औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ। प्रतिष्ठानले भदौ ११ गते सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पुरा गरेकालाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको हो ।
कार्यविधिको अनुसूची – १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूले कार्यविधिको अनुसूची – ३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नु पर्ने प्रतिष्ठानले जनाएको छ । परियोजना प्रस्ताव अनलाइनमार्फत पनि भर्न सकिनेछ ।
कुन क्षेत्रको स्टार्टअप आवेदन दिन योग्य ?
देहायका क्षेत्रमा सञ्चालित स्टार्टअपहरू सहुलियतपूर्ण कर्जाको आवेदनका लागि योग्य हुनेछन् :
(क) कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम;
(ख) उत्पादनमूलक उद्यम;
(ग) वन ( जडीबुटी, वन पैदावार) मा आधारित उद्यम;
(घ) पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम
(ङ) विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम;
(च) मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम;
(छ) शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम
(ज) सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यम
(झ) पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम;
(ञ) विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम;
(ट) परम्परागत तथा ग्रामीण प्रविधिसँग सम्बन्धित उद्यम;
(ठ) स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम
(ड) सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम;
(ढ) खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम;
(ण) घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम;(त) वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम
(थ) परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम;
(द) खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम,
(ध) फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यम ।
कस्ता स्टार्टअप योग्य ?
कर्जा प्राप्त गर्न देहाय बमोजिमका योग्यता पुरा गरेका उद्यमी योग्य हुनेछन्:
(क) उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाघेको:
(ख) प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा उद्योग
दर्ता गर्ने निकायमा दर्ता भएको;
(ग) उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार पन्ध्र करोड रुपैयाँ ननाघेको;
(घ) सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको;
(ङ) नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको ।
माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस कार्यविधि बमोजिम कर्जा प्रवाह गर्ने प्रयोजनका लागि देहायका उद्यमलाई स्टार्टअप उद्यम मानिने छैन: –
(क) प्रचलित कानून बमोजिम उद्योगको रुपमा दर्ता नभएको,
(ख) वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको,
(ग) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
(घ) सूचना प्रकाशित भएको मिति भन्दा पछि दर्ता भएको,
(ङ) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ्ग तथा लगानी कम्पनीको रुपमा दर्ता भएको।
प्रस्ताव पेश गर्ने तरिका :
(१) कर्जा लिन चाहने उद्यमीले तोकिएको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ । परियोजना प्रस्तावको ढाँचा प्रतिष्ठानको वेबसाइट www.iedi.org.np बाट डाउनलोड गर्न सकिनेछ । एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाइनेछैन ।
(२) विद्युतीय माध्यमबाट प्रस्ताव पेश गर्नका लागि प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा लगइन गरी पपअप मेनुमा रहेको सूचनामा अनलाइन फारम भर्नुहोस् भन्ने आइकनमा क्लिक गरी सोधिएका विवरण भर्नु पर्नेछ ।
(३) अन्य कुनै निकायबाट सहुलियतपूर्ण कर्जा लिएका प्रस्तावकलाई सो कर्जा चुक्ता नगरेसम्म यस कार्यविधि बमोजिमको कर्जा उपलब्ध गराइने छैन ।
(४) परियोजना प्रस्तावमा उल्लिखित सम्पूर्ण विवरण र कागजपत्रहरू पेश गर्नुपर्नेछ ।
प्रस्तावको साथमा संलग्न गर्नु पर्ने कागजात :
१. उद्योगको दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि,
२. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
३. अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
४. अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
५. फर्म, कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
६. कर्मचारी/कामदारको अघिल्लो आर्थिक वर्षको वार्षिक तलबी विवरण,
७. सूचना प्रविधि तथा नवप्रवर्तनको प्रयोग भएको पुष्टयाइँ सहितको स्वः घोषणा
कर्जा पाउनको लागि छनौट भएका स्टार्टअपले आफ्नो परियोजना नै धितो राख्नु पर्ने छ। छनौट भएका आवेदकले न्युनतम ५ लाख र अधिकतम २५ लाख कर्जा पाउने छन् । कर्जाको ब्याजदर ३ प्रतिशत रहने छ भने कर्जा अवधि अधिकतम ५ वर्ष रहने छ । कर्जा लिएको एक वर्ष भित्र सावाँ र ब्याजको पहिलो किस्ता तिर्न थालिसक्नु पर्ने छ । अन्य व्यवस्था स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ बमोजिम हुने छ, जुन प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा उपलब्ध रहेको छ ।