सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रयोग गर्दै आएको चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन् रोकिएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–३ रानागाउँस्थित खानीबाट चुनढुङ्गा उत्खनन् गरेर दाङमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा लैजाने गरिएकोमा स्थानीयले मंगलबारदेखि चुनढुङ्गा उत्खनन् कार्यमा रोक लगाएका हुन् ।
प्रिमीयम मूल्यमा आईपीओ निष्काशन गरेको भएपनि निरन्तर घाटामा रहेको घोराही सिमेन्टमाथि अब चुनढुङ्गा उत्खनन् समेत रोकिएपछि थप दबाब सिर्जना भएको छ । सम्झौताविपरीत खानी सञ्चालन गरिएको भन्दै गाउँलेले डोजर र ढुवानीका साधन रोकिदिएका छन् । स्थानीय र संघर्ष समितिले नियम विपरीत चुनढुङ्गा निकाल्ने काम भएको र पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि खानी उत्खनन् रोक्नु परेको बताएका छन् ।
स्थानीयहरुका अनुसार रोल्पा चुनढुङ्गा खानी प्रा.लि.ले सो खानीबाट चुनढुङ्गा निकालेर दाङस्थित सगरमाथा सिमेन्टमा लैजाने गरेको थियो । संघर्ष समितिका संयोजक ओमराज घर्तीका अनुसार २०७४ देखि सञ्चालनमा आएको खानीले स्थानीयहरुलाई पीडित बनाएको छ ।
कम्पनीले खानी क्षेत्र आसपासका व्यक्तिका जग्गा किन्नेगरी खानी सञ्चालनको सम्झौता गरिएको थियो । तर, कम्पनीले उक्त सम्झौता पालना गरेको छैन । सो क्षेत्रका स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधहरु पनि कम्पनीले स्थानीय गाउँपालिका र संघीय सरकारलाई तिनुपर्ने रोयल्टी समेत छली गरिरहेको बताउँछन् ।
घोराही सिमेन्टका पब्लिक रिलेशन म्यानेजर अमर सुवेदीले पनि खानीबाट चुनढुङ्गा उत्खनन् कार्य रोकिएको पुष्टि गरेका छन् । ‘आजबाट चुनढुङ्गा खानीमा उत्खनन् रोकिएको भन्ने सुनेको छु, यस विषयमा थप बुझ्न बाँकी नै छ’ उनले भने ।
निरन्तर घाटामा रहेको घोराही सिमेन्टले निर्माण सामग्रीको माग बढ्ने सिजनमै खानीबाट चुनढुङ्गा नआउने भएपछि थप घाटा ब्यहोर्नुपर्ने देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घोराही सिमेन्ट ५१ करोड ३८ लाख रुपैयाँ घाटामा छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि -४४.९६ रुपैयाँ छ ।
आईपीओ निष्काशन गर्ने बेला कम्पनीले स्वार्थ बाझिने गरि रेटिङ गरि गराएर उच्च प्रिमियम दर तोकेको आरोप समेत कम्पनीलाई लागेको थियो । घोराही सिमेन्टले आईपीओ निकाल्नु अघि केयर रेटिङ्स नेपालबाट क्रेडिट रेटिङ गराएको थियो । घोराही सिमेन्ट र केयर रेटिङ्स दुबै कम्पनीको मुख्य सेयरधनी विशाल ग्रूप हो । एउटै समूहको लगानी भएको कम्पनीको क्रेडिट रेटिङ गर्नु क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ विपरीत हो । यसरी स्वार्थ बाझिने गरि रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले रेटिङ कम्पनीलाई कारवाही समेत गरेको थियो । नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उद्योग प्रभावित क्षेत्रका स्थानियलाई ३०० रुपैयाँ प्रिमियम थप गरेर ४०० रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्तामा सेयर निष्कानशन गरेको थियो । आईपीओ निष्काशन गरेलगतै कम्पनीले नाफामा रहेको वित्तीय विवरण प्रकाशन गरेको थियो । तर, त्यसपछि भने कम्पनी निरन्तर घाटामा रहेको छ ।













