नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै केही व्यवस्था संशोधन गरेको हो।
जस अनुसार मार्गदर्शन लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पुँजीकर्जा लाई मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने व्यवस्था गरिएको छ । यस अघि २०८२ असारसम्म बढी भएको कर्जा भुक्तान गरिसक्नु पर्ने व्यवस्था थियो। त्यसलाई राष्ट्र बैंकले दुई वर्षको अवधि थपेको हो।
तर, यस्तो कर्जामा यस अघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता ( write back) गर्न पाईने छैन । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन ।
त्यस्तै राष्ट्र बैंकले ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको Variance सम्बन्धी व्यवस्था २०८३ साउन १ गतेदेखि मात्र लागु हुने जनाएको छ । यस अघि सो व्यवस्था २०८२ साउन १ देखि लागु हुने भनिएको थियो ।













