मार्च १५ अर्थात् चैत २ गतेबाट भारतले सोलार आवरमा मात्रै बिजुली दिने भएको छ । यसको अर्थ अब राती भारतबाट बिजुली आउँदैन ।
शनिबारबाट भारतले ६५४ मेगावाट विद्युत बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै दिने भएको छ । पिक आवर (साँझ ६ बजेदेखि राती १० बजेसम्म)को लोड धान्न अहिले नै धौ-धौ रहेका बेला अब झन भारतबाट बिजुली नआउने भएपछि लोडसेडिङको चिन्ता थपिएको छ । विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा रातभरी लोडसेडिङ गनुपर्ने करिब करिब निश्चित नै छ ।
‘स्वदेशी उत्पादन ड्राइ सिजनका कारण घटिरहेको छ, भारतले पनि अब सोलार आवरमा मात्रै बिजुली दिने भएपछि पीक टाइमको डिमाण्ड धान्न सक्ने स्थिति छैन’ विद्युत प्राधिकरण स्रोतले भन्यो, ‘औद्योगिक क्षेत्रमा रातको समयमा अब लोडसेडिङ हुने निश्चित जस्तै छ ।’
भारतबाट किन बिजुली नआउने भयो ?
भारतले सोलार आवरमा मात्रै बिजुली दिने भएपछि लोडसेडिङको जोखिम हुन्छ भनेर प्राधिकरणले थप विद्युत आपूर्तिको सम्झौता गरेको थियो । पछिल्लो समय २०८१ माघ २० गते (१२ फेब्रुअरी, २०२५) प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि समझदारी भएको थियो । समझदारी अनुसार विद्युतको मूल्य वृद्धिदर १.५ प्रतिशत थियो ।
तर, ऊर्जामन्त्री दीपक खड्काले सरकारको अनुमति बिना नै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मूल्य बढ्ने गरि विद्युत खरिद सम्बन्धि समझदारी गरेको भन्दै स्पष्टिकरण सोधिरहेका छन् । प्राधिकरणको कार्यकारी तहबाट भएको सम्झौता सञ्चालक समितिले स्वीकृति गरेर अनुमोदनका लागि विद्युत नियमन आयोगमा पठाउनुपर्नेमा मन्त्रालय र मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदबाटै स्पष्टिकरण सोध्ने शिलशिला चलेपछि पिक आवरमा भारतबाट बिजुली आउने सम्भावना टर्दै गएको छ ।
कुलमानले मन्त्रिपरिषदले आफूलाई सोधेको स्पष्टिकरणको जवाफ पठाउँदै सो समझदारीबारे ‘सुख्खायाममा विद्युत आयातको सुनिश्चितता भई सम्भावित लोडसेडिङको अवस्था आउन नदिन उचित प्रबन्ध हुने’ भनेर लेखेका पनि छन् ।
प्राधिकरणका एक जना कर्मचारीले पनि सोलार आवरमा मात्रै भारतबाट बिजुली आउँदा पीक आवरमा लोडसेडिङ हुन सक्छ भनेरै प्रबन्ध निर्देशकको तहबाट भारतीय पक्षसँग थप विद्युत आपूर्तिको समझदारी गरिएको बताएका छन् । सो समझदारी कार्यान्वयनमा लैजान सञ्चालक समितिले अनुमोदन गर्नुपर्ने हुन्छ ।
‘तर, सञ्चालक समितिको बैठक नै बस्न सकेको छैन, बरु उल्टै राज्यलाई भार पार्ने गरि समझदारी गरेर आएको आरोप लगाउँदै कुलमान सरमाथि स्पष्टिकरण सोध्ने शिलशिला नै चलाइएको छ’ ति कर्मचारीले भने, ‘पछिल्लो पटक भएको समझदारीमा यति नै मेगावाट बिजुली खरिद गर्ने भनेर भनिएको पनि छैन, आवश्यकता अनुसार खरिद गरिने हो ।’
घरायसी ग्राहकमा पनि लोडसेडिङको जोखिम
पछिल्लो समय २०८१ माघ २० गते भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग भएको सम्झौता कार्यान्वयन हुने हो भने बिहार र उत्तराखण्डबाट दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म बिजुली आयात गर्न सकिने अवस्था रहेको प्राधिकरण स्रोत बताउँछ । सम्भावित लोडसेडिङ टार्नकै लागि उक्त समझदारी गरिएको स्रोतको दाबी छ । तर, सरकार (खासगरि ऊर्जामन्त्री दीपक खड्का)ले उक्त समझदारी कार्यान्वयनमा लैजान नचाहिरहेको प्राधिकरणका कर्मचारी बताउँछन् ।
यस्तै, प्राधिकरणले भारतको विद्युत ब्यापार निगमसँग हिउँदमा २३० मेगावाट विद्युत आपूर्तिको सहमति गरेको भएपनि भारतको केन्द्रीय विद्युत प्राधिकरणले यो सहमतिलाई कार्यान्वयन गर्न स्वीकृति दिएको छैन । जसका कारण विद्युत प्राधिकरणले घरायसी ग्राहकलाई पनि माग अनुसारको बिजुली दिन सक्छ कि सक्दैन भन्ने चिन्ता थपिएको छ ।
‘उद्योगमा त लोडसेडिङ अहिले पनि छ, अब यो झन बढेर १२ घण्टासम्मै पुग्ने अवस्था हुन सक्छ, अहिले सम्मको हाम्रो फोकस चाहिँ घरायसी ग्राहकलाई लोडसेडिङमा राख्न नपरे हुन्थ्यो भन्नेमा छ’ प्राधिकरणका एक जना कर्मचारीले भने, ‘तर, कसैगरे पनि नसकिने अवस्था आयो भने घरायसी ग्राहकलाई पनि लोडसेडिङ गर्नुपर्ने बाध्यता आइपर्न सक्छ । करिब डेढ महिना यो समस्या हुन सक्ने देखिन्छ ।’
पिकिङ आयोजना दिनभर बन्द गर्ने तयारी
साँझको समयमा भारतले बिजुली नदिने भएपछि अब नेपालमा उपलब्ध रहेका पिकीङ आयोजनाहरु दिनभर बन्द गरेर पानी जम्मा गरेर राख्ने र रातको समयको माग धान्नलाई चलाउने प्राधिकरणको तयारी छ । विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रले देशभर बिजुलीको लोड व्यवस्थापनको जिम्मेवारी पाएको छ । केन्द्रका एक कर्मचारीका अनुसार भारतले कम बिजुली दिँदा वा नदिँदा नेपालमा रहेका तामाकोशी, कुलेखानी, चमेलिया, मर्स्याङ्दी जस्ता पिकीङ आयोजना दिनभर बन्द गरिन्छ। दिनभर भारतबाट सस्तोमा बिजुली आयात गर्ने र रातको समयमा मात्र यी पिकीङ आयोजना चलाएर रातको समयको लोड व्यवस्थापन गर्ने गरिएको उनको भनाइ छ ।
कुनै अफ्ट्यारो नपर्ने प्राधिकरणको दाबी
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले भने पीक आवरमा अहिले पनि भारतबाट बिजुली नआउने बताएका छन् । अब सोलार आवरमा मात्रै भारतबाट बिजुली आउने र रातीको समयमा नआउँदा पनि आन्तरिक उत्पादनले नै लोड धान्ने उनको दाबी छ ।
‘पिकिङ क्यापासिटी छ, ग्राहकलाई कुनै अफ्ट्यारो नपर्ने गरि व्यवस्थापन गर्छौँ’ प्रवक्ता घोषले भने, ‘रातीको समयमा केही केही क्षेत्र (औद्योगिक क्षेत्र)मा लाइन कटौती हुन सक्छ, तर ग्राहकलाई अफ्ट्यारो पर्दैन ।’