सुपर मादी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको मस्निर ४ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पुंजीको २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको हो। तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गरिरहेको २८५ मेगावाटको अपर तमोर जलविद्युत आयोजनामा लगानी गर्नको लागि कम्पनीले हकप्रद निष्काशनको निर्णय गरेको हो ।
कम्पनीले आगामी साधारणसभामा हकप्रद समबन्धि प्रस्ताव लैजाने छ। कम्पनीले पुस ४ गते साधारणसभा आह्वान गरेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६४२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड ५० लाख रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार पुग्ने छ। कम्पनीले सो पुंजीको ५० प्रतिशतले हुन आउने १ अर्ब १५ करोड ७६ लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।













