Saturday, July 18, 2026
spot_img

दशैँ बिदामा घुमफिरः यी हुन् सात प्रदेशका सात गन्तव्य

spot_img

दशैँको बिदा भनेको घुमफिरमा रमाउने बेला पनि हो । एकैपटक लामो बिदा हुने भएकाले यो बेला देशका विभिन्न ठाउँमा पुग्ने र रमाउने उपर्युक्त समय हो । पछिल्लो समय नेपालीहरु दशैँको बिदामा घुमफिरमा निस्कने गर्छन् । नयाँ नयाँ ठाउँमा पुग्ने र रमाउने संस्कृति नेपालीहरुमाझ पनि बढ्दो छ ।

नेपाली भू–वनोट सदाबहार घुमफिरका लागि योग्य मानिन्छ । यद्यपी, पर्यावरणीय तथा मौसमी दृष्टिले पनि असोज, कार्तिक महिना घुमफिरका लागि उपर्युक्त सिजन हो । वर्षात्को समय पनि सकिएको र जाडो पनि प्रवेश गरि नसक्ने हुनाले असोज कार्तिकमा घुमफिरमा निस्कनेहरुको संख्या उल्लेख्य हुन्छ ।

यसपाली हामीले सात प्रदेशका सात गन्तव्यको विशेषता र कसरी पुग्न सकिन्छ विषय समावेश गरेका छौँ ।

कोशी प्रदेशः इलाम

घुमफिरमा निस्कने भन्नासाथ इलाम सबैको मुखमा आइहाल्ने गन्तव्य हो । इलामको कन्यामबाट पूर्वी नेपालको भ्रमण आरम्भ गर्ने हो भने केही दिनमा सबै क्षेत्र घुमेर भ्याइन्छ । इलामको कन्यामका सडकको दुई किनारमा देखिने चियाका बोटहरूले जो कोहीलाई पनि लोभ्याउँछ ।

इलाम पुग्दा लोपोन्मुख लेप्चा जातिदेखि राई, लिम्बूहरुको संस्कार, संस्कृति, रहनसहन, भेषभूषासँग प्रत्यक्ष साक्षात्कर हुन पाइन्छ  । कन्यामबाट श्रीअन्तु डाँडासम्म पुग्न सकिन्छ  । श्रीअन्तु डाँडा देखि सूर्योदय हेर्नका लागि नेपालकै कहलिएको गन्तव्य हो ।

इलामबाट अघि बढ्दै जाँदा पाँचथरको साधुटारदेखि ताप्लेजुङको पाथिभरा मन्दिरसम्म जान पनि पाइन्छ । अलैँची, अकबरे खुर्सानी, अम्लिसो, ओखर लगायतका ८ ‘अ’का लागि इलाम प्रख्यात छ ।

कसरी पुग्ने ?

इलाम जान काठमाडौँबाट सिँधै बस लाग्छ । काठमाडौँ बाहेकका ठाउँबाट जाने हो भने पनि विभिन्न गन्तव्यबाट इलामसम्म जाने बस पाइन्छ । हवाईमार्ग रोज्ने हो भने काठमाडौँबाट झापाको चन्द्रगढी विमानस्थलसम्म पुग्न सकिन्छ । त्यहाँबाट गाडी चढेर सजिलै इलाम पुग्न सकिन्छ  । चन्द्रगढीबाट इलाम पुग्न २ घण्टा जति मात्रै लाग्छ । इलाममा खान र बस्न कुनै समस्या छैन ।

मधेश प्रदेशः जानकी मन्दिर (जनकपूर)

तराई मधेश अन्नको भण्डार मात्रै होइन, थुप्रै धार्मिक तीर्थाटनले भरिपूर्ण नेपालको सम्पत्ति हो । यीमध्ये जो कोहीले पनि मधेश भ्रमण गर्दा छुटाउनै नहुने ठाउँ हो जानकी मन्दिर । मुगल शैलीमा बनाइएको यो मन्दिर केवद दर्शनका लागि मात्रै नभई मानवकलाको उत्कृष्ट नमुना पनि हो ।

मन्दिरको वास्तुकलाले हरकोहीलाई मोहित बनाएँछ । जानकी मन्दिर लोकमैथिली सभ्यताको धरोहर पनि हो । खासगरी यहाँ विवाह पञ्चमीमा ठूलो भीड लाग्छ ।

कसरी पुग्ने ?

जनकपुर सजिलै पुग्न सकिने ठाउँ हो । काठमाडौँबाट बीपी राजमार्ग हुँदै बर्दिबाससम्म पुगेर त्यहाँबाट केही समयमै जनकपूर पुगिन्छ । मुलुकको जुनसुकै ठाउँबाट सजिलै जनकपुरका लागि बस पाइन्छन् ।

हवाईमार्ग हुँदै पनि जनकपुर पुग्न सकिन्छ  । काठमाडौँ–जनकपूर सिँधा हवाई उडान सञ्चालन हुँदै आएको छ ।

बागमती प्रदेशः शैलुङ (रामेछाप/दोलखा)

बागमती प्रदेशमा घुमफिरका लागि सयौँ गन्तव्य छन् । हामीले यसपाली ‘शैलुङ’लाई नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा परिचय गराउँदैछौँ ।

रामेछाप र दोलखा जिल्लाको सीमा क्षेत्रमा अवस्थित शैलुङ पर्वतीय हिमश्रृङ्खलाहरुको अनुपम दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो । एकै ठाउँमा सय वटा भन्दा बढी पहाडका थुम्काहरु भएकाले यो क्षेत्रलाई ‘सय लुङ’ अर्थात् शैलुङ भनिएको हो । लुङ भनेको तामाङ भाषामा पहाड वा पर्वत भन्ने हुन्छ । पछिल्लो समय यो क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकहरु बढिरहेका छन् ।

समुन्द्री सतहबाट ३ हजार १४६ मिटरको उचाईमा रहेको यो ठाउँ पदयात्राका लागि लोकप्रीय बनिरहेको छ । विभिन्न ट्राभल कम्पनीहरुले पनि अहिले यो क्षेत्रमा सहजै मान्छेहरु घुमाउँदै आएका छन् । शैलुङबाट गौरिशङ्करसहित धेरैजसो हिमश्रृङ्खलाहरुको नजिकैबाट दृश्यपान गर्न सकिन्छ ।

तामाङ समुदायको बाहुल्य रहेको यो क्षेत्र आलुका लागि ख्यातीप्राप्त छ । काठमाडौँमा ‘मुडेको आलु’का नाममा बिक्री हुने आलु यहीँ क्षेत्रमा फलेको आलु हो ।

कसरी पुग्ने ?

शैलुङ पुग्न अहिले सहज छ । काठमाडौँबाट एकैदिनमा धुलिखेला, मुडे, खाडीचौर हुँदै शैलुङ पुग्न सकिन्छ । बीचमा पर्ने देवालयहरुको दर्शन गर्दै शैलुङ जाने हो भने सिन्धुलीको कुशेश्वर महादेवको दर्शनसँगै रामेछाप जिल्ला प्रवेश गरेर खाँडादेवी, अग्लेश्वरी, सानो शैलुङ लगायतका ठाउँहरु हेर्दै पनि शैलुङ जान सकिन्छ ।

रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी हुँदै पनि शैलुङ जान सकिन्छ ।

गण्डकी प्रदेशः मनाङ

मनाङ भौगोलिक, जातीय र सांस्कृतिक विविधतायुक्त भूमी हो । हिमाली जनजीवनलाई नजिकबाट बुझ्ने चाहना भएकाहरुले मनाङ घुम्दा फलदायी हुन्छ । हिमाली हावापानी, जनजीवन र रहनसहनले मानिसलाई लोभ्याउँछ ।

मनाङलाई हिमालपारिको सुन्दर जिल्ला पनि भनिन्छ । मनाङ पुग्नका लागि एउटा मात्र बाटो छ । पर्यटकीय दृष्टिले पिसाङ, भ्राखा, खाडसागर, टंकीमनाङ, नार र फू, थोन्चे लगायतका क्षेत्र यस भेगका महत्वपूर्ण गन्तव्य हुन् । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पनि यहीँ पर्छ ।

कसरी पुग्ने ?

पृथ्वी राजमार्गस्थित तनहुँको डुम्रेदेखि ४२ किलोमिटर यात्रा पश्चात लमजुङको बेंसीशहर पुगिन्छ । यो बाटो हुँदै मनाङ जाने गरिन्छ । अन्नपूर्ण पदमार्गको बाटो पनि पर्ने भएकाले मनाङ जाँदा बाटोमा अनेकौँ गन्तव्यको अवलोकन गर्न पाइन्छ ।

लुम्बिनी प्रदेशः रानीमहल (पाल्पा)

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी नै भइहाल्यो । यस गन्तव्यको चर्चा जहीँतहीँ भइरहेकै हुन्छ । हामीले यसपाली भने पाल्पाको रानीमहललाई लिएका छौँ । यद्यपी, रानीमहल पनि कम चर्चित ठाउँ होइन । पाल्पाकै सुप्रसिद्ध ठाउँ रानीमहललाई नेपालको ताजमहल पनि भनिन्छ ।

राजा खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको महल भएकाले यसलाई रानीमहल भनिएको हो । नेपालकै सबैभन्दा अनुकुल हावापनी भएको जिल्ला मानिने पाल्पा पुगेपछि राणाकालीन दरबारसँगै हृषीकेश मन्दिर, मदनपोखरा, राम्दी सुन गुफा जस्ता पर्यटकीय स्थलहरूको भ्रमण गर्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौँदेखि बुटवल हुँदै सिद्धार्थ राजमार्गको बाटो भएर पाल्पा जान सकिन्छ । काठमाडौँ–बुटवल रुटका लागि सजिलै गाडी पाइन्छ । रात्रीबस पनि सञ्चालनमा छन् ।

कर्णाली प्रदेशः त्रिपुराकोट (डोल्पा)

कर्णाली प्रदेश धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण प्रदेश हो । यसपटक दशैँमा घुमफिर गर्ने सोचमा भएकाहरुलाई डोल्पाको त्रिपुराकोट उपर्युक्त गन्तव्य हुन सक्छ  । त्रिपुराकोट किन पनि दशैँका बेला महत्वपूर्ण हुन्छ भने यहाँ दशैँमा टीका लगाउने साइत अन्यत्रभन्दा फरक हुन्छ  । यो विषयको अध्ययन गर्न त्रिपुराकोट जाँदा धेरै कुरा बुझ्न र देख्न पाइन्छ ।

त्रिपुराकोट नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा मानिन्छ । यहाँ सयौँ वर्ष पुरानो बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर छ  ।

सँगै, डोल्पाको ‘से फोक्सुन्डो’ ताल नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । त्रिपुराकोटबाट से फोक्सुन्डो तालसम्म पुगेर फर्किदा पनि सहज नै हुन्छ ।

कसरी पुग्ने ?

काठमाडौँबाट डोल्पा जिल्लाको जुफाल विमानस्थलसम्म हवाई यात्रामार्फत पुग्न सकिन्छ । त्यहाँबाट करिब दुई घण्टा पैदल हिँडेपछि भेरी नदी पुगिन्छ  । भेरी नदीको किनारमा त्रिपुरासुन्दरी मन्दिर छ ।

सुदूरपश्चिम प्रदेशः बडीमालिका (बाजुरा)

समुन्द्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको बाजुराको बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्य हो । नजिकै देखिने सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्यसहित आँखाले हेर्न भ्याएसम्म देखिने विशाल फाँटहरु बडिमालिकाका विशेषता हुन् । बडिमालिका मन्दिरको आडैबाट आँखै अगाडि अपी–सैपाल हिमालको मनोरम दृश्य देख्न सकिन्छ । बडिमालिक पुग्ने जो कोहीले स्वर्गीय आनन्दको अनुभूति गर्न सक्दछन् ।

कसरी पुग्ने ?

स्थलमार्ग हुँदै बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । साँफेबगरबाट ब्रहृमतोलाको शेराबजारसम्म गाडीको सुविधा छ । त्यहाँबाट पैदल हिड्नुपर्छ ।

हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टीसम्म पुग्न पुगिन्छ । कोल्टीबाट एक दिन हिँडेर सदरमुकाम मार्तडी पुग्न सकिन्छ । सदरमुकाम मार्तडी बजारबाट पैदल हिँडेर जाँदा ३ दिनमा बडीमालिक पुग्न सकिन्छ ।

बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण पर्यटकले खानपिन तथा बासको जोहो आफैँले गर्नुपर्छ । मन्दिर व्यवस्थापनले बास बस्नका लागि धर्मशाला भने बनाइदिएकाले छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...
spot_img