आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई वार्तामा बोलाएका थिए । लगत्तै शिक्षक महासंघ वार्ताका लागि तयार भएको हो ।
शुक्रबार दिउँसै वार्ता हुनेछ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गर्नेछन् ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भने वार्ताका लागि नभई नवनियुक्त मन्त्रीले बोलाएकाले आफूहरु मन्त्रालयमा जान लागेको बताइन् ।
बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिनभित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । शिक्षकहरू गत चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् ।