राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा परेको आवेदन खोलिएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले लिलामीमा परेका आवेदनहरु साउन २५ गते आइतबार खोलेको हो।
क्यापिटलका अनुसार यस लिलाममा कुल १८ सय २६ वटा आवेदन परेका थिए । आवेदकले प्रति कित्ता ३४० रुपैयाँसम्मको लागि आवेदन दिएका थिए ।
लिलामीमा आएको शेयरको प्रारम्भिक कट अफ मूल्य २७६ रुपैयाँ कायम भएको छ। चेक रिकन्सिलियसनको काम चलिरहेकोले सो पछि मात्र अन्तिम कट अफ मूल्य आउने क्यापिटलले जनाएको छ। अन्तिम कट अफ मूल्य प्रारम्भिक कट अफ मूल्यभन्दा केहि तल माथि हुन सक्ने छ। अन्तिम कट अफ मूल्य तय भएपछि क्यापिटलले लिलामीमा आएका शेयर बाँडफाँड गर्ने छ ।
राप्ती हाइड्रोले साउन १३ गतेदेखि साउन २० गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण समूहको कुल ७ लाख ४ हजार १ सय ११ कित्ता शेयर लिलाम गरेको थियो। कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ७१ हजार ६५ जनालाई ५४ लाख २३ हजार ८ सय २७ कित्ता शेयर बाँडफांड गरिएको थियो । बिक्री नभएको ७ लाख ४ हजार १ सय ११ कित्ता शेयर लिलाम गरिएको हो।












