नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव माग गरेको छ । कार्यदलले इच्छुक संस्था तथा व्यक्तिबाट आफ्नो अनुभव र विज्ञताका आधारमा २०८२ असार ११ सम्ममा कार्यदलको इमेल ठेगाना [email protected] मार्फत सुझावहरु उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
कार्यदलले निम्न विषयमा सुझाव दिन सकिने जनाएको छ ।
(१) बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।
(२) आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
(३) ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
(४) बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post- merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
(५) नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।
(६) पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेका हुन् । कार्यदलको संयोजकमा डा. रेवतबहादुर कार्की रहेका छन्। कार्यदलको सदस्यमा भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक-सदस्य सचिव रहने छन् । उक्त कार्यदलको समयावधि एक महिनाको रहने छ।
यस अघि : गभर्नरले गठन गरे बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, पुँजीबजार विकासको लागि पनि समन्वय गर्ने













