नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडले व्यवसाय विस्तारको लागि कम्पनीको उदेश्यहरु थप गरेको छ । कम्पनीको फागुन १ गते सम्पन्न साधारणसभाले कम्पनीको उदेश्य थप गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
कम्पनीको साधारणसभाले कम्पनीको उदेश्य थप गर्नको लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको हो । अब कम्पनीको प्रबन्धपत्र संशोधन भएसंगै कम्पनीलाई थपिएका उदेश्य अनुसारको कार्य गर्ने बाटो खुल्ने छ ।
कम्पनीले खाद्यान्न, कृषि उत्पादन तथा सबै प्रकारका कृषि एवं कृषि-आधारित वस्तुहरू र अन्य सबै कृषि वस्तुहरू (कच्चा, प्रशोधित वा अर्ध – प्रशोधित अवस्थाका) को आयात, निर्यात, खरिद, बिक्री, दलाली, व्यापार, वितरण तथा अन्य सम्बन्धित कारोबार गर्ने गरि उदेश्य थप गर्न लागेको हो। त्यस्तै कम्पनीले प्रचलित कानुनको अधीनमा रही स्वदेशभित्र कृषि सामग्री, कृषि उत्पादन तथा यससँग सम्बन्धित वस्तुहरूको सामान्य व्यापार, थोक व्यापार, खुद्रा व्यापार तथा बजार व्यवस्थापन (मार्केटिङ) सम्बन्धी व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरेको छ।
कृषि तथा कृषि–सम्बन्धित वस्तुहरूको आयात, निर्यात, भण्डारण, ह्यान्डलिङ, प्रशोधन, ढुवानी तथा व्यापारका लागि आवश्यक वा उपयोगी सबै सहायक, आनुषङ्गिक तथा सम्बन्धित कार्यहरू गर्ने उदेश्य पनि कम्पनीले थप गरेको छ।
प्रबन्धपत्रमा थप संशोधन गर्नु परेमा साधारणसभाले सो कार्यको अख्तियारी संचालाक समितिलाई दिएको छ ।













