Thursday, May 7, 2026
spot_img
spot_img

अक्षयको रफ्तारमा गोल्यान समूहको उडान

spot_img
spot_img

‘नेपालमा केहीपनि हुँदैन । यो देशमा केही सम्भावना नै छैन । ‘यहाँ गरिखान कठिन छ ।’ नेपालको युवा पुस्ता आपसमा गफिँदा अहिले यस्तैयस्तै नैराश्यताका भाव पोख्छन् । प्रविधिको मद्दतले दुनियाँ नियालिरहेका बहुसङ्ख्यक युवाले मुलुकभित्र कुनै सम्भावना नदेखिरहेको अवस्थामा केही पात्र भने यस्ता छन्, जो नेपालबाहेक अन्य देशमा यहाँजस्तो सम्भावना नै देख्दैनन् । तिनैमध्ये एक अब्बल युवा व्यवसायी हुन्, अक्षय गोल्यान ।

देशबाहिर रहेर उच्च शिक्षा अध्ययन गरेका अक्षय अहिले नेपाली उद्यम, व्यवसायको क्षेत्रमा ख्यातिप्राप्त घराना ‘गोल्यान ग्रुप’को बागडोर सम्हालिरहेका छन् । उमेरका हिसाबमा भर्खर ३५ वसन्त पार गरेका उनी आफूभन्दा झण्डै दोब्बर उमेरको गोल्यान समूहलाई सफलतापूर्वक नेतृत्व गरिरहेका छन् ।

काठमाडौँमा हुर्किए, विदेशबाट उच्च शिक्षा आर्जन गरे
अक्षय गोल्यान काठमाडौँमै हुर्किएका हुन् । बुबा पवन कुमार गोल्यानको नेतृत्वमा चलिरहेको औद्योगिक घरानाका सदस्य उनले कक्षा १२ सम्मको अध्ययन स्वदेशकै लिङ्कन स्कुलबाट पूरा गरे । त्यसपछिको अध्ययन भने विदेशका विभिन्न विश्वविद्यालयमा गरे ।

उनले एक अमेरिकी विश्वविद्यालयको संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कलेजबाट सन् २०११ मा बीबीए तहको अध्ययन पूरा गरे । ‘उत्कृष्ट पाँच’ विद्यार्थीको रुपमा ब्याचलर सकेर उनी नेपाल फर्किए । ‘अध्ययनको बेलामा बिजेनशमा म जोडिइँन’ उनी भन्छन्, ‘त्यस समयमा मेरो कन्सन्ट्रेशन बिजनेशतर्फ भएन ।’

यसो भन्दै गर्दा पनि उनी त्यो बीचको १ वर्ष जति गोल्यान समूहले बालकुमारीमा विकास गरिरहेको रियल–इस्टेट परियोजनामा मार्केटिङ हेर्ने गरी जोडिएका थिए । सन् २०१२ मा उनी बिजनेश स्टडिज कोर्स अध्ययनका लागि स्पेन पुगे । इसेड युनिभर्सिटी बार्सिलोनाबाट सन् २०१४ मा अक्षयले एमबीए अध्ययन पूरा गरे ।

 

‘देशबाहिर गएर पढ्ने कि स्वदेशमै पढ्ने भन्ने मैले सुरुमा सोचेको थिइनँ, तर युरोपेली देशबाट एमबीए गर्नुपर्छ भन्ने चाहना चाहिँ थियो’ अक्षय आफ्ना स्मृतिहरु ताजा बनाउँछन् र भन्छन्, ‘यसै सिलसिलामा एमबीए सकेपछि उतै बिजेनश गर्ने सोच पनि नआएको होईन । सन् २०१४ देखि २०१७ सम्म दुबई र स्पेनमा आईटी कम्पनी चलाउने भनेर पनि लागेँ ।’

जब बुबाले भने, ‘अब तिमी नेपाल फर्किनुपर्छ…’
अक्षय गोल्यानको जन्म नै व्यावसायिक परिवारमा भएको हुनाले उनी उद्यम व्यवसायका कुरा सुनेरै हुर्किएका हुन् । अध्ययनको क्रममा रहँदा उनले बिजनेशतिर आफूलाई अघि सारेनन् । उनका बुबा पवन कुमार गोल्यानले पनि छोरालाई जबरजस्ती व्यवसायमा लगाउन खोजेनन् ।

उच्च तहको अध्ययनका क्रममा देशबाहिर रहँदा अक्षयका धेरैजना साथी बनिसकेका थिए । उनीपनि साथीहरुसँग विदेशमै थिए । उतै व्यावसायिक यात्रा अघि बढाउने तयारी पनि नभएको होइन । तर, एक समय यस्तो आयो कि बुबाले अक्षयलाई भने, ‘अब तिमी नेपाल फर्किनुपर्छ ।’

पिता सोहनलाल गोल्यानले कपडा उद्योगबाट सुरु गरेको यात्रालाई पवनले आफ्नो नेतृत्वमा स्पिनिङ मिल्स, बैंक÷वित्त, ऊर्जा, कृषि, रियल–इस्टेट हुँदै हस्पिटालिटी क्षेत्रसम्म बिस्तार गरिसकेका थिए । बढिरहेको लगानी, प्राप्त भइरहेको सफलता र नेपाली समाजले दिइरहेको प्रतिष्ठाको विरासत धान्न पनि उनले आफ्नो छोराको साथ खोजेको हुनुपर्छ । सायद, पवन गोल्यानलाई त्यतिबेलै लागेको हुँदो हो, ‘मेरो छोरो जवानमात्रै भएको छैन, बुद्धिमानी पनि उत्तिकै छ ।’ नभन्दै, अक्षय गोल्यान स्वदेश मात्रै फर्किएनन्, हजुरबुबाले बसालेको जग र बुबाले फैलाएको उद्यम र व्यवसायको साम्राज्यमा सफलताका थप सिँढीहरु उक्लिरहेका छन् ।

‘साथीहरु सबैजसो बाहिरै थिए, सुरुमा मेरोपनि नेपाल फर्किने प्लान थिएन । तर, बुबाले मलाई अब तिम्रो हेल्प चाहिन्छ, आएर हेर, तिमीलाई इच्छा लाग्दैन भने फेरि विदेश जाँदापनि हुन्छ भन्नुभयो’ अक्षय भावुक हुँदै स्मृतिमा डुब्छन्, ‘त्यसपछि म नेपाल फर्किएँ । यो सन् २०१७ को कुरा हो । नेपाल फर्किएपछि धेरै कुरा सोचेँ, हजुरबुबा र बुबाले वर्षौँ लगाएर आफ्नै देशमा आर्जन गरेको प्रतिष्ठालाई मैले कायम राख्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ । यसरी मेरो स्वदेश फिर्ती स्थायी बन्न पुग्यो ।’

व्यावसायिक यात्राको प्रारम्भ
झण्डै १० वर्ष विदेशमा अध्ययन गरेर फर्किएका अक्षयसँग कक्षाकोठामा सिकेको ज्ञान पर्याप्त भएपनि त्यसको व्यावहारिक उपयोग भने बाँकी नै थियो । त्यसैले उनलाई कुन क्षेत्रबाट उद्यम, व्यवसायमा प्रवेश गर्ने भन्ने निर्णय लिन सहज भएन । केही समयको चिन्तन पश्चात् उनी रिलायन्स स्पिनिङ मिल्समार्फत स्थायीरुपमा बिजनेशमा जोडिए ।

उद्योग चलाउने व्यावहारिक ज्ञान सिक्न उनले सुरुको वर्ष कडा मेहनत गरे । यसक्रममा उनले पटकपटक टर्की र भारतीय बजारको भ्रमण समेत गरे । उत्पादन प्रक्रिया र बजारीकरणको अध्ययन गरेर सन् २०१८ मा उनले रिलायन्सको सम्पूर्ण जिम्मेवारी लिए ।

‘क्लासारुममा व्यावहारिक पक्षको सिकाई हुँदैन, यो भनेको अनुभवबाट सिक्दै जाने कुरा रहेछ’ अक्षय भन्छन्, ‘व्यावहारिक पक्षको ज्ञान भने अनुभवबाट पाइँदोरहेछ । नेटवर्किङ र विभिन्न इभेन्टबाट यो ज्ञान पनि सिक्दै गएँ ।’

रियलायन्सको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी त लिए, तर आफूभन्दा दोब्बर उमेर भएका कर्मचारीसँग काम गर्नुपर्ने चुनौती पनि उत्तिकै थियो । कर्मचारीको विश्वास जित्दै उद्योगका सञ्चालकहरुको भरोसा पनि कायम राख्नुथियो ।

‘म रिलायन्समा प्रवेश गर्दा मेरो उमेर २७÷२८ वर्षमात्रै थियो, सीईओ ५५÷६० वर्षको हुनुहुन्थ्यो । यसले जेनेरेशन ग्याप भएजस्तो महशुस नभएको होइन’, उनी स्मरण गर्छन्, ‘नयाँनयाँ प्रविधिको विकास भएपनि कामचाहिँ म्यानुअल्ली नै हुने गर्दथ्यो । यसबाटै परिवर्तन सुरु गर्नुपर्छ भनेर थालियो । तलब पनि सोही वर्ष बढाइयो, केही प्रेसर परेपनि अन्ततः नतिजा राम्रो देखियो । वार्षिक २० करोड बचत हुन थालेपछि अरु सञ्चालकमा पनि विश्वास बढ्न गयो ।’

यसरी सुरुवाती भूमिकाबाटै आफ्नो कुशलता प्रदर्शन गरेका अक्षय पछिल्ला एकाध वर्षमा मुलुकको अर्थतन्त्रमा देखिएका समस्याबारे जानकार नहुने कुरै भएन । सन् २०१९ बाटै रिलायन्सलाई क्षमता विकासमा केन्द्रित गराएका उनले यो बीचमा अनुभवबाट धेरैकुरा सिकेको सुनाए ।

‘अर्थतन्त्रमा शिथिलता आउँदा त्यसको असर उद्यम व्यवसायमा पर्ने नै भयो, रिलायन्स भनेको निर्यातमूलक उद्योग हो’ उनी भन्छन्, ‘यो दुईतीन वर्षमा उद्योगहरुले सरकारबाट पाउनुपर्ने निर्यात बापतको नगद अनुदान पाउन नसकेको इस्यू आयो, डेडिकेटेड ट्रंक लाइर्नको महशुलको इस्यू आयो । मैले यी कुराहरु अनुभवबाट सिक्न पाएँ ।’

बुबाले गरेको त्यो विश्वास
हरेक बुबाआमाले आफ्ना सन्तानको उन्नति चाहन्छन् । तर, बुबाआमाको मनले आफ्ना छोराछोरीलाई जहिल्यै सानो नै देख्छ । यो भनेको भावना हो, करुणा हो । यसकारण नेपाली समाजमा लक्का जवान भईसकेका छोराछोरीलाई पनि बुबा आमाले पारिवारिक वा व्यावसायिक नेतृत्व त परैको कुरा, निर्णय प्रक्रियामा समेत सामेल गराउँदैनन् । यद्यपि, अहिले यसमा सुधार भएको छ ।

पवन कुमार गोल्यान यस्ता उद्यमी हुन्, जसले ३० वर्ष पनि नपुगेको आफ्नो छोरालाई सम्पूर्ण निर्णय गर्ने अधिकारसहित सन् २०१९ मा रिलायन्स स्पिनिङ मिल्सको प्रबन्ध निर्देशक बनाए । छोरालाई ‘डिशिजन मेकिङ’को जिम्मेवारी दिनेक्रममा पवन गोल्यानले भनेका थिए रे, ‘राम्रो भयो भनेपनि तिम्रै निर्णयका कारण हुन्छ, नराम्रो भयो भनेपनि तिम्रै निर्णयका कारणले हुन्छ । आफूलाई ठिक लागेको निर्णय लिन तिमी स्वतन्त्र छौ ।’

‘प्रवेश गरेको २ वर्षपनि नपुग्दै बुबाले जुन विश्वास गरेर मलाई एमडीको रोल दिनुभयो, मेरो बुबाले गरेको त्यो अत्यन्त ठूलो निर्णय थियो’ अक्षय सम्झिन्छन्, ‘त्यो उमेरको मान्छेलाई चाहेको निर्णय गर्न सक्ने अधिकारसहित यति ठूलो उद्योगको एमडी बनाउने कुरा सानो निर्णय थिएन । आज जे उपलब्धि हासिल हुँदै गएको छ, त्यो हिजो बुबाले गर्नुभएको यही निर्णयका कारण सम्भव भएको छ ।’

‘व्यवसायीको छोरो व्यवसायी नै हुनुपर्छ भन्ने मान्यता राख्दिनँ’
अहिले व्यावसायिक समूहहरुले पुस्तान्तरण गरिरहेको देख्न पाइन्छ । तर, कतिपय अवस्थामा सन्तानको चाहना विपरीत जबरजस्ती जिम्मेवारी दिँदा त्यसले सफलता भन्दापनि भइरहेको ‘ग्रोथ’लाई समेत नकारात्मक बनाउने गरेका उदाहरण पनि छन् ।

अक्षय गोल्यान भने व्यावसायिक परिवारको सदस्यले बिजनेश नै गर्नुपर्छ भन्ने कुरामा सहमत देखिँदैनन् । ‘व्यवसायीको छोराछोरी व्यवसायमै हुनुपर्छ भन्ने कुरामा म सहमत छैन’ उनी भन्छन्, ‘परिवारले त सन्तानको प्यासनमा सहयोग गर्नुपर्छ । जबरजस्ती गर्नुहुँदैन । मेरो परिवारमा हिजोपनि यस्तो अभ्यास थिएन, आजपनि छैन र भोलिपनि हुँदैन । म पनि हेरेर, सोचेर उपयुक्त लागेपछि मात्रै जोडिएको हुँ । म आफ्नो निर्णय लिन स्वतन्त्र थिएँ ।’

बिजनेशमा मात्रै नभई अन्य क्षेत्रमा पनि ख्याति प्राप्त व्यक्तिका छोराछोरीलाई बाबुआमा जस्तै बन्नुपर्छ भनेर ‘प्रेसर’ दिन नहुने उनको मत छ । ‘अमिताभ बच्चनको छोरालाई बुबाको जस्तै अभिनय गर्नैपर्छ भनेर प्रेसर दिँदैमा हुँदैन’ अक्षय उदाहरणसहित भन्छन्, ‘मेस्सी र रोनाल्डोका छोराहरुलाई तिमीहरुले तिमीहरुका बुबाले जस्तै फुटबल खेलेर संसारभरि तहल्का मच्चाउनुपर्छ भनेर हुँदैन । उनीहरुको प्यासनमा भरपर्ने कुरा हो ।’

अहिले समूहकै जिम्मेवारी
रिलायन्स स्पिनिङ मिल्सबाट समूहमा प्रवेश गरेका अक्षय अहिले सिङ्गो गोल्यान समूहको जिम्मेवारी सम्हालिरहेका छन् । काममा केन्द्रित हुन र आफूले जिम्मेवारी पाएको क्षेत्रको ‘ग्रोथ’मा ‘फोकस’ हुन सल्लाह दिने गोल्यान अहिले आफ्नो समूह अन्तर्गतका उत्पादनमूलक उद्योग, बैंक÷वित्त, ऊर्जा, कृषि र पर्यटन सबै क्षेत्र हेर्छन् ।

समूह अन्तर्गतका उद्यम र व्यवसाको सम्पूर्ण जिम्मेवारी बोकेर हिडिरहेका यी लक्का जवान मेहनतमा विश्वास गर्छन् । असजिलो र समस्याबाट समाधान खोज्नुलाई बुद्धिमानी ठान्छन् । समस्या देखाएर कर्मबाट बिमुख हुनु हुँदैन, बरु निरन्तर काममा केन्द्रित हुँदा असफल भइँदैन भन्ने उनको सन्देश छ ।

‘नियम कानुन सबैलाई एउटै हो, नेपालमा केही असजिलो छ, तरपनि हामीले सम्भावना देख्नुपर्छ, जे आइपर्छ काम गर्दै जाँदा त्यसलाई व्यावहारिक रुपमा पन्छाउँदै पनि जानुपर्छ, प्यासन हुनुपर्छ’ अक्षय दृढ सुनिन्छन्, ‘कतिपय समस्याको समाधान हाम्रो हातमा हुँदैन । तरपनि असजिलो भयो भने ‘गीभ अप’ गर्नु हुँदैन । देश, अर्थतन्त्र र निजी क्षेत्रको विकासका लागि केही गर्नुपर्छ । हामी यही सोचका साथ हिँडिरहेका छौँ ।’

सन् २०१९ मा अक्षय गोल्यान रिलायन्सको नेतृत्वमा आउँदा समग्र गोल्यान समूहको पोर्टफोलियो जति थियो, अहिले ६ वर्षको अवधिमा ३ सय प्रतिशतले बढिसकेको छ । नेतृत्व सम्हालेको ६÷७ वर्षकै अवधिमा ३ सय प्रतिशत पोर्टफोलियो बढ्नु भनेको चानचुने सफलता होइन । यसबाट पनि युवा उमेरका अक्षयको नेतृत्वमा गोल्यान समूह सफलतापूर्वक अघि बढिरहेको छ भन्ने देखिन्छ । सँगै, अरु व्यावसायिक घरानालाई पनि पुस्तान्तरणका लागि हौसला मिलेको छ ।

भविष्यको लक्ष्य
गोल्यान समूह नेपालको सर्वाधिक रोजगारदाता समूहमध्ये एक हो । मुलुकभित्र विभिन्न २५ वटा उद्यम, व्यवसाय सञ्चालन गर्दै आएको गोल्यान समूहले ६ हजार जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । विभिन्न ५० बढी देशमा नेपाली वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जनमा समेत योगदान पु¥याइरहेको छ । रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक निर्यातकर्ताका रुपमा पटकपटक सम्मानित समेत भइसकेको छ ।

अक्षयका अनुसार पछिल्लो समय गोल्यान समूह ऊर्जा, कृषि र पर्यटनमा बढी केन्द्रित छ । ‘नेपाल ल्याण्डलक्ड कन्ट्री हो, तरपनि प्राकृतिक रुपमा निकै सम्पन्न देश हो’ उनी भन्छन्, ‘हामीले यसैकारण हाइड्रो र सौर्य ऊर्जासँगै टुरिजमलाई पनि फोकस गरेका छौँ ।’

काठमाडौँमा होटल सञ्चालनमा ल्याएर सर्वसाधारणलाई समेत सेयर निष्काशन गराइसकेको गोल्यान समूहले चितवन, लुम्बिनी, जनकपूर र पोखरामा पनि पर्यटन पूर्वाधार विकास गर्ने योजना बनाएको छ । लुम्बिनीमा १७५ कोठाको पाँचतारे होटलको निर्माण कार्य अघि बढिसकेको छ ।

‘नेपाल गड गिफ्टेड मुलुक हो, ऊर्जा र पर्यटनबाटै हामीले उन्नति गर्नसक्छौँ । अर्थतन्त्रका लागि यी दूवै क्षेत्र निकै महत्वपूर्ण छन्, हामीपनि यतातर्फ केन्द्रित भएर काम गरिरहेका छौँ’ उनी थप्छन्, ‘पर्यटनमा अपार सम्भावना छ । सहजै आउनसक्ने वातावरण बनाउने हो भने विदेशी पर्यटकको प्रमुख रोजाईको गन्तव्य आज पनि नेपाल नै हो । यसकारण पर्यटन क्षेत्रको ग्रोथबाट नै मुलुकको आर्थिक विकास हुन्छ भन्ने मेरो आत्माको भनाई छ ।’

‘यो देशको भविष्य नै हामी युवा हौँ’
अक्षय गोल्यानका अनुसार भविष्यमा यो भूमिकामा देखिन्छु, यो पदमा पुग्छु वा यसो नै गर्छु भनेर हिँड्दा कुनै कारणवश लिएको लक्ष्य पूरा भएन भने त्यसले अर्को काम गर्न ऊर्जा दिँदैन । त्यसकारण उनी स्पष्ट छन्, ‘आज भईरहेको उपलब्धिमा विश्वास गर्नुपर्छ, सन्तुष्ट हुनुपर्छ ।’

तर, यसो भन्दै गर्दा बिना योजनाको कर्मपनि सार्थक हुँदैन । यसकारण अहिले मुलुकमा युवामा देखिएको नैराश्यता र ‘फ्रस्टेसन’लाई कम गर्ने खालको नीति आवश्यक रहेको उनको बुझाई छ । यसका लागि बढीभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्नुपर्ने गोल्यान बताउँछन् ।

‘फ्रस्टेसन छ, यसलाई कम गर्न धेरैभन्दा धेरै रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्छ, हामी यसतर्फ लाग्ने हो’, उनी भन्छन्, ‘अर्को कुरा भनेको समाजलाई विभाजित गर्ने प्रवृत्ति पनि निरुत्साहित बनाउनुपर्छ । जात, धर्म, क्षेत्र, वर्ण आदिका नाममा समाजलाई विभाजन गर्ने प्रवृत्तिले मुलुकलाई राम्रो गर्दैन । नकारात्मक कुराले सकारात्मक नतिजा प्राप्त हुँदैन । हामीले एक अर्कालाई सहयोग गर्ने वातावरण बनाउनुपर्छ । यो देशको भविष्य भनेकै हामीहरु हौँ ।’

(बिजनेश पाना म्यागेजिनबाट साभार)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...

मातृभूमि लघुवित्तको सीइओमा बखत बहादुर बटाला नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न...

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

आज बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै छ।  सर्वोच्च अदालतको...
spot_img