अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्थाका रुपमा विगत ५० वर्षदेखि क्रियाशील नाडा अटोमोबाइल्स एसोसियशन अफन नेपालले आफूबाट फुटेर बनेको नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को अस्तित्व स्वीकार गरेको छ । नाइमा गठन भएपछि पहिलो पटक नाडा र नाइमाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।
यसअघिसम्म नाडाका पदाधिकारीहरु फुटेर बनेको संस्थाको औचित्य नहुने दाबी गर्दै आएका थिए । तर, आइतबार नाडाका अध्यक्ष करण चौधरी र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले संयुक्त विज्ञप्ति जारी गर्दै नाडा र नाइमाले नेपालको अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको जनाएका छन् ।
विज्ञप्तिमा नाडाले नेपालको अटोमोबाइल क्षेत्रको प्रवद्र्धन, नीति निर्माणमा सहकार्य एवं व्यापार–व्यवसाय सहज बनाउने काममा सक्रिय रहँदै आएको उल्लेख छ ।
हालै गठित नाइमाले भने मोबिलिटी सशक्तीकरणका लागि वकालत गर्दे जाने जनाइएको छ ।
दुवै संगठन अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनी दुवैको हिस्सा बन्न सक्ने एवम् प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहँदै स्वतन्त्र रूपमा आफ्ना प्रयास जारी राख्ने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । ‘हामी स्पष्ट पार्न चाहन्छौं नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउने छ भन्नेमा दुवै संस्थाले विश्वास गर्छन्’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नाइमाको औपचारिक घोषणा बैशाख ४ गते हुने बताइएको छ ।













