आईपीओ निष्काशनमा रहेको श्री डिस्टिलरी लिमिटेडको आम्दानी १२० प्रतिशतले बढेको छ। कम्पनीले सन् २०२३ मा ८ करोड २० लाख आम्दानी गरेकोमा सन् २०२४ मा कम्पनीले १८ करोड १० लाख आम्दानी गरेको हो।
कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिंग मार्फत हालै इन्स्युअर रेटिंग गराएको हो । जसमा जसमा कम्पनीले बीबी माइनसको इन्स्युअर रेटिंग पाएको छ । जसले कम्पनीलाई वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिम रहेको देखाउछ।
क्रेडिट प्रतिवेदन अनुसार कम्पनीले अहिले ऋणमुक्त छ। कम्पनीलाई आवश्यक पर्ने पुँजी कम्पनीका लगानीकर्ताले नै हालेका छन् र कम्पनीले ऋण लिनु परेको छैन । कम्पनीसँग नेपाली मदिरा उद्योगमा ३ दशकको अनुभव छ भने कम्पनीका व्यवस्थापन र संस्थापकहरु अनुभवी छन् ।
श्री डिस्टिलरीसँग स्प्रिट उत्पादनको लाईसेन्स पनि रहेको छ। नेपालमा रहेका ८४ डिस्टिलरी कम्पनी मध्ये ८ कम्पनी सँग मात्र स्प्रिट उत्पादनको लाइसेन्स रहेको छ। ति मध्ये एक श्री डिस्टिलरी हो । कम्पनीसँग वार्षिक ८ हजार किलोलिटर स्प्रिट उत्पादन गर्ने लाईसेन्स छ ।
माउन्ट एभरेष्ट व्हिस्की र गोर्खाली रम कम्पनीको सबैभन्दा लोकप्रिय ट्रेडमार्क ब्रान्ड हुन् । कम्पनीसँग ४८ लाख ६० हजार लिटर उत्पादन क्षमता रहेको छ । कम्पनीले २०२३ मा १८ लाख लिटर मात्र उत्पादन गरेकोमा सन् २०२४ मा उत्पादन बढेर ३५ लाख लिटर पुगेको थियो । कम्पनीले हाल ७० युपीसम्मको मदिरा उत्पादन गर्ने गरेको छ भने निकट भविष्य मै ४० युपी, ३० युपी र २५ युपीको मदिरा उत्पादन गर्ने तयारी गरेको छ।
कम्पनी भने अहिले घाटा मै रहेको छ। कम्पनीको संचालन मुनाफा पनि ऋणात्मक रहेको छ। सन् २०२१ मा कम्पनीमा व्यस्थापन परिवर्तन भएको थियो । त्यसपछि अब कम्पनीले बजारमा आफ्नो पुरानो शाख फर्काउन रणनीति बनाएको छ। जस मध्ये आईपीओ निष्काशन एक हो । कम्पनीले ९ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ।
श्री डिस्टिलरी सन् १९८५ मा स्थापना भएको थियो । कम्पनीले सुरुवाती ब्रान्डमा किङ्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राई, श्री स्पेसल नम्बर वान, दुधिया स्पेसल, बुलेट, श्री दुधिया, सगुन लगायत उत्पादन गर्ने गरेको थियो । त्यसपछि बीचमा कम्पनी बन्द भयो ।
कम्पनीले हाल प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोस, स्पेसल नम्बर वान ब्रान्डका मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्ड बजार ल्याउने तयारी पनि गरिरहेको छ ।