ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६ अर्ब २० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा १.१० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड कायम भएको छ। बैंकको खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड पुगेको छ भने कुल संचालन आम्दानी ३.०१ प्रतिशतले बढेर २१ अर्ब २७ करोड पुगेको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड पुगेको छ।
यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी १४.११ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता १४.११ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक थियो ।
कम्पनीको चुक्ता पुंजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा २४ अर्ब २१ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा ५ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने ४ खर्ब ११ अर्ब कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.२८ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.८७ प्रतिशत रहेको छ।












