आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ । सधै झैँ म्युचुअल फण्डबाट लाभांश घोषणाको क्रम सुरु भएको हो।
जस अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रबर्द्धक तथा एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।
आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८२/०४/०५ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितीको १३६ औं बैठकले आर्थिक वर्ष २०८१/ ०८२ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन ५ गते बुक क्लोज गरिएको छ । साउन ५ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।
क्यापिटलका अनुसार एनआईबिएल सहभागिता फण्ड को स्वीकृत कोष आकार ६ अर्ब समाप्त भएको हुनाले उक्त सीमा भन्दा माथीको इकाई लगानीकर्ताको हितग्राही खातामा जम्मा नभएता पनि दर्ता किताब बन्द ( Book Close) मिति २०८२/०४/०५ सम्म लगानी गर्नुहुने सम्पूर्ण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरे पश्चात् उपरोक्त लाभांश प्राप्त गर्ने छन्।
“एनआईबिएल सहभागिता फण्ड” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछिको) लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account)मा कोष आकार वृद्धिको स्वीकृती पश्चात् इकाईहरु पठाईने क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार स्वीकृत कोष आकार ६ अर्बसम्मको इकाईको लाभांश दर्ता किताब बन्द पश्चात् बैंक खातामा पठाइने वा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) गरेको हकमा समायोजित मूल्यमा उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गरिनेछ । उक्त स्वीकृत कोष सीमा (६ अर्ब) भन्दा माथी भएको इकाई खरिदको हकमा उक्त कोष आकार को वृद्धि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेकोले सो पश्चात् बैँक खातामा पठाइने वा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) गरेको हकमा समायोजित मूल्यमा उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गरिनेछ ।











