरिएको भनिदो रहेछ ।

हामी त राष्ट्र बैङ्क र सरकार एउटै हो भनेर चिन्दछौँ । नेपाल सरकारको अर्थ मन्त्रालयले कुनै सहुलियत दिने भनेपछि राष्ट्र बैङ्कले कार्यक्रम सुरु गरेको हुन्छ । तर, अर्थ मन्त्रालयले नदिएपछि उसले पनि बन्द गर्नुपर्ने हुँदो रहेछ । अनि सरकारले नै आफूले दिनुपर्ने कुरा दिँदैन भने राष्ट्र बैङ्कले मौद्रिक नीति मात्रै ल्याएर त्यसको के अर्थ हुन्छ र ?

आजको अवस्थामा बैङ्कहरुको ब्यालेन्स सिट हेर्दा कुनै पनि बैङ्कहरु नोक्सानमा छैनन् । केही अंकमा तलमाथि भए पनि नाफामै छन् । तर, आज उद्योगी व्यवसायीहरु आफ्नो उद्यम व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा छन् । बैङ्कको ब्याज तिर्न नसक्ने अवस्थामा छन्, सम्पत्ति बेचेर ब्याज तिर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा पुगेको उद्यम व्यवसायको क्षेत्रलाई राष्ट्र बैङ्कले बचाउने खालको नीति लिनुपर्छ । यो भन्नुको अर्थ के हो भने, आज ब्याज तिर्न सकेन, किस्ता तिर्न सकेन भने बैङ्कहरुले ७ दिने, ३५ दिने सूचना निकाल्छौँ भन्छन् । हामी त ब्यापार गरिरहेको मान्छे, एउटा मात्रै त हुँदैन । मेरै कुरा गर्दा सबैभन्दा ठूलो पो स्टिल हो त, यो आज नचले पनि पेन्ट्स् छ, कम्पोष्ट मल छ । अरु पनि केही उत्पादन छन् । तर, एउटामा मात्रै कालोसूचीमा हुनासाथ सबै बन्द हुन्छन् । न चेक चल्छ, न पैसा निकाल्न सकिन्छ, झ्याप्पै बन्द हुन्छ । यो कुराको ख्याल गर्ने कि नगर्ने ?

आज हामीले कुनै किस्ता वा ब्याज तिर्न नसके पनि हामीले तिर्दैनौ त भनेका छैनौँ । आजको अवस्था हाम्रो कारणले आएको हो की सरकारको नीतिका कारण आएको हो, देशको अवस्थाले सिर्जना गरेको हो की, अरु थुप्रै कारणहरुले गर्दा निम्तिएको हो ? यसकारण मौद्रिक नीति ल्याउने सवालमा राष्ट्र बैङ्क जस्तो विज्ञहरुले भरिएको संरचनामा यी विषयमा पनि छलफल हुनुपर्छ भन्ने मेरो विचार छ । अहिलको अवस्थामा किस्ता तिर्न नसक्ने, ब्याज तिर्न नसक्नेहरुलाई कम्तीमा पनि बाँच्न सक्ने गरि सहुलियत चाहिँ दिइनुपर्छ । ब्याजदर घटाउने नीति लिएर हुन्छ कि, कर्जाको रि–सेड्युलिङ गरेर हुन्छ कि, के गरेर हुन्छ, राष्ट्र बैङ्कले यत्ति चाहिँ गरिदेओस् भन्ने कुरा राख्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

 किरणप्रकाश साखः
 किरणप्रकाश साखःhttps://businesspana.com
वरिष्ठ उपाध्यक्ष नेपाल फलामे छड उत्पादक संघ
spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img