नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सम्पूर्ण प्रक्रिया रद्द गरेपछि अध्यक्षको लागि आवेदन दिएका सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
उनले सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिममा आएर सिफारिस समितिले प्रक्रिया रद्द गर्नु उचित्त नदेखिएको भन्दै रिट दायर गरेका हुन् ।
रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा , महान्यायाधिवक्ताको कार्यालय, नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति, सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. मधु कुमार मरासिनी र उदय निरौलालाई विपक्षी बनाएका छन् ।
यस रिटको पेशी असार १८ गते मंगलबारलाई तोकिएको छ।
गत शुक्रबार सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सिफारिस समितिले सर्टलिस्ट गरेका ५ उम्मेदवारमध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि प्रक्रिया नै अन्योलमा थियो । यस विषयमा महान्यायाधिवक्ताको कार्यालयले २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने राय दिएपछि छनोट समितिले प्रक्रिया रद्द गरेको हो ।
धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।