दशैँका बेला घुमफिर गर्ने चलन बढ्दो छ । दशैँ, तिहार, छव जस्ता चाडपर्वहरु पारिवारिक जमघटको अवसर पनि भएकाले पछिल्ला वर्षहरुमा नयाँ नयाँ ठाउँ घुम्ने, नयाँ अनुभव हासिल गर्ने क्रम बढिरहेको देखिन्छ । नेपालीहरुको यहीँ घुमन्ते संस्कृतिलाई लक्षित गर्दै अहिले होटल तथा रिसोर्टहरुले पनि ‘दशैँ लक्षित प्याकेज’ ल्याइरहेका छन् ।
काठमाडौँ, पोखरा, चितवन, धुलिखेल जस्ता पर्यटकीय क्षेत्रका होटलहरुले दशैँ लक्षित प्याकेज ल्याएर पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने प्रयास गरिरहेका छन् । साथै, स्थापितबाहेक नयाँ गन्तव्यका होटलहरुले पनि आन्तरिक घुमफिरलाई बढावा दिँदैछन् । धादिङ, सिन्धुपाल्चोक जस्ता काठमाडौँ नजिकका गन्तव्यमा बनेका रिसोर्टहरुले पनि दशैँ लक्षित घुमफिरलाई प्राथमिकता दिँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान दिइरहेको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् ।
आन्तरिक पर्यटकले बढाउँदै अकुपेन्सी
आन्तरिक पर्यटन बजार चलायमान हुन्छ भन्ने देखेरै अहिले तारे होटल र रिसोर्टहरुले फेस्टिभ अफर ल्याइरहेको हानका अध्यक्ष शाहको भनाइ छ । भोटेकोशी बाढीको विपत्तिबाट परेको असर चिर्ने गरी अहिले होटलहरुले आन्तरिक पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको उनी बताउँछन् । यसै क्रममा होटल तथा रिसोर्टहरुले चाडपर्वलाई केन्द्रित गरेर खाना र कोठामा छुट सहितको प्याकेज ल्याइरहेको व्यवसायीहरुको भनाइ छ ।
अहिले आन्तरिक घुमफिर बढेसँगै काठमाडौँ र काठमाडौँ बाहिरका होटल तथा रिसोर्टहरुको अकुपेन्सी बढेको छ । ‘दशैँ भनेको विशुद्ध पारिवारिक जमघटको अवसर हो, यो समयमा आफ्नो घर र गाउँ जाने त छँदैछ’ हानका अध्यक्ष शाह भन्छन्, ‘साथै, अहिले दशैँ तिहारको बेला केही समय बिदा पनि हुने भएकाले योङ जेनेरेशनहरु साथीभाईसँग जमघट गर्ने, घुम्ने गर्छन् । यसले होटल र रिसोर्टको अकुपेन्सी बढाएको छ ।’ अहिले होटल तथा रिसोर्टको अकुपेन्सी ७५ प्रतिशत हाराहारी पुगेको छ । भोटेकोशी बाढीका कारण रद्द भएका बुकिङ पनि क्रमशः आउन थालिसकेको व्यवसायीहरुको भनाइ छ ।
चौतर्फी रुपमा अर्थतन्त्र चलायमान
पहिला पहिला दशैँ, तिहार जस्ता चाडमा होटलहरु खाली हुन्थे । विदेशी पर्यटकहरु मात्रै हुने भएकाले रेष्टुरेन्टहरु सामान्य रुपमा चल्थे, अधिकांश कर्मचारीहरु बिदामा हुन्थे । तर, अहिले परिस्थिति फेरिएको होटल व्यवसायीहरु बताउँछन् ।
दशैँ, तिहारकै बीचमा विदेशी पर्यटक आउने सिजन पनि भएको र अहिले आन्तरिक पर्यटकहरु पनि उल्लेख्य रुपमा घुमफिरमा निस्कने भएकाले होटल तथा रिसोर्टहरुले कर्मचारी व्यवस्थापन पनि सोही अनुसार मिलाएका छन् । ‘पहिला पहिला दशैँ भन्नासाथ कामदार घर जान्थे, होटलका रेष्टुरेन्टहरु खासै चल्दैनथे’ हानका अध्यक्ष भन्छन्, ‘अहिले विदेशीसहित आन्तरिक पर्यटक पनि बढिरहेका छन् । यसकारण रेष्टुरेन्ट र होटल चलाउन हामीले कर्मचारीको बिदाको तालिका पनि त्यसै अनुसार मिलाएका छौँ ।’
यति मात्रै नभई, आन्तरिक पर्यटन चलायमान हुँदा अर्थतन्त्र पनि चलायमान हुने व्यवसायीहरु बताउँछन् । आन्तरिक पर्यटन मौलाउँदा कृषी, टेलिफोन, यातायात, इन्टरनेट लगायतका क्षेत्र पनि सँगसँगै चलायमान हुने व्यवसायीहरुको भनाई छ ।
‘देश दर्शन’ अभियान कार्यान्वयन होस्
होटल व्यवसायीहरुले सरकारबाट घोषित आन्तरिक पर्यटन प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन नभइरहेको गुनासो गरेका छन् । होटल व्यवसायी महासंघ, होटल संघ नेपाल, रेष्टुरेन्ट बार एसोसियशन जस्ता व्यवसायिक संगठनहरुले सरकारबाट घोषित ‘देश दर्शन’ अभियान प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
सरकारी कर्मचारीहरुलाई आन्तरिक गन्तव्यमा घुमफिरका लागि पैसासहित निश्चित दिनको बिदा दिने भन्दै घोषणा भएको ‘देश दर्शन’ कार्यक्रम कार्यान्वयन हुने हो भने आन्तरिक पर्यटन अझ बढी फस्टाउने र यसको लाभ मुलुकको अर्थतन्त्रले पाउने व्यवसायीहरुको भनाइ छ । ‘सरकारले कार्यविधि बनाएर लागू गर्न समय लाग्छ भने राष्ट्र बैंक जस्ता धेरै कर्मचारी भएका निकायहरु छन्, यस्ता निकायबाट क्रमशः सुरु गर्दै जान सकिन्छ नि’ हानका अध्यक्ष शाहले भने, ‘यसो गर्दा अभियान संस्थागत हुँदै जान्छ, राज्यलाई पनि फाइदा हुन्छ ।’
होटल व्यवसायीहरुका अनुसार अहिले नेपालका होटलहरुमा वार्षिक करिब ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ । आन्तरिक पर्यटन क्रमशः विस्तार हुँदै जाँदा यो क्षमताको उपयोग हुने व्यवसायीहरुको विश्वास छ ।










