शशीला मोटर्स प्रा.लि.ले वीरगंजमा आफ्नो नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ । प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
शशीला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले जहिले पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले विक्री मात्र नभई, विक्री पछिको सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
कम्पनीले वीरगंज शाखा तथा सिमरा वर्कशप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज र बुटवलमा समेत छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ ।
उद्घाटनकै अवसरमा शशीला मोटर्सले पाँच वटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ । यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ ।
शशीला मोटर्सले हाइगर, किटोन, भेन्ची लगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको विक्री गर्दै आएको छ ।













