लिबर्टी इनर्जी कम्पनीले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा परेका बोलपत्रहरु खोलिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले माघ १८ गते बोलपत्र खोलेको हो।
क्यापिटलका अनुसार यस लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य १८७ रुपैयाँ कायम भएको छ। फाइनल भेरिफिकेसन र चेक क्लियरिंगको काम चलिरहेकोले यो प्रारम्भिक कट अफ मूल्य मात्र रहेको क्यापिटलले जनाएको छ। अन्तिम कट अफ मूल्य सोमबार साँझसम्म आईसक्ने क्यापिटलले उल्लेख गरेको छ। प्रारम्भिक कटअफ मूल्य भन्दा अन्तिम कटअफ मूल्यमा १/२ रुपैयाँ तलमाथि हुन सक्छ।
लिबर्टीले माघ २ देखि माघ ९ गतेसम्म हकप्रदमा अवितरित साधारण समुहको ८ लाख २६ हजार ५ सय ७४ कित्ता शेयर लिलाममा ल्याएको थियो। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने व्यवस्था थियो ।
१८७ रुपैयाँ नै कट अफ मूल्य कायम रहेमा १८७ रुपैयाँ भन्दा माथि कबुल गर्नेले माग गरेजति शेयर पाउने छन् । १८७ रुपैयाँमा आवेदन दिनेले भने समानुपातिक रुपमा शेयर पाउने छन् ।
कम्पनीले मङ्सिर १६ गतेदेखि पुस ७ गतेसम्म हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०.५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। कम्पनीले हकप्रदमा बिक्री नभएका शेयरहरु लिलाम गरेको हो।