हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG द्वारा उत्पादित ठूला विद्युतीय बसहरू नेपाल भित्र्याउने भएको छ ।
कम्पनीले साउन २६ गतेदेखि आयोजना हुन लागेको नाईमा मोबलिटी एक्स्पोमा ति बसहरू सार्वजनिक गर्न लागेको हो ।
डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो । सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ । यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ ।
हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुप अन्तर्गत रहेको MAXUS कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएको छ ।
हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर कम्पनीले DONGFENG ठूला विद्युतीय गाडी नेपाल भित्र्याउन लागेको हो ।
नाइमा मोबिलिटी एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गर्न लागिएको छ भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटरका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ । यसको मूल्य तथा अन्य विवरणहरू भने कम्पनीले सोही अटो एक्सपोमा नै जानकारी गराउने भनेको छ । तर, कम्पनीले हाल नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको भन्दा निकै कम मूल्यमा सार्वजनिक गरिने जानकारी दिएको छ ।
एक्सोमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको योजना समेत प्रस्तुत गर्न लागिएको जानकारी दिएको छ । बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालय अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालभरि विभिन्न सहरहरूमा रहेका आफ्ना शाखा तथा डिलरहरूमार्फत उपलब्ध गराइने कम्पनीको भनाई छ ।









