बलेफी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको हकप्रद शेयरमा परेका बोलपत्रहरु खोलिएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज फागुन २२ गते बिहिबार बिहान क्यापिटलको लाजिम्पाट स्थित कार्यालयमा बोलपत्रहरु खोलेको हो ।
कम्पनीले फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म हकप्रदमा अवितरित कुल १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाममा ल्याएको थियो । यसमा १७ सय भन्दा धेरै आवेदन परेका थिए ।
लिलामीमा आएको मध्ये ६ लाख ७६ हजार १ सय ९१ कित्ता संस्थापक शेयर थियो। यस समूहको शेयरको प्रारम्भिक कटअफ मूल्य २२६ रुपैयाँ कायम भएको छ । यी शेयरको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ।
त्यस्तै ५ लाख ८ हजार ८ सय ९२ कित्ता सर्वसाधारण समुहको लकइनमा रहेको शेयर थियो । यस समूहको प्रारम्भिक कटअफ मूल्य २२७ रुपैयाँ कायम भएको छ। यी शेयरको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ।
त्यस्तै लकइनमा नरहेको सर्वसाधारण समूहको ६ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर पनि लिलाममा आएको थियो। यस समूहको प्रारम्भिक कटअफ मूल्य ३२३ रुपैयाँ कायम भएको छ ।
यो प्रारम्भिक कटअफ मूल्य मात्र रहेको क्यापिटलले जनाएको छ। फाइनल भेरिफिकेसन र चेक क्लियरिंगको काम चलिरहेकोले सो कार्य सकिएपछि मात्र फाइनल कटअफ मूल्य आउने क्यापिटलले जनाएको छ । अन्तिम कटअफ मूल्य भने प्रारम्भिक कटअफ मूल्य केही तलमाथि हुन सक्छ ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने व्यवस्था थियो । आवेदन दिंदा कुन समूहको शेयरको लागि आवेदन दिएको हो, सो खुलाउनु पर्ने थियो।
कम्पनीले मङ्सिर २७ गतेदेखि पुस १७ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा रितपुर्वक आवेदन दिने ५३ हजार ५७ जना लगानीकर्तामा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको थियो। बिक्रि नभएको शेयर लिलाम भएको हो ।












