आगामी आर्थिक वर्षको बजेट आउन अब केही दिन मात्रै बाँकी छ । जेठ १५ गते संसदका दूबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । यसपालीको बजेटले विद्युतीय सवारी साधनले पाउँदै आएको कर सुहलियत कटौती हुने अनुमान गरिएको छ । राजस्व संकलनमा चरम दबाब खेपिरहेको सरकारले ईभीमा कर बढाउँछ भन्ने अड्कलबाजी भइरहेका बेला ईभी बिक्रेताले पनि उपभोक्ता नै त्रसित हुने गरी ‘प्रि–बजेट अफर’ ल्याउन थालेका छन् ।
एक हिसाबले भन्ने हो भने, ईभी आयातकर्ता कम्पनीले बजेट भाषणमार्फत ईभीको कर बढ्छ र कर बढेसँगै स्वभाविक रुपमा मूल्य पनि बढ्छ भन्ने सन्देश दिइरहेका छन् । नत्र ‘प्रि–बजेट अफर’ भन्नुको कुनै अर्थ नै देखिँदैन । यद्यपी, अटोमोबाइल्स व्यवसायीहरु संस्थागत रुपमै ईभीमा कर नबढाउन लविङ भने गर्दैछन् ।
यद्यपी, ईभीमा सरकारले कर बढाउँछ कि बढाउँदैन, अथवा न घटाइदिन्छ कि भन्ने कुनै यकिन भइसकेको छैन । बजेट प्रस्तुत नभएसम्म यो विषय थाहा पनि हुँदैन । तर, कर बढ्छ भन्ने लखका भरमा व्यवसायीहरुले प्रि–बजेट अफरका नाममा उपभोक्तालाई त्रसित बनाइरहेका छन् ।
कुन गाडीका कस्ता छन् ‘प्रि–बजेट अफर’ ?
नामी र सेरेस
नेपालका लागि नामी र सेरेस ईभीको आधिकारिक बिक्रेता हो एमएडब्लु वृद्धि । यसले ‘प्रि–बजेट ब्यास’ भन्दै अफर चलाइरहेको छ ।
कम्पनीले यस अफर अन्तर्गत केवल ५.९९ लाख रुपैयाँमा नामी ईभी र ८.९९ लाखमा सेरेस ईभी उपलब्ध गराउने जनाएको छ । अफरअन्तर्गत पूराना गाडी सट्टापट्टा गर्ने सुविधा पनि दिइएको छ ।
साथै, यस अफर योजना अन्तर्गत नामी ईभी किन्ने ग्राहकले अधिकतम् १ लाख रुपैयाँसम्म र सेरेस गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्मको विशेष अफरसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
स्किममा कम्पनीले थाइल्याण्ड टूर, आईफोन मोबाइल जस्ता अफर समावेश गरेको छ ।
दीपल
नेपालका लागि दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पनि नगद छुट र एक्सचेञ्ज बोनस दिने गरी प्री बजेट अफर योजना ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकले आर्थिक वर्ष २०८२/०८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा, निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पाउने छन् ।
कम्पनीले २० प्रतिशत डाउन पेमेन्टमै गाडी दिने र ८.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।
ओमोडा/जेक्को
नेपालका लागि ओमोडा जेक्को गाडीको बिक्रेता एसपीजी अटोमोबाइल्सले पनि प्रि–बजेट अफर योजना चलाइरहेको छ । यस योजना अन्तर्गत न्यूनतम १० लाख ३९ हजार रुपैयाँ डाउन पेमेन्टमा गाडी पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले ८.०५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङ सुविधा पाउने छन् ।
प्रि–बजेट अफर अवधिभित्र गाडी किन्नेले १ वर्षको इन्स्योरेन्स, मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी, १ वर्षको रोड ट्याक्स फ्री, एक्सचेन्ज बोनस र ७ किलोवाटको चार्जर पाउने कम्पनीले उल्लेख गरेको छ ।