टाटाको ‘न्यू नेक्सन के३’ नेपाली बजारमा आएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ९८ किलोवाट मोटसर पावरमा ४५ किलोवाट ब्याट्री प्याकमा आएको ‘न्यू नेक्सन के३’लाई नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार यो गाडी टाटा नेक्सनको टप भेरिएन्ट हो । आधुनिक प्रविधिको प्रयोग, सुरक्षा फिचर्स र उत्कृष्ट पर्फमेन्ससहित १९० एमएमको ग्राउण्ड क्लियरेन्समा उपलब्ध टाटा नेक्सन के३ को बुकिङ आइतबारदेखि खुलाउने कम्पनीले जनाएको छ ।
आकर्षक र उच्चस्तरीय क्षमता सहितको यस गाडीमा उपलब्ध उच्च ग्राउण्ड क्लियरेन्सका कारण यस गाडी नेपालको भूगोल र बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ । यसमा ६ एयरब्याग र पार्किङ सेन्सरसहित ३६० डिग्री ‘सराउन्ड भ्यू क्यामेरा’ जडान गरिएको छ । आई–भीब्याक प्रणालीसहित एबीएस ब्रेकिङ सिस्टम, ईबीडी, ईएसपी समेत उपलब्ध छ ।
१२ इन्च चौडा सिनेमेटिक टचस्क्रिन र १० इन्च डिजिटल ककपिट उपलब्ध रहेको गाडीमा वायरलेस एन्ड्रियोड अटो र एप्पल कारप्लेसहित चार्जिङ सुविधा उपलब्ध छ ।
एक पटकको फूलचार्जमा ३८० किलोमिटरमाथिको रेन्ज प्रदान गर्ने बताइएको यस इभीमा भी२एल र भी२भी चार्जिङ पोर्टल छन् । अहिले टेस्ट ड्राइभ गराइरहेको कम्पनीले मूल्य भने सार्वजनिक गरेको छैन ।