हस्पिटल चलाउने वा बनाउने कुरा निकै जटिल र संवेदनशील कुरा हो । लगानीका दृष्टिकोणले पनि ठूलो लागत पर्न जान्छ, फेरि हस्पिटल भनेको पूर्णतया सेवामूलक क्षेत्र हो । लगानी मात्रै भएर पनि हुँदैन, सुरुमै ठूलो लगानी चाहिने हुनाले त्यसबापतको नाफा आर्जनका लागि पनि फेरि ठूलो मेहनतको जरुरी हुन्छ ।
अर्को कुरा, हाम्रो देशमा जुन ‘लेवल’को सेवाका लागि जुन तहको पूँजी र जनशक्ति आवश्यक पर्छ, त्यसको उपलब्धता नै कमजोर छ । जति पनि सुविधा सम्पन्न निजी हस्पिटल बनेका छन्, ति सबै ‘रिक्स’ लिएर बनेका छन् । लगानीकर्ताको आँट र हिम्मतका कारण बनेका छन् । तर, प्रायः सबै हस्पिटल ‘सिटी फोकस’ (शहर÷बजार केन्द्रित) छन् । विश्वमा स्वास्थ्य क्षेत्रमा ‘एआई’को प्रयोग हुन थालिसक्यो । हामी पनि सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुँदैछौँ । यसका लागि पनि हामीसँग सबै क्षेत्रमा सुविधा सम्पन्न पूर्वाधारहरु हुन आवश्यक छ ।
बाह्य लगानी भित्र्याएर सुविधा बढाउन सकिन्छ भने त्यतातिर पनि हामीले कसरत चाहिँ गर्नुपर्छ । तर, यसको प्रक्रिया त्यति सरल छैन । नेपालभित्रै छरिएर बसेको स–सानो पूँजीलाई एकिकृत गरेर परियोजना विकास गर्ने क्रम पनि विस्तारै सुरु भएको छ । ह्याम्स हस्पिटलले पनि आईपीओबाट थप ‘क्यापिटल जेनेरेट’ गर्ने र त्यो पैसाले भौतिक संरचना विस्तार गर्ने योजना बनाएको छ र हाल यसको प्रक्रिया चलिरहेको छ ।
हस्पिटलबाट ठूलो नाफा सम्भव हुँदैन
हस्पिटल भनेको पूर्णतया सेवा क्षेत्र हो । सुविधा सम्पन्न हस्पिटलहरु नेपालभित्रै बन्नुपर्छ, नेपालभित्रै विश्वस्तरीय सेवा दिने हस्पिटल भएको खण्डमा हामीले प्रदान गर्ने स्वास्थ्य सेवाप्रति विश्व समुदायको नजर पर्छ भनेर लगानीकर्ताले राष्ट्रिय महत्व र इज्जतलाई ध्यानमा राखेर लगानी गरेका हुन्छन् । यसपछि सामान्य नाफा चाहनु त स्वभाविक भइहाल्छ ।
तर, सेवा क्षेत्र भएकाले ठूलो नाफा हुँदैन । मलाई लाग्छ, निजी क्षेत्रका हस्पिटलमा गरेको लगानीबाट मनग्य नाफाको अपेक्षा गर्न सकिँदैन, किनभने लगनीको ठूलो हिस्सा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने उपकरणहरूमा खर्च गर्नुपर्ने र ती उपकरणहरू पनि छोटो अवधिमा विस्थापित हुने वा परिवर्तन गर्नुपर्ने हुन्छ । स्वास्थ्यसँग जोडिएको क्षेत्र भएकाले यस क्षेत्रको नियमन पनि निकै कडा हुन्छ । अर्कोतर्फ, हामीले जुन मास (जुन वर्गको जनता, सर्वसाधारण)लाई सेवा दिन्छौँ वा दिइरहेका छौँ, त्यो मास अधिकांश निम्न मध्यम वर्गीय छ । उनीहरूको ‘पेइङ क्यापासिटी’ पनि सामान्यतया कम हुने गर्छ । यसर्थ, हस्पिटलमा लगानी गरेर ठूलो नाफा सम्भव हुँदैन । तर, यसको अर्थ नाफा नै हुँदैन भन्ने होइन, अन्य क्षेत्रको तुलनामा कम हुन्छ ।
ह्याम्सको आईपीओ र योजना
ह्याम्स हस्पिटलले सर्वसाधारण नागरिकमा आईपीओ निष्काशनका लागि प्रक्रिया अघि बढाएको छ । हामीले ११ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा निकाष्काशन गर्न लागेका छौँ, यसबाट यहीँको संरचना विस्तार गर्ने योजना छ । अहिले हामी थप ४० हजार ‘स्क्वायर फिट’को ‘कन्ट्रक्शन’को योजनामा छौँ । ओपीडी क्याबिन लगायतका अन्य युनिटहरुको पनि विस्तार गर्नेछौँ ।
अहिले ह्याम्स हस्पिटलमा बेड संख्या १०० छ । थप १०० जति बेड संख्या पनि थप्ने लक्ष्यका साथ काम अघि बढेको छ । मुख्य कुरा, ह्याम्सको आईपीओ निष्काशन भन्दा पनि हामीले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहलाई ध्यानमा राखेर त्यस अनुसारको क्षमता विकास गर्न चाहेका हौँ । यसका लागि सर्वसाधारण नागरिकमा आईपीओ निष्काशन गरेर उहाँहरुको समेत स्वामित्व होस् भनेर आईपीओमा जाने निधो गरेका छौँ ।
पूँजी थपेर नयाँ सेवाको विस्तार गर्ने सहित हाम्रो चाहना भनेको ‘हाइ रेगुलेटेड’ हुने पनि हो । अहिलेसम्म हामी स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट नियमन भइरहेका थियौँ, अब आईपीओ निष्काशन गरिसकेपछि धितोपत्र बोर्ड पनि हाम्रो नियामकका रुपमा थप हुन्छ । जसको कारणले अस्पताल व्यवस्थापन तथा नेपाल सरकारको नीति नियममा पारदर्शिता थप बढ्छ ।
हामीले अहिले भक्तपूरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलको पनि व्यवस्थापन सम्हाल्दैछौँ । उपत्यका आसपासका जिल्लाबाट उपचार गराउन आउनेहरुका लागि सजिलो ठाउँमा सुविधा सम्पन्न हस्पिटलबाट गुणस्तरीय सेवा प्रवाह गर्ने उदेश्यले उक्त हस्पिटलको व्यवस्थापन हामीले सम्हाल्न सुरु गरेका हौँ । हामीले नागरिक कम्युनिटी टिचिङ हस्पिटललाई ‘ट्रमा’मा केन्द्रित गराउने योजना बनाएका छौँ । त्यसमा पनि १ सय बेड हुन्छन् । थप २ सय करोडको लगानी योजना छ ।यसको अर्थ त्यहाँबाट साविकका लगानीकर्ता बाहिरिने भन्ने होइन, यसअघि भएका लगानीकर्तामा ह्याम्स हस्पिटल थप एउटा लगानीकर्ता र व्यवस्थापकका रुपमा भित्रिएको हो । त्यस हस्पिटलबाट ह्याम्सले हाल यहाँबाट (धुम्बाराहीस्थित ह्याम्स हस्पिटल) प्रदान गरिँदै आइएको स्तरकै सेवा प्रदान हुँदा सो क्षेत्र र आसपासका नागरिकहरुलाई स्वास्थ्य लाभ मिल्नेछ भन्ने अपेक्षा हामीले लिएका छौँ ।
‘विदेशी डक्टरलाई बोलाएर ‘बिशिष्टिकृत’ सेवा लिन सकियोस्’
सरकारले ‘हेल्थ केयर’ क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको दर्जा दिनु आवश्यक छ । २४सैँ घण्टा सेवा दिने क्षेत्र भएकाले सरकारबाट ‘हेल्थ केयर’ क्षेत्रलाई प्राथमिकता दिइनुपर्छ । ह्याम्स अस्पताल आजको दिनमा तुलनात्मक रुपमा राम्रो सेवा दिने हस्पिटल हो भनेर चिनिन्छि । २० वटा आईसीयू बेड छन्, जुन अन्य अस्पतालहरुको भन्दा राम्रा छन् भनेर सेवाग्राहीले नै भन्दै आउनु भएको छ । कार्डियो, अर्थो लगायत अन्य स्वास्थ्य क्षेत्रमा पनि हाम्रो सेवालाई सेवाग्राहीले राम्रो मान्नुहुन्छ । सेवा शुल्क पनि प्रतिस्पर्धी नै छ । तर, उपकरण खरिदमा सहजीकरण नहुँदा कहिलेकहीँ गाह्रो पनि हुन्छ । हामीलाई मात्रै होइन, अरु हस्पिटलहरुलाई पनि यो समस्या छ । एक सय बेडको हस्पिटल भएकाले तिमीले यति भन्दा बढी एम्बुलेन्स राख्न पाउँदैनौँ, यति भन्दा बढी स्वास्थ्य उपकरण राख्न पाउँदैनौँ भनेर तोकिएको हुन्छ ।
थप उपकरणहरु ल्याउन खोज्दा अनुमति पाउन धेरै समय कुर्नुपर्ने हुन्छ । कुनै पनि हस्पिटलले थन्क्याउनका लागि उपकरण औजार किन्दैनन्, आवश्यक भएरै किन्न खोज्ने हो । यसमा सम्बन्धित निकायले सहजीकरण गर्नुपर्छ भन्ने लाग्छ ।
अर्को कुरा, हामीले नेपालीहरुलाई उपचारका लागि सकेसम्म विदेश जान नपरोस् भनेर सोच्छौँ । अरु हस्पिलटहरुले पनि यहीँ सोचेका हुन्छन् । हामी त यो पनि सोच्छौँ कि, हाम्रा विज्ञहरुसहित विदेशबाट समेत आवश्यकता अनुसार विज्ञ डाक्टर बोलाएर पनि हाम्रा बिरामीको यहीँ उपचार गर्न सकियोस् । एउटा बिरामीलाई विदेश लैजानुपर्दा उसको खर्च ठूलो हुन जान्छ । बिरामीको उपचार, बिरामी कुरुवाको खर्च, आवतजावत, बसोबास लगायतका विभिन्न खर्च धान्न ठूलो धनराशी चाहिन्छ । यसलाई रोक्नुपर्छ भनेर हामीले ‘केस बेसिस’मा विदेशबाट आवश्यक पर्ने क्षेत्रमा विशेषज्ञ डाक्टरहरु यहीँ बोलाएर त्यस्ता बिरामीको उपचार गर्न चाहन्छौँ, यसमा सहजीकरणको आवश्यकता छ ।
जनशक्ति पलायन आजको प्रमुख चुनौती
हामी नेपालमा अवसरहरु सिमिति छन् भन्दै आएका छौँ । तर, आशा जगाउनतर्फ हामीले जति ध्यान दिनुपर्ने हो, त्यति दिइरहेका छैनौँ कि जस्तो लाग्छ । आज ह्याम्स अस्पतालमा ५६० जना जनशक्ति र ७३ जना ‘कन्सल्ट्यान्ट’ आवद्ध हुनुहुन्छ । तर, नर्सिङ जनशक्तिको पलायन डरलाग्दो भइसकेको छ । यसले नेपालका सबै हस्पिटलहरुलाई चुनौति थपेको छ । नर्सिङ स्टाफ मात्रै होइन, डाक्टरहरुको पनि पलायन बढ्दो छ ।
माथि नै उल्लेख गरिए अनुसार हामीले सेवा दिइरहेको मास ठूलो धनराशी खर्च गर्न सक्ने सामथ्र्य राख्ने खालको छैन, यसकारण नेपालमा भएका स्वास्थ्य संस्थाहरूले आफ्ना जनशक्तिलाई विदेशी अस्पतालको सरह सुविधा दिन सकिरहेका छैनौँ ।
कोभिड–१९ पछि विश्वका सबैजसो देश स्वास्थ्य क्षेत्रमा ठूलो मात्रामा जनशक्ति उत्पादनमा केन्द्रित भए । हामीले भने नेपालमा नर्सिङ स्टाफको उत्पादनलाई कटौती गर्दै गएका छौँ र केही व्यक्तिको आन्दोलनलाई देखाएर जनशक्ति उत्पादन नै रोक्न थाल्दा यसले भविष्यमा पार्न सक्ने भयावह असरबारे हामीले ध्यान नै दिएनौँ । जसका कारण भारतीय शहरमा मेडिकल शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरु बढिरहेका छन् । विदेश नै जाँदा पनि यहीँ पढेर जान्थे, अब त पढाई पनि विदेशमै, काम पनि विदेशमै हुने अवस्था बन्न थाल्यो । यसले भविष्यमा ठूलो संकट पैदा गर्ने जोखिम बढाएको छ, यो सिङ्गो स्वास्थ्य क्षेत्रकै लागि चुनौति हो । हामीले नर्सिङ स्टाफको अभाव भोग्नुपर्ने अवस्था तर्फ नियामक निकाय र सरकारले बेलैमा गम्भीर भएर सोच्न जरुरी छ ।
(बिजनेशपाना म्यागेजिनको फागुन अंकबाट साभार)