तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको कुल ४ लाख १८ हजार ७ सय ३८ कित्ता शेयर लिलाम गर्न लागेको हो। यस लिलामीको शेयरमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ ।
यस लिलामी प्रक्रियाको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।
काठमाडौँ जिल्ला भित्र नबिल इन्भेष्टमेन्ट क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने नबिल बैंकको शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, हेटौडा, जावलाखेल, सुर्यविनायक, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। यस हकप्रदमा रितपुर्वक आवेदन दिने लगानीकर्तालाई ३५ लाख ८१ हजार २ सय ६२ कित्ता शेयर बाँडफांड गरिएको छ। हकप्रदमा बिक्री नभएको शेयर लिलाम हुन लागेको हो ।












