नेपाल बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले विद्युतीय सवारी साधनमा फाइनान्सिङ गर्नु अगाडी बैंक तथा वित्तीय संस्थाले सोच्नुपर्ने बेला आएको बताएका छन् । मंगलबार नाडा अटोमोबाइल एशोसियसनले आयोजना गरेको ‘नाडा अटो डाइलग–२०८१’मा बोल्दै अध्यक्ष कोइरालाले बैंकहरुले अहिले ठूलो रकम ईभीमा लगानी गरिरहेको भन्दै भविष्यमा ‘डिफल्ट’ आउन सक्छ भनेर सोच्नुपर्ने बेला आएको बताएका हुन् ।
‘बैंकहरुले ईभीमा लगानी बढाइरहेका छ्न्, बैंकको सपोर्ट बिना ईभीको प्रमोशन हुन सम्भव छैन’ उनले भने, ‘अब ईभीमा ऋण लगानी गर्दा बैंकहरु सचेत हुनुपर्छ ।’
उनले बैंकहरुले ईभीमा ७ वर्षको फाइनान्सिङ गर्ने तर, बिक्रृताले ५ वर्षको मात्रै वारेन्टी दिने भएकाले अवस्था गम्भीर बन्न सक्नेतर्फ सचेत गराएका छन् । ‘बैंकले ७ वर्षका लागि फाइनान्सिङ गर्छन्, वारेन्टी चाहिँ ५ वर्षको हुने । अनि दुइ तीन वर्षमै ब्याट्री फेर्न पर्ने समस्या आयो भने बैंक फस्ने समस्या आउन सक्छ’ अध्यक्ष कोइरालाले भने ।
उनले अहिले जसले पनि ईभी ल्याएर बेच्ने गरेकोमा असन्तुष्टि जनाउँदै सरकार (सम्बन्धित निकाय)ले आयातकर्तालाई निश्चित मापदण्ड तोकेर मात्रै ईभी आयात गर्न दिनुपर्ने सुझाव समेत दिएका छन् । ‘पहिला पहिला सबैले रियल इस्टेट, शेयरमा लगानी गर्ने ट्रेन्ड थियो, अहिले सबैले ईभी ल्याएर बेचिरहेका छ्न्, अहिले नेपाल ईभी टेस्ट गर्ने थलो जस्तो देखिएको छ’ उनले भने, ‘यसमा सुधार गर्न आवश्यक छ ।’













