अहिले नेपालमा आइरहेका विद्युतीय सवारी साधन (चार पाङ्ग्रे)का आयातकर्ता तथा बिक्रेताहरुले ईभी जस्तोसुकै बाटोमा पनि सहजै लैजान सकिन्छ भनेर दाबी गरिरहेका छन् । तर, तथ्यले भने ईभी गाडी नेपाली ग्रामिण सडकमा सहजै गुड्न सक्दैनन् भन्ने देखाउँछ ।
ईभीका ३ वटा कारणले यी गाडीहरु सहजै ग्रामिण सडकमा गुड्न सक्दैनन् भन्ने कुरा प्रमाणित गर्ने जानकारहरु बताउँछन् । पहिलो: ग्राउण्ड क्लियरेन्स । दोस्रो: इन्डिपेन्डेन्ट सस्पेन्सन । र, तेस्रो: रियर ह्वील ड्राइभ ।
आईसी इन्जिनका गाडीको तुलनामा ईभीको ग्राउण्ड क्लियरेन्स कम हुन्छ । ‘शहरी इलाका’ र पक्की सडकमा गुडाउँदा ईभीमा रेन्जको खासै समस्या नहुने भएपनि कम ग्राउण्ड क्लियरेन्स हुने भएकाले ईभी गाडी ग्रामिण सडकमा गुडाउँदा ठोक्किने जोखिम रहन्छ । ग्राउण्ड क्लियरेन्स कम भएका गाडीहरु कच्ची सडकमा ठोकिन्छन् ।
दोस्रो कुरा, जस्तोसुकै बाटोमा पनि गाडी कुदाउन गाडीमा इन्डिपेन्डेन्ट सस्पेन्सन हुनु जरुरी हुन्छ । यदि गाडीमा इन्डिपेन्डेन्ट सस्पेन्सन छ भने खाल्डाखुल्डीमा पनि गाडी स्टेबल भएर गुड्छ । इन्डिपेन्डेन्ट सस्पेन्सनले खाल्डाखुल्डीमा पनि गाडीलाई स्टेबल बनाएर ब्यालेन्स राख्न मद्दत गर्ने भएकाले ड्राइभिङ कन्फर्ट हुन जान्छ । तर, नेपालमा आएका मध्यम रेन्जका गाडीमा इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग भएको पाइँदैन ।
तेस्रो कुरा, रियर ह्वील ड्राइभ हो । नेपाल भित्रिएका ४० लाखदेखि ६५ लाखसम्मका गाडीमा अधिकांश ‘फ्रन्ट ह्वील ड्राइभ’का ईभी छन् । ‘रियर ह्वील ड्राइभ’ नहुँदा उकालोमा गाडी नतान्ने, ब्याक हुने जस्ता समस्या देखिँदै आएका छन् । ‘रियर ह्वील ड्राइभ’का गाडीमा पछाडीका चक्कामा पावर लाग्ने भएकाले चार वटै चक्कामा समान पावर लाग्छ । जसका कारणका उकालोमा गाडी नतान्ने र ब्याक हुने जोखिम हुँदैन । तर, अहिले आएका मध्यम रेन्जका अधिकांश ईभीहरु ‘फ्रन्ट ह्वील ड्राइभ’का छन् ।
‘नेपाल जस्तो देशमा आउने गाडीमा रियर ह्वील ड्राइभ अनिवार्य चाहिन्छ, नत्र जति नै प्रचार गरेपनि उपभोक्ताले सास्ती नै पाउने हुन्’ एक जना अटोमोबाइल्स क्षेत्रका जानकार भन्छन्, ‘अहिले तहल्का मच्चाइरहेको बीवाईडीकै गाडीमा पनि रियर ह्वील ड्राइभ छैन ।’
ईभी ‘अर्वन एरिया’का लागि विकास गरिएका हुन्
अटोमोबाइल्स क्षेत्रका जानकार र यस विषयमा अध्ययन गरेका व्यक्तिहरुका अनुसार ईभी गाडीहरु शहरी क्षेत्रका लागि विकास गरिएका हुन् । एक दिन कुनै गाउँको उकालोमा लगेर चलाउँदैमा ईभी गाडी सहजै जस्तोसुकै बाटोमा पनि गुड्छन् भनेर पत्याउन नहुने जानकारहरुको सुझाव छ ।
शहरी जनजीवन व्यस्त हुने भएकाले समयको बचत गर्न, शहरी क्षेत्रमा महँगी हुने भएकाले खर्च कम गर्न र शहर बजार प्रदूषित पनि हुने भएकाले प्रदूषण कम गर्न ईभीको विकास भएको एक जना जानकारले बताउँछन् ।
‘शहरमा मान्छेहरुका आ–आफ्नै व्यस्तता हुन्छन्, उनीहरु डिजेल पेट्रोल हाल्न लाइन बस्नुपर्दा समयको चाप पर्छ, त्यसैले घरमै चार्ज गरेर गाडी लिएर निस्कन सकियोस् भनेर ईभीको विकास भएको हो, यसले समयको बचत गराउँछ’ ति जानकारले भने, ‘अर्को कुरा, शहर बजारमा महँगी पनि ज्यादा हुन्छ । डिजेल पेट्रोलमा भइरहेको खर्च रोकेर उपभोक्ताले त्यो पैसाले अर्को काम गर्न सकोस् भनेर विकसित देशले ईभीको प्रयोगलाई बढावा दिने गरेको पाइन्छ ।’
यस्तै, शहरी क्षेत्र उद्योग, ब्यापार र मान्छेहरुको अत्याधिक चहलपहल र धुवाँ धुलो हुने क्षेत्र भएकाले यो क्षेत्र गाउँको तुलनामा बढी दूषित पनि हुन्छ । यस्तो प्रदूषण कम गर्न ईभीको विकास भएको ति जानकार बताउँछन् ।
‘यसकारण ईभी भनेको ग्रामिण भेगका लागि होइन, ईभी भनेको अर्वन एरियाका लागि हो’ उनले थपे, ‘अझ हाम्रो जस्तो हाम्रा सडक सञ्जाल र पूर्वाधार भएको देशमा त झन ईभीलाई ग्रामिण क्षेत्रमा लैजानु भनेको मुर्खता हो । ईभी बिक्रेताहरुले पनि जस्तोसुकै बाटोमा हाम्रा गाडी जान्छन् भनेर झुठो दाबी गरिरहेका छन्, जुन गलत छ ।’
यस्तै, चार्जिङ स्टेशन पनि शहर र बजार केन्द्रित मात्रै छन् । गाडी बिक्रेताहरुले खासगरि राजमार्ग केन्द्रित मात्रै चार्जिङ स्टेशन राख्दा विद्युत प्राधिकरणले पनि बजार क्षेत्रमा मात्रै ईभी चार्जिङ प्वाइन्ट राख्ने गरेको छ । गाउँका घर घरमा गरिएका विद्युत वायरेङिको क्षमताले ईभी चार्ज गर्न धान्दैनन् ।
यस्तै, ब्याट्रीको पावरका कारण पनि कच्ची सडकमा नियमित ईभी गाडी गुड्न सक्ने अवस्था नरहेको जानकारहरु बताउँछन् । ‘एकदिन जानु र नियमित जानु फरक कुरा हो’ एक जना जानकार भन्छन्, ‘कच्ची र उकालो बाटोमा नियमित गुड्नका लागि सोही अनुसारको ब्याट्री पावर पनि चाहिन्छ । जुन अहिलेका बहुसंख्यक ब्राण्डमा छैन ।’
यद्यपी, पछिल्लो समय सरकारले स–साना बजारहरुलाई सुविधा सम्पन्न शहरका रुपमा विकास गर्ने योजना ल्याइरहेकाले नेपालको हकमा ईभीलाई प्रोत्साहन गर्नु जरुरी भने रहेको ति जानकारले बताएका छन् । साथै, आगामी दिनमा यस्ता चुनौतीलाई समाधान गरेर विकास भएका ईभीहरुको आयात बढाउन सके ईभीको लोकप्रीयता थप बढ्ने उनको भनाइ छ ।













