सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीले मङ्सिर २५ देखि मङ्सिर २९ गतेसम्म पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार ३ सय ८८ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा ६७ हजार ६ सय ५५ जनाको आवेदन परेको थियो । जसमा ६७ हजार ६ सय ३७ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार १७ हजार २ सय ३८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बैंकले गत वैशाख २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
यस बैंकको बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहको छ। बैंकको कार्यक्षेत्र नै खोटाङ जिल्ला हो ।












