नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण निर्माणको पहल लिन आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री भण्डारीसँग छलफलको क्रममा यस्तो आग्रह गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताउँदै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरेका थिए ।
अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने भन्दै लुव्रिकेण्टस उद्योगका नाममा फिनिष्ड गुड नै नेपालमा ल्याएर विक्री वितरण भईरहेकोले यसलाई रोक्नुपर्ने धारणा पनि राखेका छन् । विभिन्न ६ बुँदे सुझाव बुझाउँदै उनले नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्ट्याण्डर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको समेत बताएका छन् ।
सो क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भईरहेकोले सो ऐन छिटै पारित गर्नका लागि आग्रह गरेका छन् । सोही भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालका व्याट्री उद्योगहरुको अवस्था बारे समेत जानकारी दिँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाँउलाई सेजको रुपमा प्रयोग गर्न सकिने धारणा राखेका छन् ।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थिति बारे बिना कुनै जानकारी संसदमा प्रश्न उठ्ने गरेको गुनासो गर्दै नेपाल सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए । उनले खुल्ला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै नाडाका सुझावहरु राजश्व परामर्श समितिमा पठाउन अनुरोध समेत गरे ।
मन्त्री भण्डारीले एजेन्सी दर्ता सम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिने र सो ऐन छिट्टै पारित गर्न सहयोग गर्ने बताएका छन् ।
भेटघाट तथा छलफलमा मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णवहादुर रावत, नीजि सचिव सुमन धिताल र स्वकिय सचिव आनन्दप्रसाद भट्ट समेतको उपस्थिति रहेको थियो । नाडाकोतर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।













