Tuesday, May 5, 2026
spot_img
spot_img

नेपालीले पनि भारतीय बैंकबाट भारतीय मुद्रामै ऋण पाउँदा कसलाई कस्तो लाभ ?

spot_img
spot_img

भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (आरबिआई)ले नेपाल, भुटान र श्रृलङ्काका व्यवसायीहरुलाई भारतीय मुद्रामा ऋण दिने घोषणा गरेपछि अहिले नेपालमा यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ । आरबीआईले १ अक्टोबर २०२५ मा आफ्नौ मौद्रिक नीति परिमार्जन गर्दै नेपाल, भुटान र श्रृलङ्काका नागरिकलाई पनि भारतीय बैंकबाट भारतीय मुद्रामा कर्जा दिने उद्घोष गरेसँगै नेपालमा यसबारे बहस चुलिएको हो ।

भारतीय केन्द्रीय बैंकले सुरुवाती चरणमा यस्तो कर्जाको आकार १ करोड भारुसम्म रहने जनाएको छ । यसका सकारात्मक र नकारात्मक असर भने नेपाल राष्ट्र बैंकले लिने निर्णयका आधारमा तय हुने कतिपयले बताएका छन् ।

स्थिर विनिमय दरको फाइदा
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवम् निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले भारतीय मुद्रामा कर्जा लिँदा नेपाली व्यवसायीहरुलाई स्थिर विनिमय दरको लाभ प्राप्त हुने बताएका छन् । उनले अहिले पनि सरकार तथा बैंकहरुले विदेशबाट डलरमा कर्जा लिने गरेको र डलरको भाउ घटबढ भइरहने हुँदा साँवा र ब्याज चर्को परिरहेको बताए ।

‘भारुसँग नेपाली मुद्राको सटही दर स्थिर छ, १०० भारुको नेपाली रुपैयाँ १६० हुन्छ’ उनले भने, ‘तर, डलरको भाउ हरेक दिन परिवर्तन भइरहन्छ । यसकारण भारुमा कर्जा पाउने हुँदा नेपाली व्यवसायी तथा ठूला ठूला प्रोजेक्टहरुका लागि स्थिर विनिमय दरको लाभ प्राप्त हुने अवसर आएको छ ।’

मल्लका अनुसार, नेपाली व्यवसायीहरुले नेपालमा रहेका भारतीय लगानी भएका एभरेष्ट, नेपाल एसबिआई जस्ता बैंकबाट भारु नै कर्जा पाउन सक्ने समेत देखिएको छ । ‘स्थिर विनिमय दर भएको हुनाले यसलाई सकारात्मक रुपमै लिनुपर्छ’ उनले थपे, ‘अब राष्ट्र बैंकको सहजीकरण आवश्यक छ, उसले कस्तो नीति लिन्छ भन्ने कुरा हेर्न बाँकी छ ।’

‘ब्यापार घाटा बढ्नेतर्फ चनाखो हुनुपर्छ’
नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाले भारतीय केन्द्रीय बैंकको उक्त निर्णयले विदेशी मुद्रा नभएको अवस्थामा पनि आयातलाई सहज बनाउने बताएका छन् । तर, यो भनेको नेपालको भन्दा पनि भारतकै लागि बढी हितकर हुने उनको बुझाइ छ ।

‘क्षेत्रीय ब्यापारमा भारत आफ्नो बलियो उपस्थित बनाउन चाहन्छ, उसले आफ्नो देशको उत्पादन नेपाल सहितका छिमेकी देशमा सहजै पुग्न सकोस् भनेर यो नीति लिएको देखिन्छ’ थापाले भने, ‘तर, यसबाट नेपाल जस्तो देशको उत्पादन प्रणालीमै असर गर्ने, रोजगारी सिर्जनामा अवरोध पुग्ने र ब्यापार घाटा झनै चुलिने जस्ता जोखिम पनि रहन्छन् । यसतर्फ चनाखो हुनुपर्ने आवश्यकता छ ।’

कानुनी सुधार आवश्यक
बैंकिङ विज्ञ अनलराज भट्टराईले भारतीय बैंकबाट नेपाली नागरिक र व्यवसायीहरुले कर्जा पाउँदा त्यसले अवसरहरु पनि सँगसँगै ल्याउने बताएका छन् । तर, यसका लागि राष्ट्र बैंक ऐनदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन समेतमा सुधार आवश्यक रहेको उनको भनाइ छ ।

उनका अनुसार भारतीय रिजर्भ बैंकको उक्त प्रावधान अनुसार भारतमा रहेका नेपाली नागरिकले भारतभित्र कर्जा पाउने र नेपालमा रहेका भारतीय बैंकका शाखा (नेपाल एसबिआई बैंक, पन्जाब बैंकको लगानी भएको एभरेष्ट बैंक) मार्फत नेपालमै भारतीय मुद्रामा कर्जा पाउने बाटो खोलेको छ ।

‘बाफियाले होलसेल बैंकिङको कुरा गरेको छ, तर नेपाली मुद्रामै (प्रचलित मुद्रा) कर्जा दिने भन्ने कुरा त्यहाँ छ, तर अहिले भारतीय सेन्ट्र बैंकले भारुमा दिन सकिने भनेको छ’ भट्टराईले भने, ‘यसका लागि हामीले पनि भारुमा कर्जा लिन सक्ने गरी कानुनी प्रावधान बनाउनुपर्छ । ट्रेड पेमेन्टमा सजिलो गराउने उदेश्यले भारतले यो प्रावधान ल्याएको हुनाले यसबाट हामीले क्षति भन्दा पनि अवसर बढी पाउँछौँ जस्तो लाग्छ ।’

अहिले तत्कालको अवस्थामा नेपालका बैंक तथा वित्तीय संस्थामा ६ खर्ब हाराहारी लगानीयोग्य रकम भएपनि आन्तरिक कर्जाको माग नेपालको बैंकमा भएको पैसाबाटै पूरा हुन्छ भन्ने सोच्न नहुने पनि उनको भनाइ छ ।

‘०.७ प्रतिशत जीडीपी लस हुँदा ३ प्रतिशत क्रेडिट बढाउनुपर्छ, अहिले भर्खरैको आन्दोलनले ५ प्रतिशत जति जीडीपी लस गरेको छ, यसका लागि सरकारले १५ प्रतिशत जति क्रेडिट बढाउनुपर्ने हुन्छ’ उनले थपे, ‘त्यो भनेको सरकारले बैंक वित्तीय संस्थाबाटै ऋण लिएर गर्ने लगानी हो । अहिले पनि सरकारले लिएको ऋणमध्ये झण्डै ९० प्रतिशत बैंक वित्तीय संस्थाबाटै लिएको छ । सरकार पनि ऋण लिन बैंकमै जाने, व्यवसायी पनि जाने, पब्लिक पनि जाने हुँदा दबाब पर्दैन भन्न सक्ने अवस्था छैन । यसकारण अबको इकोनोमी ग्लोबल भइसक्यो । हाम्रा नागरिक र व्यवसायीले भारतीय मात्रै होइन, अरु विकसित देशबाट पनि कर्जा लिने, कारोबार गर्ने बाटो खुलाउनुपर्छ ।’

के भन्छ राष्ट्र बैंक ?
नेपाल बैंकका प्रवक्ता एवम् कार्यकारी निर्देशक किरण पन्डितले अहिलेकै प्रावधान अनुसार नेपाली फर्म, कम्पनी तथा व्यवसायीले भारतीय मुद्रामा कर्जा लिन पाउने बताएका छन् । तैपनि, भारतको केन्द्रीय बैंकले अहिले घोषणा मात्रै गरेको र थप सर्कुलर आउन बाँकी रहेकाले अब उसले कस्तो खालको नीति लिन्छ, त्यसपछि मात्रै के गर्ने भन्न सकिने उनको भनाइ छ ।

‘अहिले भएकै प्रावधानले नेपाली फर्म, कम्पनी र व्यवसायले भारुमा लोन लिन पाउँछन्, राष्ट्र बैंकले भारुमा लोन लिनका लागि खुला गरिसकेको छ’ पन्डितले भने, ‘अब आरबिआईको थप सर्कुलर आएपछि त्यसको अध्ययन गरेर मात्रै हाम्रो धारणा दिन सक्छौँ ।

तैपनि, यस्तो कर्जाको मुख्य कुरा ब्याजदर भएकाले नेपालका बैंक तथा वित्तीय संस्थाबाटै सस्तो ब्याजदरमा ऋण पाउन सकिने अवस्था रहेको हुँदा अहिले नै नेपालका बैंकलाई चाप पर्छ भन्ने नदेखिएको उनको भनाइ छ । ‘मुख्य कुरा ब्याजदर हो, अहिले नेपालकै बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर न्यून छ’ उनले थपे, ‘यसकारण अब चाप पर्न थलिहाल्छ, सबैले भारुमा लोन लिन थालिहाल्छन् भन्ने देखिँदैन ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img