पोखरामा अटोमोबाइल्स व्यवसाय गरिरहेका ध्रुब थापा चौधरी ग्रुपका करण चौधरीलाई हराएर नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालको अध्यक्षमा निर्वाचित भएपछि निकै चर्चा भयो । एउटा मोफसलको व्यवसायीले ठूलो कर्पोरेट हाउसको प्रतिनिधिलाई निर्वाचनमार्फत हराउनु चानचुने कुरा पनि थिएन ।
त्यसपछि नाडामा सर्वसम्मतिको अभ्यासलाई पुनर्जीवन दिने काम पनि उनै थापाले गरे । आफू अध्यक्षबाट बिदाई हुँदैगर्दा आफैँसँग चुनाव हारेका चौधरीलाई नेतृत्व हस्तान्तरण गरे, त्यो पनि सर्वसम्मत रुपमा । थापा व्यवसायिक रुपमा मात्रै होइन, सामाजिक काममा उत्तिकै सक्रिय छन् ।
तर, भदौ २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनले उनी मात्रै होइन, उनका दाजु बिन्दुकुमार थापाको समेत निजी सम्पत्ति खरानी बनायो । स्कुले जीवनदेखि नै व्यवसायिक यात्रा आरम्भ गरेर ३५ वर्ष लामो मेहनतको जगमा उभिएका उनका व्यवसायिक प्रतिष्ठान र शोरुम तथा निजी निवास छिनभरमै खण्डहर बने ।
उनी कुनै पनि राजनीतिक दलका पूर्णकालिन कार्यकर्ता थिएनन् । न त कुनै दलसँग नै उनको विवाद र द्वन्द थियो । थियो त केवल, सौहार्दपूर्ण सम्बन्ध । व्यवसायिक जगतमा मात्रै होइन, थापा र उनकी श्रीमती मिलन थापा सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिए । वर्षौको मेहनतबाट रोजगारदाताका रुपमा पनि योगदान बढाउँदै थिए । तर, त्यसरी आर्जित प्रतिष्ठाप्रति जेनजी आन्दोलनका नाममा घुसपैठ गरेकाहरुको कुदृष्टि पर्यो, र ३५ वर्षको उनको मेहनत खरानीमा रुपान्तरण भयो ।
दाजु बिन्दुकुमार थापा पनि व्यवसायी थिए । जागिरे जीवनबाट अवकाश भएपछि व्यवसायमा रोजेका उनी पनि सामाजिक काममा नै समर्पित थिए । समाजसेवालाई अझै बढी योगदान गर्न भनेर उनी राजनीतिमा लागे, चुनाव जिते, मन्त्री भए । मन्त्रीका रुपमा प्राप्त गर्ने तलब भत्ता उनले एक रुपैयाँ पनि साथमा नराखी समाजसेवामै खर्चिए । तर, उपहार स्वरुप उनले सर्वश्व गुमाउनुपर्यो ।
परिवारकै सदस्य सरहकी कर्मचारीले ज्यान गुमाइन
पोखरा महानगरपालिका ८ स्थित नयाँबजारमा रहेको थापाको घर, कार्यालय, शोरुम, लेकसाइडमा अवस्थित कमर्शियल बिल्डिङ केही पनि बाँकी रहेन । शोरुममा रहेका ७ वटा नयाँ गाडी खरानी बने । भौतिक क्षतिको हिसाब गर्दा १५ करोड भन्दा माथिको सम्पत्ति उनले गुमाए ।
सम्पत्ति मात्रै गुमाएनन्, परिवारकै सदस्य सरहकी एक जना कर्मचारीसमेत गुमाए । थापाको कार्यालयमा काम गर्ने सिन्धुपाल्चोककी ४० वर्षीया सञ्जु नगरकोटीको आगोमा जलेर मृत्यु भयो । ‘आफ्नै परिवारकी सदस्यका रुपमा हामीसँग रहेकी बहिनीलाई गुमाउनुपर्दा हामी मर्माहत बनेका छौँ, ठूलो आघात पुगेको छ’ थापा भन्छन्, ‘हामी स्तब्ध भएका छौँ ।’
गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री रहेका ध्रुबका दाजु बिन्दु कुमार थापाले पनि आफू राजनीतिमार्फत समाजसेवामै क्रियाशिल रहँदा पनि आफूसहित आफ्नो भाइ ध्रुबको निजी सम्पत्ति र व्यवसायमाथि आक्रमण भएको गुनासो गरेका छन् । मन्त्री थापाको पोखरा लेकसाइडस्थित बगैंचा होटल र व्यवसायिक कम्प्लेक्श पूर्ण रूपमा जलाइएको छ । उनको ५० करोड भन्दा बढीको क्षति भएको छ ।
मन्त्री थापाको होटलमा काम गर्दै आएकी दोलखाको बैत्यश्वर ८ घर भएकी स्वस्थानी खड्काको पनि जलेर मृत्यु भएको छ । ‘मेरो कर्मचारीलाई जिउँदै जलाइयो । उनको के दोष थियो ?’ थापाले लेखेका छन्, ‘के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?’













