उत्पादनको पहिलो खुड्किलो भनेको ‘एसेम्बल’ हो । एसेम्बलबाट नै उत्पादनको यात्रा आरम्भ हुने गर्दछ । आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित बनाउनका लागि एसेम्बललाई सरकारले प्राथमिकतामा राख्नु आवश्यक छ ।
मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने क्षमता सवारी साधन एसेम्बल उद्योगमा पनि रहेको छ । जसले देशलाई आयातमा निर्भर अवस्थाबाट आत्मनिर्भर औद्योगिक दिशातर्फ लैजान सक्छ । नेपालमा दशकौँदेखि सवारी साधनहरू तेस्रो मुलुकबाट पूर्ण रूपमा बनेको अवस्थामा आयात हुँदै आएको छ, जसले विदेशी मुद्राको ठूलो हिस्सा बाहिर पठाइरहेको छ । यति मात्रै नभई, स्थानीय सीप तथा रोजगारी विकासको अवसरलाई पनि सीमित बनाइरहेको छ । तर यदि एसेम्बलतर्फ मोडिने हो भने यो दीर्घकालीन रूपमा नै अर्थतन्त्रको भरपर्दो र दीगो विकल्प बन्न सक्छ ।
अहिले केही दुइ पाङ्ग्रे र एउटा पाङ्ग्रे ब्राण्डको एसेम्बल नेपालमा सुरु पनि भएको छ । यसबाट रोजगारी सिर्जनामा उल्लेख्य योगदान पुगिरहेको छ । अहिले सञ्चालनमा रहेका एसेम्बल उद्योगलाई प्रोत्साहन हुने खालका नीतिहरु सरकारले अख्तियारी गर्ने हो भने भविष्यमा यस्ता प्लान्टहरु थपिनेमा कुनै शंका छैन । साथै, भविष्यमा विद्युतीय सवारीको समेत नेपालमै एसेम्बल गर्न पनि कम्पनीहरु इच्छुक देखिन सक्छन् ।
पूर्ण रूपमा बनेका गाडी आयात गर्दा त्यसको फाइदा स्वभाविक रुपमा उत्पादक मुलुकहरुले मात्रै लिइरहेका हुन्छन् । अर्थात्, रोजगारी, प्रविधि, ज्ञान र औद्योगिक सीप विकास सबै विदेशी मुलुकमै सीमित रहन्छन् । तर नेपालमै सवारी साधन एसेम्बल हुँदा त्यसको हरेक चरण पार्टस् ह्यान्डलिङदेखि एसेम्बल लाइन सञ्चालन, परीक्षण लगायतमा विज्ञता हासिल गर्न मद्दत पुग्छ । फलस्वरुप, रोजगारी सिर्जना, सीप हस्तान्तरण र स्थानीय क्षमताको विकासमा योगदान पुग्छ । यसले विश्वविद्यालयबाट निस्किएको इन्जिनियरिङ जनशक्ति मात्रै होइन, प्रविधि प्रशिक्षण लिएका डिप्लोमा धारक युवाहरूलाई पनि प्रत्यक्ष रुपमा अवसर दिन सक्छ ।
दक्षिणपूर्वी एशिया र अफ्रिकी मुलुकहरूले पहिले नै देखाइसकेका छन् कि सवारी साधन एसेम्बल उद्योग राष्ट्रिय औद्योगिकीकरणको आधार बन्न सक्छ। यसले रोजगारी सिर्जना गर्छ, वैदेशिक लगानी आकर्षित गर्छ, कम्पोनेन्ट निर्माण उद्योगहरूलाई उत्प्रेरित गर्छ र दीर्घकालीन प्राविधिक दक्षता विकास गर्छ । नेपालमा पनि एक आयातमा निर्भर बजारबाट आत्मनिर्भर र नवप्रवर्तनमा आधारित मोटर उद्योगको केन्द्र बन्ने अवसर छ ।
तर दुर्भाग्यवश, यस उद्योगले अझै पनि सरकारबाट नीतिगत सहजता एवम् स्थिरता र औद्योगिक प्रोत्साहन पर्याप्त रूपमा पाएको छैन । अर्थात्, उद्योगकै रुपमा दर्ता भएर त्यस अनुसारको काम गरिरहेका एसेम्बल उद्योगहरुले उद्योग सरहको सुविधा पाउन सकिरहेका छैनन् ।
यदि सरकारले कर संरचना, पूर्वाधार र दीर्घकालीन लगानी प्रोत्साहनको माध्यमबाट सही दृष्टि देखायो वा सही नीति अंगिकार गर्ने हो भने नेपालले करोडौं डलर बराबरको विदेशी मुद्रा बचत गर्न सक्छ । दक्ष जनशक्ति विकास गर्न सक्छ र निकट भविष्यमा नै यहाँ एसेम्बल गरिएका गाडी निर्यात गर्न सक्ने सामथ्र्य राख्छ । यो केवल गाडी वा मोटरसाइकल एसेम्बलको कुरा होइन, यो सम्भावना, आशा र आत्मविश्वास एसेम्बल गर्ने कुरा पनि हो ।
विश्वले नै अटोमोबाइल्स उद्योगको मूल्य र शक्ति पहिल्याइसकेको छ । जति पनि आर्थिक रुपमा सबल बनेका मुलुक छन्, तिनले औद्योगिक विकासको सुरुवात एसेम्बलबाटै गरेका थिए । त्यसकारण अब नेपालले पनि यस उद्योगलाई सम्भावनाको दृष्टि र हिम्मतका साथ हेर्ने समय आएको छ ।













